बलात्कारी धर्मगुरुलाई बीस वर्ष कारावास सजाय



नयाँदिल्ली, (एजेन्सी)
विवादास्पद भारतीय धर्मगरु गुरमित राम रहिम सिंहलाई बलात्कारको अभियोगमा एक अदालतले सोमबार २० वर्ष लामो कारावास सजाय सुनाएको छ। शुक्रबार सो अभियोग लगाइएका उनको मुद्दामाथि निर्णय हुनु केही समयअघि उनका आक्रोसित समर्थकहरूले एउटा सवारी साधनमा आगजनी गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

भारतको उत्तरी हरियाणा राज्यको पञ्चकुलामा उनलाई सजाय सुनाइने विषयलाई लिएर भएको हिंसात्मक घटनामा अहिलेसम्म करिब ३८ व्यक्तिको ज्यान गइसकेको छ। उनीमाथि आफ्नै दुईजना महिला अनुयायीलाई बलात्कार गरेको आरोप लगाइएको हो। सिंहका कानुनी सल्लाहकार टोलीले पन्जाब र हरियाणा उच्च अदालतमा यस निर्णयविरुद्ध अपिल गर्ने बताएको छ।

सञ्चारमाध्यमले वकिलहरूले उनीविरुद्ध कडाभन्दा कडा सजाय अर्थात् आजीवन कारावास माग गरेको जनाएको छ। एकजना वकिलले ५० जना महिलाले पनि उनीविरुद्ध हालै बलात्कारको आरोप लगाएको र त्यसबारे थप अनुसनधान गरिने बताएका छन्। वकिल उत्सव सिंह बाइन्सले एएफपीलाई भनेका छन्– ‘सिंहले कम्तीमा ४८ जना महिलालई यौन उत्पीडन गरेको विश्वास छ। तिनीहरू मारिएको वा उनीविरुद्ध बयान दिन आउन डराएको हुनुपर्छ।’ राम रहिमले दुईवटा घटनामा भएका हत्याको अभियोग अस्वीकार गरेका छन्। ती हत्याको मुद्दामाथि आगामी महिना सुनुवाइ हुने भएको छ।

सिंहलाई कारावास सजाय सुनाइएलगत्तै सिंहको आश्रम रहेको हरियाणा राज्यका मुख्य मन्त्रीले आपत्कालीन बैठक बोलाएका छन्। पञ्जाव र हरियाणा राज्यका अधिकांश क्षेत्रमा यसअघि नै कफ्र्यु लगाइसकेको छ भने नयाँ दिल्लीमा विशेष सुरक्षा सतर्कता अपनाइएको छ।

सेनालाई स्ट्यान्ड वाइ राखिएको छ भने प्रहरीलाई समस्या आइपरेको खण्डमा ‘सुट अन साइट’को आदेश दिइएको छ। सजाय सुनाइन ५० वर्षीय सिंहलाई अदालत लगिएको थिएन। बरु न्यायाधीश स्वयंलाई विमानमा राखेर रोहटक शहरस्थित उनलाई थुनिराखेको कारागारमा लगिएको थियो। उक्त कारागारको डेढ किलोमिटर अर्धव्यास क्षेत्रमा पत्रकारहरूको प्रवेषलाई निषेध गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्