तानसेन गुठीको रजत महोत्सव सम्पन्न



 

नेपाल समाचारपत्र
काठमाडौं
तानसेनको खाल्पाबाट काठमाडौंमा बसोबास गर्ने तानसेनबासीद्वारा स्थापना गरिएको तानसेन गुठीको रजत महोत्सव हालै काठमाडौंमा विविध कार्यक्रम गरी सम्पन्न भएको छ।

कार्यक्रम रण उजिरेश्वरी भगवती माताको प्रतिमूर्तिमा गुठीका वरिष्ठ सल्लाहकार क्याप्टेन रवीन्द्रप्रसाद प्रधानबाट पूजा शुरू भएको साधारणसभा गुठीका अध्यक्ष शान्ता शाक्यको अध्यक्षतामा भएको थियो। विशिष्ट अतिथि नेपाली वाङ्मय शाताब्दि पुरुष, भाषा, साहित्य, इतिहास तथा संस्कृतिविद् डा. सत्यमोहन जोशीबाट रण उजिरेश्वरी भगवती मातामा माल्यार्पण तथा पानसमा दीप प्रज्वलन गरी शुभारम्भ भएको थियो। उहाँले गुठीका संस्थापक तथा पूर्वअध्यक्षहरूबाट पाल्पामा निर्मित कलात्मक धातुको २५ वटा सुकुन्दामा दीप प्रज्वलन गर्नुभएको थियो।

भेला परिसरमा तानसेनको झझल्को दिने प्रयासस्वरूप तानसेन दरबार अगाडिको ठूलो मूलढोकाको प्रतीकका रूपमा प्रवेशद्वार बनाई रण उजिरेश्वरी भगवती माताको प्रतिमूर्ति स्थापना गरी त्यसको पृष्ठभूमिमा भगवतीको मन्दिरको सानो स्वरूप स्थापना गरी तानसेनबाट आउनुभएका सांस्कृतिक टोलीका कलाकारबाट चुइँकी, लाखे, प्रहसन आदि प्रस्तुत गरिएको थियो।

विगत एक वर्षभरिमा दिवंगत हुनुभएका गुठीयारका परिवारको आत्माको चिर शान्तिको कामनासहित एक मिनेट मौनधारण गरी प्रारम्भ भएको उक्त कार्यक्रममा मदन पोखराकी आकांक्षा बस्यालले राष्ट्रिय गीत गाएकी थिइन्। गुठीका उपाध्यक्ष सर्जु लिगलले गुठीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। गुठीको स्थापनाकालदेखि हालसम्म अनवरतरूपमा पुर्याउनुभएको मार्गदर्शन तथा योगदानको उच्च कदर गर्दै गुठीका सल्लाहकार तथा आजीवन सदस्य डा. मोहनमान सैंजुलाई रजत महोत्सवको विशेष समारोहमा विशिष्ठ अतिथि सत्यमोहन जोशीबाट दोसल्ला ओढाई अभिनन्दनपत्रद्वारा अभिनन्दित गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्