ताप्लेजुङ जिससका पदाधिकारीलाई सम्मान



 

रविन भट्टराई, ताप्लेजुङ
ताप्लेजुङ उद्योग वाणिज्य संघले जिल्ला समन्वय समितिका नव–निर्वाचित पदाधिकारीहरूलाई सम्मान गरेको छ। गएको असार १४ गते सम्पन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनपश्चात् साउन १९ सम्पन्न भएको जिल्ला समन्वय समितिको निर्वाचनबाट निर्वाचित प्रमुख, उपप्रमुख र सदस्यहरूलाई उद्योग वाणिज्य संघले बधाई ज्ञापनसहित सम्मान गरेको हो।

बुधबार सदरमुकाम फुङ्लिङस्थित उद्योग वाणिज्य संघको कार्यालयमा एक कार्यक्रमको आयोजना गरी बधाई तथा सम्मान ज्ञापन गर्दै ताप्लेजुङ उद्योग वाणिज्य संघका कार्यावाहक अध्यक्ष दिनेश अधिकारीले निजी क्षेत्रका रूपमा रहेको उद्योग वाणिज्य संघले जनप्रतिनिधिसँग मिलेर काम गर्ने र सहकार्यका लागि आग्रह पनि गर्नुभयो। अधिकारीले जिल्लाको विकास र सार्वजनिक महत्त्वका कार्यमा सधैं हातोमालो गरेर अघि बढ्दा उपयुक्त हुने बताउनुभयो।

यस्तै जिल्ला समन्वय समितिका स्थानीय विकास अधिकारी नरहरि भण्डारीले पनि समन्व समितिका पदाधिकारीलाई बधाई दिँदै राज्यले व्यवस्था गरेको नीति, नियमको कार्यान्वयन र समितिले पाएको जिम्मेवारीलाई जिल्ला समन्वय समिति तथा पदाधिकारीसहितको टिमले थोरै पनि कम हुन नदिने गरी बहन गर्ने बताउनुभयो।

यता जिल्ला समन्वय समितिका नव–निर्वाचित प्रमुख घनेन्द्र मादेनले आपूmहरूलाई स्वागत तथा सम्मान गरेकोमा वाणिज्य संघलाई बधाई दिँदै निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्ने बताउनुभयो।

समन्वय, मूल्यांकन तथा अनुगमन जस्ता जिम्मेवारी जिल्ला समन्वय समितिलाई बताउँदै मादेनले समितिको अधिकार र भूमिकाभित्र रहेको जिल्लाको विकास र समृद्धिमा सार्वजनिक निजी क्षेत्र र जिल्लाबासीको सल्लाह साथै परामर्श लिएर काम गर्ने बताउनुभयो।

नौ सदस्यीय जिल्ला समन्वय समितिको प्रमुखमा मादेन र उपप्रमुखमा देवी नेपाली निर्वाचित हुनुभएको छ भने सदस्यहरूमा लक्ष्मण मेन्याङ्बो, कमला दमाई, चिरेन्द्र लाबुङ, पुण्यप्रसाद खतिवडा, गौरीमाया लिम्बु, रामकुमारी लिम्बु र निमातेन्जी शेर्पा निर्वाचित हुनुभएको छ।

प्रतिक्रिया दिनुहोस्