सान्चेज टोटनह्याममा आबद्ध



लन्डन, (एजेन्सी)
टोटनह्यामले डिफेन्डर डेविनसन सान्चेजलाई क्लबको रिपोर्टअनुसार ४ करोड २० लाख पाउन्डको रेकर्डमा अनुबन्धित गर्न प्रक्रिया पूरा गरेको छ।

२१ वर्षीय कोलम्बिया सेन्टर ब्याकले आयक्सबाट टोटनह्याममा ६ वर्षका लागि आबद्ध हुने तरखरमा रहेका हुन्। यो क्लबले कुनै पनि खेलाडीलाई गरेको सबैभन्दा बढी रकम पनि हो। यसअघि स्पर्सले न्युक्यासलबाट मौसा सिसोकालाई सन् २०१६ मा ३ करोड पाउन्डमा अनुबन्ध गरेको थियो। सान्चेज प्रिमियर लिग क्लबमा आबद्ध हुने दोस्रो खेलाडी बनेका छन्। क्लबले बुधबार मात्रै गोलकिपर पाउलो गाजानीगालाई आबद्ध गरेको थियो।

सान्चेज डच लिग क्लब आयक्समा एथ्लेटिको नेसनलबाट गत वर्ष मात्रै ५ वर्षका लागि अनुबन्ध भएका थिए। उनले क्लबका लागि ३२ खेलमा सहभागिता जनाएका थिए। उनले गत सिजनको युरोपा लिगमा पनि खेलेका थिए। जसमा म्यानचेस्टर युनाइटेडले उपाधि जित्न आयक्सलाई हराएको थियो। त्यस्तै मेमा उनी डच टोलीका वर्ष खेलाडी पनि घोषित भएका थिए।

प्रतिक्रिया दिनुहोस्