डिफेन्डिङ च्याम्पियन केर्बर पराजित



डिफेन्डिङ च्याम्पियन एन्जेलिक केर्बरलाई हराएपछि खुसी जनाउँदै नाओमी ओसाका।

 

न्युयोर्क, (एजेन्सी)
यूएस ओपनको महिला सिंगल्सकी डिफेन्डिङ च्याम्पियन एन्जेलिक केर्बर पहिलो चरणमै पराजित भएकी छन्।

मंगलबार आर्थर एस स्टेडियममा भएको खेलमा केर्बर जापानकी नाओमी ओसाकासँग सीधा सेटमा पराजित भइन्। १९ वर्षीया ओसाकाले जर्मन खेलाडीलाई ६–३, ६–१ ले हराएकी थिइन्। सन् २००५ पछि यूएस ओपनको पहिलो चरणबाटै डिफेन्डिङ च्याम्पियन बाहिरिएको यो पहिलो घटनासमेत हो। पछिल्लोपटक सन् २००५ को यूएस ओपनमा त्यति बेलाकी डिफेन्डिङ च्याम्पियन रसियन खेलाडी स्वेटलाना कुज्नेटसोभा पहिलो चरणबाटै बाहिरिएकी थिइन्।

पूर्वविश्व नम्बर एक केर्बरले १२ महिना अगाडि यही न्युयोर्कमा उपाधि जितेदेखि कुनै पनि उपाधि जितेकी छैनन्। दुई पटककी ग्रान्डस्लाम च्याम्पियन केर्बरले दोस्रो सर्भिसमा ज्यादै संघर्ष गर्नुपरेको थियो। उनको तुलनामा ओसाकाले राम्रो प्रदर्शन गरेकी थिइन्। ९ विनर्स प्रहार गरेकी केर्बरले २३ अनफोर्सड् इरर (अनावश्यक गल्ती) गर्नु नै हार भएको बताएकी थिइन्।

ओसाकाले भने गत वर्षको गल्ती दोहोर्याइनन्। गत वर्ष अमेरिकी खेलाडी मेडिसन किजसँग निर्णायक सेटमा ५–१ को अग्रता लिएर पनि उनी पराजित भएकी थिइन्। उनले बताइन्– ‘यो कोर्टले मलाई मनपर्ने सम्झना दिएको छैन। तर, आशा गरौं अगाडि राम्रै होला। म जब ४–१ को अग्रतामा थिएँ तब मैले सोचिरहें कि गतवर्ष मैले जे गरें त्यो कदापि गर्दिनँ भन्न आशमा थिएँ।’

प्रतिक्रिया दिनुहोस्