आईएस भिडियोमा ट्रम्पलाई अमेरिकी बालकको चेतावनी



लन्डन (एजेन्सी)
इस्लामिक कट्टरपन्थी समूह इस्लामिक स्टेट (आईएस)ले एक भिडियो जारी गरी उसको कब्जामा रहेको सिरियाको राक्कामा एक अमेरिकी बालकलाई देखाएको छ। १० वर्षीय बालकले आफ्नो नाम युसुफ बताएका छन् र आफू दुई वर्षअगाडि आफ्नी आमासँग आईएसको इलाकामा आएको बताए।

ती बालकले आफ्नो पिता अमेरिकी सैनिक भएको र उनले इराकामा मुजाहिद्दिन विरुद्ध लडाइँ लडेको बताए। उक्त भिडियोलाई अरबी भाषामा अनुवादमा बालकका पिता अमेरिकी सैनिक भएको उल्लेख गरिएको थियो।

युसुफले भने– ‘मैले इस्लामको नामबाहेक पहिला केही जानेको थिइनँ। जब म आफ्नी आमासँग इस्लामिक स्टेटमा आएँ , त्यसपछि सही इस्लाम धर्मका बारेमा सिकें।’

ती बालकको वास्तविक पहिचान प्रष्ट हुन सकेको छैन, किनभने उनले अत्यन्तै राम्रो उच्चारणमा अरबी भाषा बोलेका थिए। युसुफले आईएस शासनमा आफ्नो जीवनको प्रशंसा गरेका छन् र इराकको सिन्जर शहरका ७ वर्षीय केटा अब्दुल्लासँग आफ्नो मित्रताका बारेमा पनि बताए। अब्दुल्लाले सिन्जरलाई मुक्त गरेपछि आईएसले उनलाई त्यहाँ ल्याएको बताए।

अब्दुल्ला अल्पसंख्यक यजिदी समुहसँग सम्बन्ध राख्ने अनुमान गरिएको छ। आईएसले यजिदी समूहका सदस्यहरूको हत्या गरेका थिए र उनीहरूलाई दास बनाएका थिए। भिडियोमा दुबै केटाले आईएसको समर्थनमा बोलेका थिए।

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै एक सन्देश पनि दिएका छन्– यहुदीका कठपुतल ट्रम्पलाई मेरो सन्देश। अल्लाहले तिम्रो हार र हाम्रो जितको वचन दिएका छन्। यो लडाइँ राक्का वा मोसुलमा समाप्त हुनेछैन। यो तिम्रो जमिनमा समाप्त हुनेछ। त्यसैले तयार हुनु, लडाइँ अहिले त शुरू मात्र भएको छ।

भिडियोको अन्त्यमा युसुफ सैनिक वर्दीमा देखिएका थिए र उनले एउटा बन्दुक पनि बोकेका थिए। लडाकूले कसरी हतियार प्रयोग गर्छ उनलाई सिकाइरहेको थियो।

यो भिडियोलाई आईएसद्वारा बच्चाहरूको शोषण गरिरहेको नयाँ प्रमाणका रुपमा लिएको छ। आईएसले नयाँ पिँढीको जिहादी कसरी तयार गरिरहेको छ भन्ने यसले देखाएको विज्ञहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्