गीतका सर्जकहरू सम्मानित



 

गीतकार संघ नेपालले राष्ट्रिय स्रष्टाहरुलाई सम्मान गरेको छ। संघले मंगलबार राजधानीको कमलादिस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा एक कार्यक्रम आयोजना गरी स्रष्टा सम्मान २०७३ बाट गीतकार राजेन्द्र थापालाई सम्मान गरेको छ।

पोहोर साल खुसी साट्दा, दिलमाया, दर्शन नमस्ते, क्या दामी भोजस्ता चर्चित गीतका गीतकार राजेन्द्र थापालाई १ लाख १ रुपियाँसहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो। उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठ र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त श्रेष्ठको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा सर्वाेत्कृष्ट वर्ष गीत पुरस्कार २०७३ बाट संयुक्तरूपमा ऋणैऋण बोलको गीतको रचनाकार सुवास संगम राई र हातको ठेला गीतका रचनाकार नृपध्वज खड्का सम्मानित भए। दुवैलाई ५१ हजार रुपियाँ र प्रमाणपत्रसहित सम्मान गरियो। त्यसै गरी डायस्पोरा स्रष्टा पुरस्कार जानुका राईलाई ११ हजार रुपियाँ र प्रमाणपत्र प्रदान गरियो। प्रवासमा रहेर पनि नेपाली गीत लेखनमा सक्रिय रहेका स्रष्टाहरुको कदर गर्दै यसै वर्षबाट यो सम्मान थपिएको संघका अध्यक्ष चूडामणि देवकोटाले जानकारी दिए।

सो अवसरमा गीतकार विशेषांक २०७४ को विमोचन र गीतकार संघको आधिकारिक वेबसाइटको शुभारम्भ पनि गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि गोपालमान श्रेष्ठले सम्मानित हुने सबैलाई बधाई दिँदै संगीत र मानिसको जीवन एक–अर्काका पर्याय भएकाले संगीतको ठूलो महत्त्व रहेको चर्चा गरे। उनले संगीतकार, गीतकार र यसमा संलग्न हुने सबैलाई सम्मान गर्नुपर्नेमा जोड दिए। राष्ट्रिय स्रष्टा सम्मानबाट सम्मानित गीतकार थापाले गीतले नै मानव जीवनको भावना र विचारलाई अभिव्यक्त गर्ने हुँदा गीतको धेरै महत्त्व रहेको चर्चा गरे।

संघले जनमानसकै भावनाअनुरूप आफूलाई सम्मान गरेको उल्लेख गर्दै उनले भने– ‘म आज सम्मानित हुनुको पछाडि धेरै संगीतकार र गीतकारको हात रहेकाले मैले सबैलाई सम्झिनुपर्छ।’ त्यसै गरी सरुभक्त श्रेष्ठलगायत अन्य अतिथिले संघको क्रियाकलापको प्रशंसा गर्दै उज्वल भविष्यको कामना पनि गरे।

राजेन्द्र थापा राष्ट्रिय स्रष्टा सम्मानबाट पुरस्कृत हुने पाँचौं गीतकार हुन्। यसअघि गीतकारहरु रत्नशमशेर थापा, किरण खरेल, यादव खरेल र भैरवनाथ रिमाल कदम सम्मानित भइसकेका छन्।

प्रतिक्रिया दिनुहोस्