शक्तिराष्ट्रबीचको टकरावमा बाछिटाको त्रास



 

विजय ज्ञवाली

हालैका दिनमा उत्तर कोरियाले प्रक्षेपण गरेको क्षेप्यास्त्र जापानको समुद्री तटनजिक गएर खसेको छ। यस अप्रत्याशित तर पूर्वआँकलनयुक्त घटनालगत्तै जापानी प्रधानमन्त्री सिन्जे आवेले प्रतिक्रिया दिँदै भनेका छन्– उत्तर कोरियाको यस प्रकारको कार्यले जापान पनि सुरक्षित छैन।

तसर्थ जापानले पनि आफ्नो पूर्वसुरक्षा सतर्कतालाई बढावा दिइराख्नु टड्कारो आवश्यकता हो। बारम्बारको चेतावनीपश्चात् पनि उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई स्थगन नगरेपछि पछिल्लो समयमा आएर संयुक्त राष्ट्रसंघले समेत उत्तर कोरियामाथि थप नाकाबन्दी कडाइका साथ लागू गरिरहेको छ। यता उत्तर कोरिया भने दिन–प्रतिदिन झनै उत्तेजक एवं आक्रामक बन्दै गैरहेको छ। उत्तर कोरियाली नेता किम जोनले पनि अमेरिका र संयुक्त राष्ट्रसंघको नाकाबन्दीका बाबजुद झनै चर्का अभिव्यक्ति दिन थालेका छन्।

आणविक कार्यक्रमलाई स्थगन नगरे उत्तर कोरियाको नामोनिशान मेटाइदिने अमेरिकी धम्की सह्य नहुने उत्तर कोरियाले जनाएको छ। उत्तर कोरियामाथि आक्रमणको प्रयास गरे अमेरिकाले अकल्पनीय क्षति भोग्नुपर्ने उत्तर कोरियाको धम्कीमाझ यसै हप्ता चिनियाँ राष्ट्रपति सी जिङ्पिङ र अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पबीच टेलिफोन वार्ता भएका खबरहरु सार्वजनिक भएका छन्। उक्त टेलिफोन संवादपश्चात् ट्रम्पले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै भनेका छन्– ‘उत्तर कोरियाले निरन्तर समस्या निम्त्याउँदै छ। यदि चीनले मद्दत गर्यो भने त्यो हाम्रा लागि महान् हुनेछ।’ ट्रम्पको यस प्रकारको ट्विटले के प्रस्ट हुन्छ भने, कोरियाली प्रायद्विपमा ढिलो–चाँडो भयानक अशान्ति अवश्य सिर्जना हुनेछ। त्यसैले अमेरिकाले चीनको साथ खोजेको छ। निश्चय पनि उत्तर कोरियासँग एक्लै भिड्न अमेरिकालाई त्यति सहज छैन, यद्यपि उत्तर कोरियाली प्रायद्विपमा अमेरिकाले पनडुब्बी लडाकु जहाज भने उतारिसकेको छ। यता उत्तर कोरियाले भने कुनै पनि बाह्य हस्तक्षेपको डटेर सामना गर्ने प्रतिक्रिया दिँदै गर्दा ट्रम्पले चीनसँगको साथ खोज्नु र उत्तर कोरियाले बाह्य शक्तिराष्ट्रको चेतावनीलाई बेवास्ता गर्दै निरन्तर आणविक हतियारको परीक्षण गर्दै जानुले आगामी दिनमा कोरियाली प्रायद्विपमा भयंकर अशान्ति सृजना हुने निश्चित प्रायः छ। कोरियाली प्रायद्विपमा उत्पन्न हुने अशान्तिका बाछिटाहरुले समग्र विश्वलाई नै बेचैन बनाउने पनि पक्कापक्की छ। साथै सम्भावित शक्तिराष्ट्रको टकरावले विश्वशान्ति नै खलबलिने आशंका प्रबल रहेको छ।

ट्रम्पले चीनसँगको साथ खोज्नु र उत्तर कोरियाले बाह्य शक्तिराष्ट्रको चेतावनीलाई बेवास्ता गर्दै निरन्तर आणविक हतियारको परीक्षण गर्दै जानुले आगामी दिनमा कोरियाली प्रायद्विपमा भयंकर अशान्ति सृजना हुने निश्चित प्रायः छ। कोरियाली प्रायद्विपमा उत्पन्न हुने अशान्तिका बाछिटाहरुले समग्र विश्वलाई नै बेचैन बनाउने पनि पक्कापक्की छ।

ह्वाइटहाउस छिर्नुपूर्व चीनप्रति अलिक बढी नै आक्रामक देखिएका ट्रम्प ह्वाइटहाउसको बागडोर सम्हालेपश्चात् चीनप्रति नरम देखिएका थिए। तर चीनसँगको बढ्दो व्यापार घाटा र आगामी दिनहरुमा चीनले अमेरिकन सामानमा चर्को भन्सार दर कायम गर्नुका साथै अमेरिकामा उत्पादित कतिपय सामानलाई चीनमा प्रतिबन्ध लगाइने चेतावनीपश्चात् ट्रम्प झस्किएका थिए। चीनको उक्त चेतावनीपश्चात् नै ट्रम्प चीन नीतिमा नरम देखिएका हुन्।

अमेरिकी राष्ट्रपतिलगायत अन्य शक्तिराष्ट्रका प्रभावशाली नेताहरु लामो समयदेखि थाती रहिआएको उत्तर कोरिया–चीन समस्या समाधानमा मद्दत गर्न चाहन्छन्। साथै उत्तर कोरियाको आणविक कार्यक्रमलाई पूर्णरुपमा बन्द पनि गराउन चाहन्छन्। उनीहरुको निष्कर्ष छ– उत्तर कोरियाको आणविक कार्यक्रम बाँकी विश्वका लागि निरन्तर खतरा छ। तर उत्तर कोरिया भने उनीहरुको यस्तो भनाइलाई स्वीकार्न तयार छैन। उसको भनाइ भने फरक छ। उसकै भनाइलाई आधार मान्ने हो भने, उत्तर कोरियाको आणविक कार्यक्रम आफ्नो देशको समृद्धि एवं आन्तरिक–बाह्य सुरक्षामा मात्र सीमित रहनेछ। हालको ब्यालेस्टिक मिसाइल परीक्षणलाई पनि निरन्तर कार्यक्रमअनुरुपको तालिकाको संज्ञा दिँदै बाँकी विश्वको आलोचनाले उत्तर कोरियाको समृद्धिमा कुनै तात्विक असर नपार्ने प्रस्ट पारिसकेको छ। एकातर्फ बाह्य विश्वद्वारा उत्पन्न चुनौतीको डटेर मुकाबिला गर्ने बताइरहेको उत्तर कोरियाको चेतावनी र अर्कोतर्फ उत्तर कोरिया समस्या समाधानमा ट्रम्प प्रशासनले चीनको साथ खोज्नु निश्चय पनि आगामी दिनहरुमा सकारात्मक संकेतका लक्षण होइनन् भनेर प्रस्ट बुझ्न सकिन्छ। कतिपय विश्लेषकले त उत्तर कोरिया विवादलाई लिएर तेस्रो विश्वयुद्धसमेत हुन सक्ने ठोकुवा गर्न थालेका छन्। आशा गरौं, त्यस्तो भयावह अवस्था ननिम्तियोस् र यो समस्या सबैको सार्थक बुझाइबाट नै समाधान होस्।

यस्तै भयावह दुर्घटनाको आंकलन हुँदै गर्दा यता उत्तर कोरियाले भने निर्भिग्नरुपमा कुनै पनि प्रकारको परमाणु आक्रमणको प्रतिवाद गर्न आफ्नो देश तयार रहेको बताएको छ। उत्तर कोरियाद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ– ‘हामी हरेक आक्रमणको सामना गर्न पूर्ण तयारी अवस्थामा छौं, आक्रमण गर्नेका विरुद्ध आफ्नै तरिकाले जवाफी आक्रमण गर्न पनि हामी सक्षम छौं।’ उत्तर कोरियाको सफलतापूर्वक परमाणु हतियार निर्माण गर्ने क्षमता बढ्दै गएको भन्ने चिन्ताका माझ गत शनिबारको प्रदर्शनीलाई आफ्नो सैनिक सामथ्र्य बाहिरी विश्वसामु प्रस्तुत गर्ने मौकाका रुपमा प्रयोग गरिएको देखिन्छ। यसमाथि अमेरिकाले एउटा युद्धपोत कोरियाली प्रायद्विपनजिकै खटाएपछि अमेरिका र उत्तर कोरियाको सम्बन्धमा अहिले तनाव बढ्दै गएको छ। यता उत्तर कोरियाले पनि लगातार पाँचवटा परमाणु परीक्षण गरिसकेको र शृङ्खलाबद्धरुपमा क्षेप्यास्त्रको परीक्षण गरिरहेको छ। यस अवस्थामा स्थिति निकै जटिल बन्ने विश्लेषकहरुको ठम्याइ छ। त्यसैले पनि ट्रम्पको ट्विटलाई निकै गम्भीर र चासोपूर्वक हेरिएको छ।

त्यसो त डोनाल्ड ट्रम्प र सी जिङ्पिङबीच भएको फोनवार्तामा दुवैजना उत्तर कोरियाको समस्या समाधान सकेसम्म शान्तिपूर्ण माध्यमबाटै हल गर्नेमा एकमत पनि देखिएका छन्। यस्तै चिनियाँ मिडियाले पनि बेइजिङले सकेसम्म आँखा चिम्लेर बस्न नमिल्ने र समस्या समाधानमा मध्यमार्गी बाटो अवलम्बन गर्नुपर्ने औंल्याउँदै आएका छन्। साथै उत्तर कोरिया समस्या समाधान र सम्भाव्य कदमको बारेमा बेइजिङमा एकपटक गहन छलफल पनि गर्न सकिने ट्रम्प निकटस्थ स्रोत बताउँछ। यसमा ट्रम्पले पूर्णरुपमा चीनको साथ र सहयोग खोजेका छन्।

चीन–उत्तर कोरिया सम्बन्धः
प्रखर कम्युनिस्ट शासन पद्धति रहँदै आएका यी दुई देशबीच हार्दिकरुपमा सम्बन्ध स्थापित हुन सकेको छैन। यसको मुख्य कारणको रुपमा उत्तर कोरियाद्वारा निरन्तर जारी आणविक कार्यक्रम र चीनद्वारा उत्तर कोरियाली समुद्री सीमाछेउ माछा मार्ने डुंगाहरुलाई जबर्जस्ती तैनाथ गराउनु रहेको छ। यति मात्र नभएर यसअघि चीनले पहिलोपटक संयुक्त राष्ट्रसंघको सुरक्षासम्बन्धी महासभामा उत्तर कोरियाको आणविक हतियार नियन्त्रण गर्ने अमेरिकी प्रस्तावको पक्षमा मतदान गरेबाट नै उत्तर कोरिया–चीनसम्बन्धमा चिसोपना आउन लागेको हो। उक्त मतदानमा उत्तर कोरियाको अपेक्षा विपरीत चीनले अमेरिकी प्रस्तावको समर्थनमा मतदान गरेको थियो।

सन् १९४९ को अक्टोबर ६ मा चीन–उत्तर कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। त्यसको ६ महिनापश्चात् अर्थात् १९५० को मे महिनामा उत्तर कोरियाली नेता किम इल्ब्गायाद्वारा सबैभन्दा पहिला चीनको भ्रमण भएको थियो। उनको पहिलो चीन भ्रमणमा चीन–उत्तर कोरिया संयुक्त सैन्य अभ्यासका साथै स्वयंसेवक र आर्थिक सहायता आदानप्रदान, शरणार्थी समस्या समाधानका विषयमा छलफल एवं सम्झौता भएका थिए। त्यस्तै सन् १९५३ मा दुई कोरियाबीच भएको सन्धिको मध्यस्थताको लागि उत्तर कोरियाले चीनलाई आमन्त्रित गरेको थियो। त्यस्तै सन् १९६१ मा चीन–उत्तर कोरियाबीच म्युचुअल सहायत एवं सहयोग तथा मैत्री सन्धि भएको थियो। जसअन्तर्गत चीन–उत्तर कोरियाबीच दुवै देशले आ–आफ्ना देशमा बाह्य आक्रमण भैहालेको खण्डमा तुरुन्तै एक–अर्को सहयोगमा उत्रिने प्रतिबद्धतामा हस्ताक्षर गरेका थिए।

त्यस्तै १ जनवरी २००९ मा चिनियाँ राष्ट्रपति हु जिन्ताउ र उत्तर कोरियाली नेता किम इल उलबीच आफ्नो कूटनीतिक सम्बन्धको साठीऔं वर्षगाँठको अवसरमा अभिवादन साटासाटसँगै चीन–कोरिया मित्रतावर्षको पनि शुभारम्भ गरेका थिए। तर कालान्तरमा चीन–उत्तर कोरिया घटनाक्रमले १८० डिग्रीको फन्को मार्दै गयो। सन् २०१३ को फेब्रुअरी १२ मा चीनस्थित उत्तर कोरियाली राजदूतसमक्ष चिनिया पक्षले उत्तर कोरियाको आणविक परीक्षणको विरोध मात्र गरेन उत्तर कोरियालाई आणविक परीक्षण बन्द गर्नसमेत सुझायो। यो घटनापश्चात् दुई देशबीच चिसिएको सम्बन्ध हालैका दिनहरुसम्म आइपुग्दा प्रतिरक्षात्मक अवस्थामा आइपुगेको छ।

सन् २०१३ को मे ५ तारिखका दिन उत्तर कोरियाली समुद्री तट सीमानजिकैबाट १६ जना चिनियाँ माझीहरुलाई उत्तर कोरियाली सुरक्षा अधिकारीले पक्राउ गरे। ती माझीहरुको सुरक्षित रिहाइका लागि उत्तर कोरियाले चीनसमक्ष ६ लाख युआन अर्थात् ९७ हजार ६ सय अमेरिकी डलरको माग गरेको थियो। उत्तर कोरियाको यस प्रकारको मागले चीन रुष्ट बन्नुका साथै उत्तर कोरिया–चीन सम्बन्ध पनि निरन्तर ओरालो लागिरहेको छ। त्यस्तै सन् २०१६ मा चिनियाँ विदेश मन्त्रालयद्वारा जारी एक वक्तव्यमा उत्तर कोरियाको आणविक कार्यक्रमलाई संयुक्त राष्ट्रसंघ या अमेरिकासँगको सहकार्यमा न्यूनीकरण गरिने भनेर उल्लेख भएसँगै चीन–उत्तर कोरिया सम्बन्धमा झनै चिसोपना एवं तनावपूर्ण रहँदै आएको छ। हालैका दिनहरुमा चीन–उत्तर कोरिया सम्बन्धमा चिसोपना आउनुका साथै ट्रम्प प्रशासनले उत्तर कोरियाको आणविक कार्यक्रममाथि हस्तक्षेपको रणनीतिअनुरुप चिनियाँ सद्भाव खोज्नुले पनि आगामी दिनमा चीन–अमेरिका अनि उत्तर कोरिया द्वन्द्व त्यति टाढा देखिँदैन। यसबाट बाँकी विश्वमा पर्न जाने प्रभाव र प्रतिक्रियाले नै भोलिका दिनमा विश्वशान्ति वा विश्वयुद्धको बीजारोपण के हुने हो, प्रस्ट हुनेछ।

प्रतिक्रिया दिनुहोस्