बैंकहरूबीच सवारी कर्जामा प्रतिस्पर्धा



 

हेमन्त जोशी, काठमाडौं

नाडा अटो शोमा गाडी बिक्रेता कम्पनीले कर्जामा छुट दिँदै सवारी कर्जा दिँदै आएक छनु।१० वटा वाणिज्य बैंकहरूको सहभागिता रहेको मेलामा फाइनान्सिङ र कर्जामा ब्याजदरका विषयमा बुझ्न आउने अवलोकनकर्ताको भीड लागेको छ।

अटो वा हायर पर्चेज कर्जाका रूपमा बैंकहरूले प्रवाह गर्ने कर्जामा ३५ प्रतिशत डाउन पेमेन्टको व्यवस्था र अटो शोका लागि भनेर नै ब्याजदरमा केही छुट दिएका छन्। नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिमा अटो कर्जाका लागि ३५ प्रतिशत डाउन पेमेन्ट र ६५ प्रतिशत फाइनान्सिङ गर्नुपर्ने प्रावधान अनुरूप नै कर्जा प्रवाह गरे पनि न्युन ब्याजदरले ग्राहक तानेको बुझ्न सकिन्छ। सजिलै कर्जाको अफर, शून्य प्रिमियम कर्जा तथा ब्याजदरमा पनि केही छुट पाएपछि बैंकका स्टलमा ग्राहक थप आकर्षित भएका हुन्। केही बैंकले न्यून प्रिमियम राखेर ब्याजदर निर्धारण गरेका छन् भने केही बैंकहरूले शुन्य प्रिमियमा पनि सेवा दिइरहेका छन्। कर्जा चुक्ता गर्ने समायावधिमा देखिएको अन्तरले ब्याजदरमा पनि केही असर पार्ने भएपछि मासिक किस्ता भुक्तानीमा पनि सहज हुने देखिएको छ।

कुनै समय ७ प्रतिशत ब्याजदरमा कर्जा प्रवाह गरेका बैंकहरूले तरलता अभावको समस्यापछि भने १२ देखि १५ प्रतिशतसम्म पुर्याएको थिए। तर, तरलता समस्या हट्दै गएपछि कर्जा ब्याजदरमा पनि कमि आउन थालेको हो। त्यसको उदाहरणका रूपमा अटो शोका क्रममा बैंकहरूले कर्जामा १० देखि १२ प्रतिशतसम्म उपलब्ध गराएको ब्याजदरलाई लिन सकिन्छ।

गत वर्षको नाडा अटो शोमा बैंकहरूले गाडीको मूल्यको ८० प्रतिशतसम्म कर्जा दिएका थिए भने न्यूनतम ब्याजदर ६ दशमलव २५ प्रतिशतसम्म रहेको थियो। तर, बैंकमा लगानीयोग्य रकमको अभावलाई कम गर्न भन्दै डाउनपेमेन्ट ५० प्रतिशतमा झारेपछि गत वर्षको नाडा अटो शोमा गाडी खरिद गरेकाले बैंकहरूको बढ्दो ब्याजदरको कारण तिर्दै आएको मासिक किस्ता (ईएमआई) पछि बढेको थियो। तर, अहिले तरलता अभावको समस्या सल्टिएपछि कर्जामा ब्याजदर घट्छ कि घट्दैन भन्ने चासो पनि अवलोकनकर्तामा देख्न सकिन्थ्यो। बैकहरूले भने बैंकबाट ऋण लिएर गाडी किन्नेले तिर्नुपर्ने ईएमआई डाउनपेमेन्ट बढेको अवस्थामा स्वतः घट्ने भएपछि ब्याजदरमा स्थिरता हुने भन्दै आस्वस्थ पारिरहेका थिए।

अटो शो मा विद्युतीय गाडीलाई पनि अवलोकनकर्ताले चासोका साथ हेरिरहेका थिए। मौद्रिक नीति अनुसार नै विद्युतीय सवारी साधनमा कर्जाको सीमा ८० प्रतिशत रहेको छ भने विद्युतीय सवारीको खरिदमा ग्राहकले २० प्रतिशतमात्र डाउन पेमेन्ट गरे पुग्छ। उदाहरणका लागि ५० लाख मूल्य पर्ने गाडी खरिदमा ग्राहकले १० लाख मात्र डाउन पेमेन्ट गर्नुपर्छ।

अटो शोका लागि भन्दै बैंकहरूले निर्धारण गरेको ब्याजदरमा एकरूपता भने देखिँदैन। उदाहरणका लागि स्ट्यान्डर्ड चार्टर्ड बैंकले निजी गाडीमा ९ दशलमव ४७ प्रतिशतमा कर्जा दिइरहेको छ भने प्रभु बैंकले १२ दशमलव २६ प्रतिशत ब्याजदर तोकेको छ। ग्राहकहरूले हायर पर्चेज र सवारी कर्जा मात्र नभई बैकहरूले बचतमा दिने व्याजदर र घर जग्गा कर्जा, शैक्षिक कर्जा लगायत अन्य कर्जामा पनि सेवा लिईरहेका थिए। सम्बन्धित बैंकहरूले आफ्नो स्टल मार्फत कर्जामा ब्याजको प्रतिशत, कर्जा अवधि, डाउन पेमेन्ट, सेवा शुल्कमा छुट लगायतका जानकारी अवलोकनकर्ताले पाउनेछन।

प्रतिक्रिया दिनुहोस्