भगौडाद्वारा कोरियाली सेनामा यौन शोषण भएको खुलासा



 

सोल, (एजेन्सी)
मानव अधिकार उल्लंघनको विषयलाई लिएर उत्तर कोरिया विश्वमै बदनाम रहेको खबर पटकपटक सार्वजनिक हुँदै आएको छ। हालै दक्षिण कोरियाको डिजिटल सोजु टेलिभिजनले उत्तर कोरियाको कम्युनिस्ट शासनले त्यहाँका महिलाहरूमाथि कतिसम्म क्रुर व्यवहार गर्छन् भन्ने एक भिडियोमार्फत सार्वजनिक गरेको छ।

सो भिडियोमा कुनै जमानामा उत्तर कोरियाली सेनामा काम गरिसकेका तथा सोलमा भागेर आएका महिलाहरू सैनिक विशेषता झल्किने तथा कुखुराको परिकारका लागि निकै चर्चित रेस्टुरेन्टमा दक्षिण कोरियाली कार्यक्रम सञ्चालकसामू बसिरहेको देखिन्छन्। एकजना भगौडा उत्तर कोरियाली महिलाले सेनामा सम्पूर्ण महिलाले त्यहाँ ६ वर्ष र पुरुषहरूले ११ वर्ष अनिवार्य सेवा गर्नुपर्ने सो अवधिमा आफूलाई खाना खानेबेला तीन चम्चा भात मात्र दिइने गरेको दुखेसो पोखेकी छिन्। उत्तर कोरियाका हरेक क्षेत्रका मानसिहरू कुपोषण पीडित रहेको देख्न सकिन्छ। साथै भगौडाहरूले उत्तर कोरिया कम्युनिस्ट राष्ट्र भए पनि सेनामा समेत मानिसहरूलाई पैसाको खाँचो हुने गरेको र एकले अर्काको युनिफर्मसमेत चोर्ने गरेको बताएका छन्। साथै भगौडाका अनुसार त्यहाँ महिलालाई पुरुष जतिको महत्व नरहेको तथा कम शक्तिशाली र स्मार्टको रूपमा तुलना गरिने गरेको छ। एकजना भगौडाले युनिफर्म र रासन वितरण गर्ने पुरुष सेनाहरूले आफ्नो अधिकार दुरूपयोग गरेर महिला सेनामाथि यौन शोषण गर्ने गरेको बताएका छन्।

एक भगौडा महिलाले कुपोषणका कारण आफू निकै दुब्लाउँदै गएको र एकदिन आफ्ना सिनियर अधिकारीहरूले सबै गएपछि आफूलाई शरीरको अवस्थाको निरीक्षण गर्ने भन्दै सम्पूर्ण लुगा फुकाउन लगाएको बताएकी छिन्। उनले ती मेजर जनरलले आफूलाई भित्री वस्त्रसमेत खोल्न लगाइ जबर्जस्ती गर्न खोज्दा नमानेपछि आफूलाई रगताम्य हुने गरी पिटेको पनि बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्