नेपाललाई फाइनलमा कडा प्रतिद्वन्द्वी भारत



बंगलादेशविरुद्ध गोल गरेपछि खुसी मनाउँदै नेपालका नायक आकाश बुढामगर । तस्वीरः उजोल डंगोल⁄काठमाडौं

 

नेपाल समाचारपत्र
काठमाडौं
राजधानीमा जारी साफ यू–१५ च्याम्पियनसिपअन्तर्गत फाइनलमा नेपाल र भारत भिँड्ने भएका छन्।

शुक्रबार भएका सेमिफाइनल खेलमा घरेलु टोली नेपालले बंगलादेशलाई ४–२ ले हरायो भने भारतले भुटानलाई ३–० ले सहजै पन्छाएको हो। नेपाल र भारतले समूह चरणमा भिडेका थिए। जसमा भारतसँग नेपाल २–१ ले पराजित भएको थियो। फाइनल खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार खेलाइनेछ।

एन्फा मैदानमा भएको सेमिफाइनल खेलमा नेपालको जित दर्ता गराउन आकाश बुढामगरले पहिलो हाफमै दुई गोल गरे। त्यस्तै ब्रीजेश चौधरीले अन्तमा एक गोल थप्दा एक गोल विपक्षी खेलाडी नजमुल विश्वासको आत्मघाती गोल रह्यो। जितपछि नेपालका प्रशिक्षक सुनील श्रेष्ठले भारतविरुद्धको खेलमा भन्दा राम्रो प्रदर्शन गरेको बताए। उनले भने– ‘गत खेलमा हामीहरू दबाबमा थियौं तर यसपटक बंगलादेसले दबाबमा राख्यो। हामीले राम्रो खेल्यौ र पुरस्कार पनि पायौं।
आकाशले खेलको छैटो मिनेटमै गोल गरेर नेपाललाई १–० को अग्रता दिलाएका थिए। उनले ३०औं मिनेटमा अर्को गोल थपेर नेपालको स्थिति बलियो बनाए। यो गोल बंगाली डिफेन्सिफ खुकुलो बनेपछि उनले करिब ६ यार्ड दूरीबाट गोल गरेका थिए। पहिलो हाफमा नेपाल २–० को अग्रतामा रह्यो।

दोस्रो हाफमा नेपाललाई आत्मघाती गोलको उपहार पाएको थियो। नजमुल विश्वासले हेड गर्दा आफ्नै गोलपोस्टमा गोल गरेका थिए। उनको यो गोल ६५औं मिनेटमा हुँदा नेपाल ३–० को अग्रतामा पुगेर खेल एकपक्षीय बन्न गइरहेको थियो। तर खेलमा यसको केही मिनेटपछि ट्विस्ट आयो। एक मिनेटमा दुई गोल गरेर बंगलादशले त्यतिकै हार नमान्ने संकेत गरेको थियो।

७३औं मिनेटमा फोएसाल अहमद फाहिमले फ्रिकिकमा गोल गरेर गोलअन्तर खुम्च्याए। यसको एक मिनेटपछि हबिनुर रहमानले गोल गरेर स्थिति ३–२ मा फर्काएका थिए। तर यसपछि नेपालमाथि दवाव बढ्दै गएको थियो। इन्जुरी समयको चौथो मिनेटमा ब्रिजेशले बंगाली गोलकिपर इमोन हवलादारलाई पन्छाएर सानदार गोल गरेपछि नेपालको जित सुनिश्चित भएको थियो।

यस्तै एपीएफको हल्चोक रंगशालामा भएको सेमिफाइनल खेलमा भारतले भुटानलाई मौका नै दिएन। भारतको लागि २०औं मिनेटमा विक्रम प्रताप सिंहले गोल गरे। यो एक मात्र पहिलो हाफमा भएको गोल थियो। त्यस्तै दोस्रो हाफमा दुई गोल गर्ने क्रममा हरप्रितले ७५औं मिनेटमा र रिडज मेल्भिन डेमोलेले अन्तिममा गोल थपेका थिए।

प्रतिक्रिया दिनुहोस्