मेयरको टिकटको बिषयमा राजपाका कार्यकर्ताबीच झडप



कृष्णउदास खनाल, वीरगन्ज । वीरगन्ज महानगरको मेयर पदको टिकटको विषयमा विवाद हुँदा राष्ट्रिय जनता पार्टीका कार्यकर्ताबीच शुक्रबार वीरगन्जमा झडप भएको छ ।
उक्त पार्टीले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुने औपचारिक निर्णय गरेको दोस्रो दिन  वीरगन्जमा मेयरको उम्मेदवारको विषयमा विवाद हुँदा राजपाका कार्यकर्ताबीच झडप भएको हो ।महानगरपालिकाको मेयर उम्मेदवार छनोटका लागि केन्द्रीय पर्यवेक्षकको उपस्थितिमा शुक्रबार स्थानीय कुमु प्यालेश होटलमा राजपाको बैठक बस्ने कार्यक्रम तय भएको थियो । तर, वीरगन्ज महानगरको मेयर पदका आकांक्षी नेता विमल श्रीवास्तव र राजेशमान सिंहका समर्थक कार्यकर्ताबीच बैठक सुरु नहुदै झडप भएको पाइएको छ ।

बैठकमा केन्द्रीय पर्यवेक्षक विजय गुप्ता, जिल्लामा रहेका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष मण्डलका सदस्य र मेयरका आकांक्षी नेतालाई मात्रै बोलाइएको थियो । तर, मेयरका आकांक्षी श्रीवास्तव र सिंहका समर्थक कार्यकर्ता बैठक सुरु नहुँदै झण्डा र ब्यनार बोकेर दलबलसहित बैठकमा नाराबाजी गर्दै पुगेका थिए। बैठक स्थलमा कार्यकर्ता र समर्थक ठूलो संख्यामा आएपछि बैठक केही समयका लागि स्थगित गर्नु परेको राजपाका केन्द्रीय महासचिव शिव पटेलले जानकारी दिए। वीरगञ्ज माहानगरपालिका, पोखरीयासहितका तीन नगरपालिका र ११ गाउँपालिकाको उम्मेदवारीका लागि आकांक्षीको पहिचानका निम्ति बैठक बोलाइएको थियो।राजपाले निर्वाचनमा भाग लिने औपचारिक निर्णय गर्नु भन्दा पहिलेदेखि नै वीरगन्ज महानगरको मेयरका आकांक्षी श्रीवास्तव र सिंहबीच टिकटका लागि द्वन्द्व चल्दै आएको छ ।

राजपा गठन गर्नु अघि श्रीवास्तव, तत्कालीन तराइ मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का केन्द्रीय कोषाध्यक्ष एंव प्रवक्ता थिए। मेयरका अर्का मुख्य आकांक्षी सिंह भने शरदसिंह भण्डारी नेतृत्वको तत्कालीन राष्ट्रिय मधेस समाजवादी पार्टी (रामसपा)का केन्द्रीय महामन्त्री थिए। ज्ञानेन्द्र शाहको प्रत्यक्ष शासनकाल सहित वीरगन्जमा तीन पटक मेयर बनेका श्रीवास्थवलाई टिकट दिंदा जित सहज रहेको श्रीवास्तव पक्षका नेताहरुको जिकिर रहेको छ । सिंह श्रीवास्वकै राजनीतिक संस्कारमा  हुकिएको पनि पुराना राजनीतिज्ञहरुले टिप्पणी गर्ने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्