सबैका आँखा वीरगन्जमा,कसले मार्ला बाजी ?



कृष्णउदास खनाल, वीरगन्ज
प्रदेश नम्बर २ को एक मात्रै महानगरपालिकाको नेतृत्व हत्याउनका लागि नेपालका सबै राजनीतिक दलहरू अहिले वीरगन्ज झरेका छन्। उनीहरू वीरगन्ज मात्रै झरेका छैनन्, उनीहरूले गरिरहेको गतिविधिका कारण वीरगन्जको चुनावी सरगर्मी पनि १ सय ८० डिग्रीको फन्को मारेको पाइएको छ।

भदौको दोस्रो साता लाग्दै गर्दा प्राकृतिक गर्मी भने वीरगन्जमा कम हुँदै गइरहेको छ भने चुनावी सरगर्मी भने ह्वात्तै बढेको छ। वीरगन्जलाई राजनीतिक दलहरूले आफ्नो प्रतिष्ठाको विषयसमेत बनाएका छन्। आर्थिक नगरीसहित महानगरपालिका नै भएका कारण र मधेस आन्दोलनको पनि केन्द्रबिन्दु भएका कारण वीरगन्ज सबैको केन्द्रमा परेको वीरगन्जका अधिवक्ता वीरेन्द्र यादव बताउँछन्।

अहिले वीरगन्जमा सबै पार्टीका शीर्ष नेताहरू झरेर घरदैलो अभियान नै सञ्चालन गरेका छन्। वीरगन्जमा नेपाली कांग्रेसले अजय द्विवेदी, एमालेले बसरुद्दिन अन्सारी, माओवादीले रहबर अन्सारी, फोरमले विजय सरावगीलाई मेयरको उम्मेदवार बनाएको छ भने राजपाको भने मेयर पदका लागि टुंगो लाग्न बाँकी रहे पनि विमल श्रीवास्तव र राजेशमान सिंह भोट माग्न हिँडेका कारण यी दुईमध्ये एक हुने आकलन गरिएको छ।

राजपा पनि चुनावमा होमिएपछि भने वीरगन्जको चुनावी सरगर्मी ह्वात्तै बढेको हो। वीरगन्जको मेयर पद हत्याउनका लागि दलहरूलाई राजनीतिक दबाब नै परेको छ। कांग्रेस पुरानो पार्टी भएका कारण यदि मेयर पदमा उसले विजय हासिल गर्न नसके ऊ राजनीतिक रुपमा पराजित हुने उसको विश्लेषण छ। एमाले पर्साको सबैभन्दा ठूलो पार्टी भएका कारण मेयर पद जित्नका लागि उसलाई नैतिक दबाब परेको छ भने माओवादी केन्द्रले जितिहाल्ने अवस्था नभए पनि आफ्नो कति संगठन रहेछ वीरगन्जमा भन्ने जाँच्न चाहन्छ।

फोरम र राजपाले मधेस आन्दोलनताका वीरगन्जलाई केन्द्रबिन्दु बनाएको र मधेस आन्दोलनका क्रममा सबैभन्दा बढी ८ जनाको ज्यान नै गएका कारण वीरगन्ज कुनै पनि हालतमा जित्नै पर्नेमा उनीहरूको रणनीति देखिएको छ। पत्रकार एवम् विश्लेषक चन्द्रकिशोरले वीरगन्जको मेयर पदको पगरी कसले गुत्छ यसै भन्न सकिने अवस्था नभएको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्