उत्तमको सांगीतिक यात्रा सार्वजनिक



 

गायक तथा संगीतकार उत्तम थापा मगरले आफ्नो एकल गीतहरुको चौथो अडियो एल्बम यो यात्रा सोमबार काठमाडौंमा सार्वजनिक गरेका छन्। गायक थापाका सांगीतिक गुरू गुरुदेव कामत, संगीतकार राजु सिंह, पत्रकारद्वय कृष्ण भट्टराई, डब्बु क्षत्रीलगायतले उनको एल्बम विमोचन गरेका हुन्।

विमोचित एल्बममा आधुनिक तथा लोक शैलीका ८ गीत समावेश छन्। विमोचित एल्बमका सबै गीतमा गायक थापाकै संगीत छ। ती गीतहरु उनका साथमा मनोज धमला, डीपी खनाल, ओम सुनार र सुमन लम्सालले रचना गरेका छन्। चन्दु गोर्खाली, सञ्जीव सुब्बा, राजीव शाह, दीपेश प्रधान, चाँद सिंह र बुद्ध सान्बोद्वारा संगीत संयोजन गरिएका गीतहरुको उक्त एल्बमलाई सङ्स नेपालले प्रस्तुत गरेको हो। विमोचन समारोहमा एल्बमको पहिलो गीत जोर मादलको म्युजिक भिडियोसमेत सार्वजनिक गरिएको थियो।

समारोहमा सांगीतिक गुरू गुरुदेव कामतले गायक थापालाई आफ्नो कान्छो छोराको रूपमा संगीत सिकाएको स्मरण गर्दै उनको गायकीको प्रशंसा गरे। संगीतकार राजु सिंहले गायक थापा संगीतमा मेहेनत गर्न पछि नपर्ने प्रतिभा भएको चर्चा गरे।

२०६५ सालदेखि नेपाली सांगीतिक क्ष्ँेत्रमा सक्रिय उत्तमले यसअघि आधुनिक तथा सुगम शैलीमा आधारित तीन एकल गीति एल्बम दर्शक तथा स्रोतामाझ ल्याइसकेका छन्। ललितकला क्याम्पसमा संगीतको औपचारिक अध्ययन प्रारम्भ गरेका संगीतकर्मी मगर यतिबेला स्नातक तह चौथो वर्षमा अध्ययनरत छन्।

प्रतिक्रिया दिनुहोस्