बजारमा कस्ता कार आउँदै छन् ?



रोविन पौडेल, काठमाडौं
नेपाली अटो बजार नयाँ प्रविधिमा आधारित दुई तथा चार पाङ्ग्रे सवारी साधान भित्र्याउन अझै संघर्ष गर्दै छ। विश्व बजारमा सफल भइसकेका गाडी नेपाल बजारमा आउन समय लागि रहेको अवस्थामा मंगलबारदेखि आयोजना हुँदै गरेको नाडा अटो मेला कोसेढुंगा बन्ने अपेक्षा गरिएको छ।

नेपाली बजारमा उपलब्ध दर्जनौं सवारीमा मेलाले उपभोक्ताको आवश्यकता र बजारको मागअनुसार नयाँ सवारी ल्याइने भएको छ। नाडा अटो शो नजिकिँदै जाँदा नयाँ सवारी सार्वजनिक हुने क्रम समेत बढेको छ। अटो शोमै पनि सार्वजनिक हुने नयाँ सवारीको संख्या पनि धेरै नै हुन्छ।

यसवर्षको नाडा अटो शो पनि टाटा, हुन्डाई, सुजुकी, रेनो, कियालगायत १६ वटा चारपांग्रे र १९ वटा दुई पांग्रे कम्पनीले विभिन्न मोडलका नयाँ सवारी साधन प्रदर्शन गर्ने भएका छन्। कतिपयले नयाँ मोडल र कतिपयले चलिरहेकै मोडलको रिभाइज भर्सन ल्याउने जानकारीमा आएको छ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपाल र ग्लोबल एक्पोजसिन एन्ड म्मानेजमेन्ट सर्भिसेज प्रालिले संयुक्त रूपमा आयोजन गर्न लागेको नाडा अटो शोमा निम्न सवारी प्रदर्शनीमा राखिने भएको छ।
डाट्सनको ‘रेडी गो वानएल’

डाट्सनले ‘रेडी गो’ शक्तिशाली इन्जिन भएको रेडी गो १ हजार सीसी क्षमतामा नयाँ गाडी ल्याउन लागेको छ।

गाडीको बाहिरी बनावट र भित्री सजावट आकर्षक बनाइएको छ। कारमा २ सय २२ लिटरको बुट स्पेस र स्पिड सेन्सेटिभ पावर स्टेयरिङ छ। त्यस्तै एयर कन्डिसनर, डिजिटल टेक्नोमिटर, ड्राइभ कम्प्युटर, पावर विन्डोलगायत यसका आकर्षक फिचर हुन्। यसको ग्राउन्ड क्लियरेन्स एक सय ८५ मिलिमिटर रहेको छ।

यसअघि नेपाल भित्रिएको आठ सय सीसीको रेडी गो इन्ट्री लेबल कार नेपालमा लोकप्रिय छ। कम्पनीले शक्तिशाली इन्जिन र परिस्कृत सुविधासहित रेडी गो भित्र्याउन लागेको हो। पेट्रोल इन्जिनको रेडी गो दुईवटा भेरियन्टमा उपलब्ध हुनेछ।

हुन्डाई आई टेन फेसलिफ्ट
यसवर्षको नाडामा देखिन लागेको नयाँ कार हो– हुन्डाई आई टेन फेसलिफ्ट। यो कार यसवर्ष नाडा अटो शोको आकर्षणमा रहनेछ। कारको स्टाइलिस्ट अपिरियन्स सबैको आकर्षणको केन्द्र रहेको छ।

सो कार नयाँ लुक्स तथा भित्रि डिजाइनमा उपलब्ध छ। कारमा ७५ पिएस पावर जेनेरेट गर्ने १ दशमलव २ लिटर इन्जिनले प्रतिस्थापन गरिएको छ। कारको ट्रान्समसिन कार्य ५–स्पिड म्यानुअल पेट्रोल गियरबक्सले गर्दछ।

किया सोल इभी

किया मोटर्सको आधिकारिक वितरक कन्टिनेन्टल ग्रुपले जिरो इमिसन इलेक्ट्रिक कार सोल इभी पनि सार्वजनिक गरेको छ। नयाँ कार ०–१०० मिमि प्रतिघन्टाको गति तथा १ सय ४५ किमि प्रतिघन्टा गतिमा दौडिन सक्छ। विद्युत्को प्रयोग हुने भएकाले कारको कार्बन डाईअक्साईड उत्पादन शून्य रहने कम्पनीले जनाएको छ। त्यस्तै कारको गुरुत्व केन्द्र कम उचाईमा रहेका कारण गाडी बढी स्थिर रहने तथा टर्क पनि धेरै भएको कमपनीको दाबी छ।

सोल ईभी एसयुभी प्लाटफर्म रहेको एकमात्र इलेक्ट्रिक कार हो। कारमा २७ किलोवाट तथा ३ सय ६० भोल्टको १९२–सेल लिथियम ब्याट्री प्रयोग भएको छ। साधारण अवस्थामा ८ घन्टामा फूल चार्ज हुने सो ब्याट्रीमा ७ वर्ष तथा ७० हजार किमिको वारेन्टी रहेको छ।

गाडीमा भएको यिनै फिचरले गाडी आरामदायी रहेको छ। २ वर्षअघि उत्पादन शुरू भएयता १० हजारभन्दा बढी सोल ईभी बिक्री भइसकेको कम्पनीले जनाएको छ।

कियाका ७ वटा नयाँ विश्वस्तरीय गाडी नेपाली बजारमा उपलब्ध छन्। तइसमा पिकान्टो, रियो, सोल ईभी, स्पोर्टेज, सोरेन्टो र ग्रान्ड कार्निभल रहेका छन्।

महिन्द्रा थार डे ब्रेक

महिन्द्रा एन्ड महिन्द्राको नेपालका लागि आधिकारिक बिक्रेता अग्नी इन्कर्पोरेटेडले थार जीपको नयाँ भर्सन थार डेब्रेक ल्याउँदै छ।

अटो शोलाई लक्षित गरी कम्पनीले नेपाली बजारमा लोकप्रिय थारको नयाँ मोडल ल्याउन लागेको कम्पनीले जनाएको छ। यो सवारी सहर तथा अफ रोड बाटोमा समेत उपयोगी हुने र युनिक डिजाइन भएकाले लोकप्रिय रहेको कम्पनीको भनाइ छ।

त्यसैगरी महिन्द्राको एक्सयूभी–५०० को अटोमेटिक भर्सन पनि नाडामा किन्न पाइनेछ। एक्ट्रा स्पेसियस फिचर्ससहितको केयूभी–१०० पनि गतवर्ष नाडामा नदेखिएको कार हुनेछ।

रेनो डस्टर
रेनोले गत वर्ष कम्प्याक्ट एसयूभी डस्टर र कम्प्याक्ट ह्याचब्याक क्विडसहित नेपाल भित्र्याएको हो। नेपालमा डस्टर र क्विड दुवै मोडल लोकप्रिय छन्। कम्पनीले आसन्न नाडा अटो शोमा डस्टर पेट्रोल इन्जिनमा एएमटी र डिजेल इन्जिनमा आरएक्सएस भेरियन्ट ल्याउँदै छ। नेपाली बजारमा ३५ लाखदेखि ५६ लाख रुपियाँसम्मको रेन्जमा उपलब्ध डस्टर एसयूभी सेगमेन्टमा लोकप्रिय छ।

स्कोडा सुपर्व फेसलिफ्ट

स्कोडाले सुपर्व फेसलिफ्ट सार्वजनिक गर्ने भएको छ। सेडान सेगमेन्टमा नेपाली बजारमा रुचाइएको सुपर्वको अपडेटेड भर्सन ल्याउन लागिएको स्कोडा कारको नेपालका लागि आधिकारिक बिक्रेता एमएडब्लू इन्टरप्राइजेजले जनाएको छ। नयाँ स्कोडा सुपर्व फेसलिफ्ट फरक सुविधासहित ल्याउन लागिएको हो।

सुजुकी न्यू डिजायर

सुजुकी डिजायर कम्पनीले आकर्षक अवतारमा कार भित्र्याउन लागेको हो। नयाँ डिजायरमा सुजुकी बलेनोमा प्रयोग गरिएको हियरटेक च्यासिस प्लेटफर्मको प्रयोग गरिएको कमपनीले जनाएको छ।

कारको भित्री तथा बाहिरी डिजाइन पनि आकर्षक छ। यसमा रहेको इन्फोटेनमेन्ट सिस्टममा दिइएको एन्ड्रोइड अटो सुविधा भारतमा निर्मित कारमै पहिलो भएको कम्पनीको दाबी छ। कारमा ड्युल एयर ब्याग, फ्रन्ड डिस्क ब्रेक र ब्याकमा ड्रम ब्रेक प्रयोग गरिएको छ।

कारमा १२ सय सीसीको भीभीटी पेट्रोल इन्जिन जडान गरिएको छ। यसले १ लिटर पेट्रोलमा २२ किलोमिटरसम्म माइलेज दिने कम्पनीको दाबी छ। ३७ लिटर पेट्रोल अटाउने इन्धन ट्याङ्की रहेको यो कारको ग्राउन्ड क्लियरेन्स १ सय ६३ मिलिमिटर रहेको छ।

सुजुकीको ‘इग्निस’

यो पटक अटो मेलामा मारुती–सुजुकीको नया– सब–कम्प्याक्ट क्रसओभर ‘इग्निस’ नयाँ गाडीका रूपमा देखा पर्दैछ। दमदार लुकका कारण भारतीय बजारमा निकै रुचाइएको इग्निसलाई नेपाली उपभोक्ताले पनि मन पराउने विश्वास कम्पनीले लिएको छ।

कार १ दशमलव २ लिटर पेट्रोल इन्जिनमा आएको छ। यो कारको फ्युल इफिसियन्सी पनि राम्रो छ। यसले प्रतिलिटर २० दशमलव ८९ किलोमिटरको माइलेज दिन्छ। यसमा २ सय ५८ लिटरको बुट स्पेस पनि छ। जसलाई पछाडिको सिट फोल्ड गरेर ४ सय १५ लिटरको पनि बनाउन सकिन्छ। इन्टेरियरको कुरा गर्दा यो प्रिमियम एसयूभी बराबरको फिचरबाट सुसज्जित छ।

यसमा १ सय ८० एमएमको ग्राउन्ड क्लेयरेन्सले अप्ठेरो सडकमा गाडी चलाउँदा पनि सजिलोसँग ह्यान्डल गर्न सकिन्छ। इग्निस डुअल कलर टोनको साथमा आएको छ।

टाटा टिगोर

टाटाले कम्प्याक्ट सेडान कार ‘टिगोर’ भित्र्याएको छ। आकर्षक, चुस्त, अत्याधुनिक एवम् डाइनामिक डिजाइनका कारण टिगोरलाई ‘स्टाइल ब्याक’ उपनाम दिएको छ। कम्प्याक्ट सेडान टिगोरमा मल्टी ड्राइभ मोडका लागि नयाँ रिभोटर्न १२ सय सीसीको शक्तिशाली पेट्रोल इन्जिन रहेको छ।

कारको बाहिरी बनावट एक्सप्रेसिभ, एक्साइटिङ र एक्स्ट्रा अर्डिनरी तरिकाले डिजाइन गरिएको छ।

कारमा अटोमेटिक क्लाइमेट कन्ट्रोल फिचर पनि छ। कारमा जडित ड्युल फ्रन्ट एयरब्याग, कर्नर स्टाबिलिटी कन्ट्रोल (सीएससी) सहितको एबीएस, ईबीडी र रिभर्स पार्क क्यामेरालगायत विशेषताले यात्रा सुरक्षित बनाउने कमपनीले जनाएको छ।

वक्सवागन न्यू टिग्वान

वक्सवागनले चर्चित एसयूभी गाडी टिग्वानको रिभाइज्ड भर्सन नेपाली बजारमा भित्र्याएको छ। वक्सवागनको बिक्रेता विशाल समूहअन्तर्गतको पूजा इन्टरनेसनलले नयाँ टिग्वान सार्वजनिक गरिसकेको हो।

अटो शोलाई लक्षित गरी ल्याइएको नयाँ टिग्वान चारवटा भेरियन्टमा उपलब्ध छ। साथै सोही अवसरमा ३ वटा भेरियन्टका एमरोक पिकअप पनि भित्र्याएको छ। ग्राउन्ड क्लियरेन्स २ सय १ मिलिमिटर छ। कारमा ६० लिटर इन्धन क्षमताको ट्यांकी छ।

यसमा सिक्स स्पिड डबल क्लच ट्रान्समिसन डीएसजीदेखि सेभेन स्पिड अटोमेटिक ट्रान्समिसन गियरबक्स छ।

निसानको नयाँ न्यू ‘माइक्रा एक्टिभ’, ‘एक्स ट्रेल’ र सन्नी–डिजेल

निसानको माइक्रा एक्टिभ र एक्स ट्रेलको फेसलिफ्ट पनि नाडामा देखिने नयाँ कार हुन्। यसपटक कम्पनीले इन्टेरियर र एक्सटेरियरमा मिहेनत गरेर नयाँ लुक्समा यिनलाई ल्याएको छ।
यस पटक नामा पायोनियर मोटोकर्पले निसानका गाडीको बिक्री गर्दैछ। ह्याचब्याक माइक्रा एक्टिभ र एसयूभी एक्स ट्रेलको सबैभन्दा बलियो पक्ष भनेको यिनको बाहिरी डिजाइन र लेआउट रहेको छ। नयाँ स्पोर्टी बम्परले यी गाडीलाई निकै आर्कषक देखाउँछ।

माइक्रा एक्टिभमा १ सय ६५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स छ। ५ सिट क्षमता भएको माइक्रा १ हजार १ सय ९८ सीसी क्षमताको माइक्राले झण्डै २० किलोमिटर माइलेज दिन्छ। शहरी र राजमार्गमा ड्राइभका लागि यो गाडी निकै उपयुक्त छ। यसैगरी निसानको सेडान ‘सन्नी’को डिजेल भर्सन पनि नेपाल आउँदैछ। नाडाकै अवसरमा डिजेल भर्सन नेपाल ल्याइएको हो। आरामदायी यात्राका लागि यो कार चर्चित छ।

आकर्षक डिजाइन, पर्याप्त हेड रुम र लेग रुमसहितको स्पेश लगायतले यसलाई कम्प्याक्ट सेडान भएर पनि प्रिमियम सेडानको अनुभुति दिलाउँछ। लामो यात्राका लागि यो कार निकै रुचाइएको छ।

योसहित अन्य कम्पनीहरूले पनि आफ्नो नयाँ मोडलका गाडी अटो शोका लागि ल्याउने छन्। कतिपय कम्पनीले केही महिनाअघि सार्वजनिक भएका कारलाई प्राथमिकताका साथ अटो शोमा प्रदर्शन गर्ने भएका छन्।

एमजी जिएस एसयूभी
बेलायती ब्रान्ड मोरिस ग्यारेज (एमजी) ले दुई मोडलमा एसयूभी नेपाली बजारमा भित्र्याएको छ। कम्पनीले १५ सय सीसी र २ हजार सीसी टर्बो इन्जिनको एमजी जीएस ल्याएको हो। एमजी गत वर्षको नाडा अटो शोबाट नेपाल प्रवेश गरेको हो। एमजी ब्रान्डको गाडी एसएलआर टेक्नोलोजी एन्ड ट्रेड प्रालिले एमजी गाडी बिक्री गर्दै आएको छ।

गाडीमामा नयाँ प्रविधिको टीएसटी गेयर बक्स (अटोमेटिक)को सुविधा छ। नयाँ प्रविधिको सुविधायुक्त हुनुका साथै यस एमजी जीएस गाडी यूरो–५ प्रमााणित छन्। नयाँ प्रविधिका उपकरणबाट सुसज्जित हुनुका साथै सुरक्षाको हिसाबले पनि उच्च प्रविधि अपनाएको छ।

तत्काल बुकिङ गरेमा २ लाखसम्म छुट दिनुका साथै एक वर्ष को इन्स्योरेन्स पनि दिने कम्पनीले जनाएको छ। नयाँ मोडल अटो शोलाई लक्षित गरी सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्