पचासी वर्ष पार गरेका वृद्धलाई सम्मान



 

नेपाल समाचारपत्र
पर्वत
कुस्मा नगरपालिका–१४ ले वडाभित्रका वृद्धहरूलाई सम्मान गरेको छ। वडाले आर्थर डाँडाखर्कमा आयोजित एक कार्यक्रमका बीच ८५ वर्ष उमेर पार गरेका वडाका ५१ जना वृद्धवृद्धालाई सम्मान गरेको हो।

उक्त कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर विश्वकर्मा पौडेलले वृद्धहरूलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन्। उनले सम्मान कार्यक्रममा बोल्दै वृद्धहरूलाई तिरस्कार गर्ने संस्कारलाई अन्त्य गर्दै सम्मानित नागरिकका रूपमा स्थापित गराउन सम्मान कार्यक्रम प्रभावकारी हुने बताए। आफ्ना बाबुआमालाई सम्मान गरेर आफूलाई पनि सम्मानको लायक बनाउन सकिने बताउँदै प्रमुख पौडेलले पुराना पुस्ताको अनुभवबाट नयाँ पुस्ताले धेरै सिक्न जरुरी भएको बताए। उनले राज्य पुनर्संरचनापछि स्थानीय तहमा अधिकारहरू आएका कारण अब मुलुकका हरेक क्षेत्रमा परिवर्तनको अनुभव हुँदै जाने बताए।

कार्यक्रममा बोल्दै एमाले पर्वतका उपसचिव गोविन्द पहाडीले कुस्मा नगरपालिकाको मुहार कायपलट गर्न जनप्रतिनिधिले राम्रो काम गर्नुपर्ने बताउँदै एमालेका जनप्रतिनिधिहरू अरूभन्दा उदाहरणीय हुन आग्रह गरे। प्रेस चौतारी नेपालका निवर्तमान वरिष्ठ उपाध्यक्ष दुर्गाप्रसाद शर्माले वृद्ध सम्मान जस्तै नागरिकका हरेक सुखदुःखमा साथ दिन आग्रह गरे। उनले पञ्चकोसी माविमा शुरू गरिएको बालमैत्री शिक्षण विधिलाई सबै वडामा लैजान जनप्रतिनिधिलाई आग्रह गरे।

उक्त कार्यक्रममा कुस्मा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष सुवासचन्द्र पौडेलले कुस्मा नगरपालिकाका प्रमुखले सबै अधिकार आफूलाई निहित गर्ने र निरंकुश बन्ने मनसाय राखेका कारण सबै विकास निर्माणका काम अवरुद्ध हुन पुगेको बताए।

प्रतिक्रिया दिनुहोस्