नेपालको बंगलादेशविरुद्ध क्लिन स्विप



 

नेपाल समाचारपत्र
काठमाडौं
नेपालको पुरुष राष्ट्रिय भलिबल टोलीले बंगलादेशविरुद्धको दुई मैत्री खेलको सिरिज २–० ले क्लिन स्विप गरेको छ।

बुधबार लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तथा तालिम केन्द्रको कभर्ड हलमा नेपालले बंगलादेशलाई दोस्रो मैत्री खेलमा ३–२ सेटमा हराएको हो। नेपाल उक्त रोमाञ्चक खेलमा दुई पटक पछाडि परेको थियो। दुवैपटक पुनरागमन गरेर सिरिज क्लिन स्विप गर्न नेपाल सफल भयो। योसमेत गरी नेपालको बंगलादेशमाथि पाँच खेलमा चौथो जित भएको छ। एक खेल नेपालले बंगलादेशमै हारेको थियो।

नेपालले मंगलबार खेलिएको पहिलो खेलमा पनि पछि परेर ३–१ सेटले जितेको थियो। हिजो पनि सोही कथा दोहोरियो। नेपालले पहिलो सेट नजिक पुगेर १९–२५ ले गुमाएको थियो। तर, दोस्रो सेट नेपालले झीनो अग्रतामा २५–२२ ले आफ्नो बनायो भने तेस्रो सेट २०–२५ ले गुमाउँदा घरेलु टोली पुनः २–१ ले पछि पर्यो।

चौथो सेट २५–२२ ले जितेपछि नेपालले निर्णायक सेटमा उत्कृष्ट खेल देखायो। जुन सेट सहजै १५–८ ले जितेको थियो।

त्यसो त नेपाली खेलाडीको कमजोरी रिसिभ गर्नेमा रह्यो। अर्को खेलाडीमा तालमेलसमेत राम्रो रहेको थिएन। तर, स्पाइकमा भने नेपाली खेलाडीले बंगाली खेलाडीलाई आच्छु–आच्छु गरेका थिए। यही कारणले पनि निर्णायक सेट नेपालले हात पारेको थियो। नेपालको तर्फबाट कुलबहादुर थापाले सर्वाधिक २८ स्कोर गरे। उनको दाँजोमा अन्य नेपाली खेलाडीले भने दोहोरो अंक पनि योगदान दिन सकेनन्।
नेपालका प्रमुख प्रशिक्षक जगदीश भट्टले खेलमा कमजोरी भएको स्वीकार गरेका थिए। तर, भट्टले खेलाडीले पुनरामगन गर्नु राम्रो भएको प्रतिक्रिया दिए। उनले भने– ‘अघिल्ला खेलमा राम्रो देखिएको रिसिभ आज चल्न सकेन। बंगलादेशले पहिलो खेलमाभन्दा राम्रो पनि खेल्यो। तापनि हाम्रा खेलाडीको अन्तिमसम्म जुझ्नु सकारात्मक नतिजा आयो।’

प्रतिक्रिया दिनुहोस्