बाढीपीडितले राहत पाए



 

विष्णु तिमिल्सिना, बर्दिया
बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर १० महजिदियामा सञ्चारकर्मीको टोलीले स्थलगत भ्रमणपछि ‘बाढी गएको आठौं दिनसम्म राहतकर्मी नपुगेको’ समाचार नेपाल समाचारपत्रलगायत विभिन्न सञ्चारमाध्यमबाट प्रकाशन प्रसारण भएको थियो। सञ्चारमाध्यममा समाचार आएपछि सरकारी तथा गैरसरकारी संस्थाबाट त्यस ठाउँमा चासो राखी स्थलगत भ्रमण गरिएको बुझिएको छ।

मंगलबार उक्त बस्तीका बाढी प्रभावितहरूलाई जिल्ला दैवी प्रकोप उद्धार समितिको समन्वयमा केयर नेपालको सहयोगमा स्थानीय राधाकृष्ण थारू जनसेवा केन्द्र नामक संस्थाले राहत सामग्री वितरण गरेको छ। वितरण गरिएको राहत सामग्रीमा ५३ घरपरिवारका लागि गैरखाद्य सामग्री (लत्ता कपडा, भाँडाकँुडा, ओढने बिछ्उने), सुख्खा खाद्य सामग्री र हाइजिनिक किट (सरसफाइ सामग्री) तथा सुत्केरी तथा गर्भवतीलाई डिग्निटी किट (मर्यादा सामग्री) प्रदान गरिएको छ।

वितरण गरिएको राहत सामग्रीमा प्रति परिवार मर्यादा सामग्रीबाहेक गैरखाद्य सामग्री १० हजार ६ सय ९३ रुपियाँ बराबरका, सुख्खा खाद्य सामग्री ८ सय ३८ रुपियाँ बराबरको, हाइजिनिक किट १ हजार ३ सय ७४ रुपियाँ बराबर गरी जम्मा १२ हजार ९ सय ५ रुपियाँ बराबरको राहत सामग्री र र सुत्केरी तथा गर्भवतीलाई मर्यादा सामग्री १५ जनालाई ३ हजार ८ सय ९० रुपियाँ बराबरको प्रदान गरिएको सो संस्थाका अध्यक्ष दिनेशप्रसाद श्रेष्ठले बताउनुभयो। सो संस्थाले मुक्तिनारायण घाटमा ७८ परिवार र वडा नम्बर १० इन्द्रपुरमा सोही सामग्री वितरण गरिएको हो।

यसै गरी बारबर्दिया नगरपालिका वडा नम्बर ३ का बाढी प्रभावित ३ सय घर परिवारलाई थारू महिला उत्थान केन्द्रले राहत सामग्री वितरण गरेको छ। जिल्ला दैवी प्रकोप उद्धार समिति बर्दिया समन्वय र ड्यान चर्च एडको आर्थिक सहयोगमा थारू महिला उत्थान केन्द्र बर्दियाद्वारा सो राहत सामग्री वितरण गरिएको हो। वितरण गरिएको सामानहरूमा १५ दिनका लागि चामल, दाल, नुन, तेल गरी प्रति घरपरिवार २ हजार ३ सय ७१ रुपियाँ ५० पैसा बराबरको र गैरखाद्य सामग्री ५ हजार ४ सय ४५ रुपियाँ गरी जम्मा ७ हजार ८ सय १६ रुपियाँ ५० पैसा बराबरको राहत सामग्री रहेको छ। उक्त वितरित राहत सामग्री २३ लाख ४४ हजार रुपियाँको रहेको थारू महिला उत्थान केन्द्रकी कार्यकारी निर्देशक प्रिज्मासिंह थारूले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्