वृद्धाश्रममा खुसी नै छन् जेष्ठ नागरिक



पवित्र आचार्य, काठमाडौं
पछिल्लो समय पशुपतिनाथ मन्दिर परिसरमा जेष्ठ नागरिक र असहायको भीड देखिन्छ। त्यहाँ आएका जेष्ठ नागरिकलाई देख्दा लाग्छ– पशुपति क्षेत्र उनीहरूका निम्ति जीवन गुजार्ने सहज स्थान हो। भगवान्को भक्ति भजनमा रुचि राख्ने यस्ता जेष्ठ नागरिक पशुपतिनाथ छेउछाउ विभिन्न आश्रयस्थलमा बस्ने गरेका छन्। उनीहरूले सुखपूर्वक बाँच्नका निम्ती यस क्षेत्रलाई केन्द्र बनाउने गरेका छन्।

२५ वर्षदेखि वृद्धाश्रममा बस्दै आएकी सान्नानी तिमल्सिनाले वृद्धाश्रममा सुखको अनुभूति महसुस गरेकी छन्। उनले भनिन्– ‘मलाई सानैमा विवाह गरिदिए। सानैमा विधुवा भएँ। बाबाआमा हुञ्जेल सँगै बसें। त्यपछिको सहारा कोही नभएर यहाँ आएकी हुँ।’

त्यसो त बुढ्यौली लागेका नागरिकका लागि यस क्षेत्रमा धेरै आश्रमहरू खोलिएको छ। ‘समाज कल्याण केन्द्र वृद्धाश्रम’ विस १९३८ सालदेखि खोलिएको आश्रम हो। पशुपतिको आडैमा रहेको ‘समाज कल्याण केन्द्र वृद्धाश्रम’ मा अहिले धेरै जेष्ठ नागरिक बस्दै आएका छन्। यो आश्रम पशुपति क्षेत्रकै सबैभन्दा पुरानो वृद्धाश्रम पनि हो। ‘पञ्चदेव पाकशाला’ को नामबाट शुरू भएको यो संस्था २०३४ सालदेखि नाम फेरेर ‘समाज कल्याण केन्द्र वृद्धाश्रम’ बनाइएको हो। महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले यसलाई सञ्चालन गर्दै आएको छ। आश्रममा अहिले १ सय १० जना महिला र ८० जना पुरुष बस्दै आएका छन्। संस्थाले जेष्ठ नागरिकको रेखदेख तथा उनीहरूलाई चाहिने आवश्यक सामग्रीहरू जुटाउँदै आएको छ। आफन्त नभएका र असहाय भएर छटपटिएका जेष्ठ नागरिकहरूले पनि समाजका अन्य व्यक्तिसरह बाच्न पाउने अधिकारको संरक्षणलाई ध्यानमा राख्दै सरकारले आश्रम स्थापना गरेको हो।

‘हामीले बाच्न पाएका छौं। यसमै खुसी छौ’, आफ्नो उमेरको झण्डै ५० वर्ष वृद्धाश्रममा बिताएका लीलाबहादुर राउतले भने– ‘परिवारमा नअटेका र हेपिएका वृद्धहरूको सहारा वृद्धाश्रम नै बनेको छ, मैले वृद्धाश्रममै आफ्नो जीवन गुजारें।’

सुस्त मनस्थितिका कान्छा क्षत्री र विष्णुमाया दम्पतीबाट आश्रममा नै जन्मिएका छोरा अहिले इन्जिनियर भएका छन्। तर, ती दम्पती अझै पनि आश्रममा नै बस्न बाध्य छन्। ‘हामीले जाउ भन्न मिलेन। छोराले आफूसँग जान नमानेको भन्छन्। बोल्न नसक्ने भएकाले वास्तविकता केहो बुझ्न सकिएन’ –वृद्धाश्रमका प्रमुख मनोज बस्नेतको भनाइ थियो।

वृद्धाश्रममा बस्दै आएकी कुमई ओमको भनाइ छ– ‘दुई छोरा जन्माएर पनि सुख पाइनँ’, आँशु पुछ्दै उनले भनिन्– ‘आखिर बुढेसकालको सहारा वृद्धाश्रम नै रहेछ।’ यहाँ बस्ने कतिपयको उमेर १ सय वर्ष पनि पुगेको छ। वृद्धाश्रमा रहेका जेष्ठ नागरिकलाई खुवाउने, नुहाइदिने, लुगा धोइदिने तथा औषधि दिने करिब ३० जना कर्मचारी छन्। कर्मचारीले तालिकाअनुसार खाना खुवाउने गरेको वृद्धाश्रमका कर्मचारी बताउँछन्।

कतिपय जिल्लाका गाविस र नगरपालिकाले वृद्धाश्रममा राख्नका लागि पठाएका रेकर्डहरू पनि छन्। समाज कल्याण केन्द्र वृद्धाश्रम पशुपतिका लेखापाल श्रीविन्द खनालले सरकारले निर्णय गरेर पठाएका जेष्ठ नागरिकहरू वृद्धाश्रममा रहेको बताउनुभयो। उहाँले वृद्धाश्रममा रहेका व्यक्तिहरू जीवित रहुञ्जेलको सबै खर्च वृद्धाश्रमले नै व्यहोर्दै आएको जानकारी दिनुभयो। ‘वृद्धहरूको मृत्यु भएपछि हामीले प्रहरी बोलाएर सनाखत गरी मृत्यु हुनुका कारण खुलाएर दाहसंस्कार पनि गरिदिन्छौं’ –खनालको भनाइ थियो।
(प्रशिक्षार्थी)

प्रतिक्रिया दिनुहोस्