उत्तर कोरियाद्वारा तीनवटा क्षेप्यास्त्र परीक्षण



 

सोल, (एजेन्सी)
उत्तर कोरियाले तीनवटा छोटो दूरीका क्षेप्यास्त्र प्रक्षेपण गरेको संयुक्त राज्य अमेरिकाले शनिबार जनाएको छ। उत्तर कोरियाको गान्गवोन प्रान्तस्थित प्रक्षेपण स्थलबाट प्रक्षेपण गरिएका ती क्षेप्यास्त्र करिब २ सय ५० किमिसम्म उडेको दक्षिण कोरियाली सरकारी अधिकारीहरूले जनाएका थिए।

गत महिना अन्तरमहादेसिय व्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपण गरेयता प्योङयाङले अमेरिका प्रशान्त क्षेत्रको गुआममा क्षेप्यास्त्र आक्रमण गर्ने चेतावनी दिएको थियो। तर यस पछिल्लो क्षेप्यास्त्र परीक्षणले अमेरिका वा गुआमलाई कुनै खतरा नरहेको अमेरिकी सेनाले जनाएको छ।

प्रायशः अमेरिका र दक्षिण कोरियाबीच संयुक्त सैनिक अभ्यासको बेला उत्तरले यसरी क्षेप्यास्त्र परीक्षण गरी शक्ति प्रदर्शन गर्ने गरेको छ। अहिले दक्षिण कोरिया र अमेरिकाका हजारौं फौज यस अभ्यासमा जुटेका छन्। हुन त यस अभ्यासको धेरै भाग कम्प्युटर सिमुलेट हुने गरेको छ।

अमेरिकी प्यासिफिक कमान्डका कमान्डर डेभ बेन्ह्यामले हिजो प्रक्षेपित उत्तर कोरियाको पहिलो र तेस्रो क्षेप्यास्त्र असफल भई पानीमा खसेको र दोस्रो मात्र उडेको बताएका छन्। दोस्रो क्षेप्यास्त्र ३० मिनेटसम्म उडेको थियो। दक्षिण कोरियाले उत्तरबाट हुनसक्ने कुनै पनि खतरालाई ध्यानमा राखेर आफ्नो फौजलाई थप सतर्क बनाइएको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्