चाडबाडमा यातायात सेवा सहज होस्



 

नेपालीको ठूलो चाड दशैं–तिहार नजिकिँदै गर्दासमेत राजधानीबाट घर जान चाहनेहरुका लागि गाडीको टिकट अग्रिम बुकिङ खुल्ला हुन सकेको छैन । यातायात व्यवसायीहरुले आफ्ना विविध मागहरु तेस्र्याउँदै अग्रिम टिकट बुकिङमा आलटाल गर्दै आएका छन् । यातायात व्यवसायीहरुले यो समयलाई आफ्ना नाजायज मागहरु पूरा गराउने हतियारको रुपमा प्रयोग गर्दै आइरहेको पनि बताइँदै छ । हरेक वर्षझैँ यस वर्ष पनि आफ्ना कुनै न कुनै नाजायज माग सरकारबाट पूरा गराउने योजनामा यातायात व्यवसायीहरु रहेका छन् । यता सरकारले पनि चाडबाडको बेलामा यातायात सहज बनाउन खासै चासो देखाइरहेको पाइँदैन ।

सरकारले केही चरणमा यातायात व्यवसायीसँग वार्ता गरेर दशैंको लागि टिकटको अग्रिम बुकिङको प्रयास गरे पनि निचोडमा पुग्न सकेको छैन । यात्रुहरुलाई सहज सेवा उपलब्ध गराउन सवारीसाधन थप्ने तथा अस्थायी रुपमा भए पनि नयाँ रुटमा बस सञ्चालन गर्ने बारेमा समेत योजना बनाएको पाइँदैन ।

यसअघि चाडबाडको बेलामा यातायात व्यवसायीले सवारीसाधनको भाडा ह्वात्तै बढाउने गरेको पनि पाइन्छ । चाडबाडको समयमा व्यवसायीले तोकेको भाडादरभन्दा धेरै बढी भाडा असुल्ने गरेको गुनासो पनि हरेक वर्ष आउने गरेको छ । यसपालि पनि त्यस्तै नहोला भन्न सकिन्न । पेट्रोलियम पदार्थको भाउ बढेसँगै भाडादर वृद्धि गर्ने व्यवसायीहरुले पेट्रोलियम पदार्थको भाउ घट्दा भाडादर घटाउने गरेको पाइँदैन । सार्वजनिक यातायातको सवालमा चाडबाडको बेला सर्वसाधारणले हरेक वर्ष सास्ती खेप्नुपरिरहेको छ । नेपालीको महान् चाड दशैं–तिहारमा सर्वसाधारणलाई सर्वसुलभरुपमा यातायातको सुविधा दिन सरकार तथा सम्बन्धित निकाय अहिलेदेखि नै सक्रियतापूर्वक लाग्नु अत्यावश्यक छ । यो वा त्यो बहानामा यात्रुहरु मारमा पर्नुहुँदैन, ठगिनुहुँदैन । त्यसको लागि सरकारले नीति तथा योजना तत्काल बनाउन जरुरी छ ।

चाडबाड नजिकिएसँगै सार्वजनिक यातायातमा पाकेटमारका घटना वृद्धि भैरहेका छन् । यसको नियन्त्रणको लागि प्रहरीले सक्रियता नदेखाएको गुनासो पनि आइरहेको छ । पाकेटमारको कतिपय घटनामा चालक दलका सदस्यहरुसमेत संलग्न भएको पनि पाइन्छ । नजिकिँदो चाडबाडको समयमा सार्वजनिक यातायातमा दैनिकजसो पाकेटमारका घटना घट्नु र नियन्त्रणको प्रयास नहुनुले प्रहरी प्रशासनको कार्यप्रति पनि प्रश्नचिह्न उब्जिएको छ । सार्वजनिक यातायातमा चोरीका घटना नियन्त्रण गर्न प्रहरी, व्यवसायी तथा अन्य सम्बन्धित निकायले बेलैमा योजना बनाएर अग्रसरता देखाउन जरुरी छ । अतः चाडबाडको समयमा बढ्ने यात्रुहरुको चापलाई मध्यनजर गर्दै सार्वजनिक यातायातको सेवा सहज बनाउन र सार्वजनिक यातायातभित्र हुने चोरीका घटना नियन्त्रण गर्न अहिलेदेखि नै सम्बन्धित निकायले सक्रियता बढाउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्