सशस्त्रको उद्धार अभ्यास



????????????????????????????????????

 

दीपक रिजाल
गत महिनाको अन्तिम साता मुलुकको तराई क्षेत्रले अनपेक्षित विपदको सामना गर्नुपर्यो। अतिवृष्टिका कारण यस भेगका अधिकांश जिल्लाका गाउँबस्ती र शहर डुबानमा परे। हजारौं मानिस बाढी तथा डुबानबाट पीडित बने भने सयौंले अकालमा ज्यान गुमाउनुपर्यो। ठूलो परिमाणमा धनमाल क्षति हुनपुग्यो। झण्डै ३ दिनसम्मको अविरल वर्षपछि खोला, नदीमा आएको बाढी वरपरका मानवबस्तीमा पस्दा त्यसले निम्तियाएको वितण्डताले तराइमा विनाशसँगै वितण्डा नै मच्चायो।

केही दिनअघि परेको भारी वर्षापछि अत्यधिक डुबान प्रभावित पूर्व–पश्चिम लोकमार्गबाट दक्षिणपटिको समथर भू–भाग, जहाँ रहेका अधिकांश एपीएफ इकाइहरु यसबाट अछुतो नरहे तापनि त्यहाँ कार्यरत अन्य सुरक्षा निकायका साथै सशस्त्र प्रहरी बलले पनि उद्धारका लागि गरेको पहललाई सबैले प्रशंसा गरेका छन्। मुसलधारे वर्षाकै बीच आफूसँग उपलब्ध साधन स्रोत र जनशक्तिको अधिकतम परिचालन गर्दै तत्काल बाढी तथा डुबान प्रभावित क्षेत्रमा पीडितको सेवा, सुरक्षा, उद्धार र राहत व्यवस्थापनमा समेत एपीएफले आफ्नो  व्यावसायिकता देखाएको छ।

डुबान प्रभावित जिल्लाहरुमा परिचालित सशस्त्र प्रहरी बल नेपालको करिब ७ हजार जनशक्तिले पीडितको उद्धारसँगै राहत वितरणमा समेत केन्द्रित रहेर काम गरिसकेको छ। बाढी र डुबानले गरेको क्षतिको परिमाण निकै ठूलो मात्रामा रहन पुग्यो। उद्धार कार्यमा संलग्नहरुले बाढी प्रभावित क्षेत्रबाट करिब ४७ हजार पीडितको सकुशल उद्धार गर्नुका साथै बाढीमा परी मृत्यु भएका र बेपत्ताहरुमध्ये भदौ ६ गतेसम्म १ सय ४३ जनाको शव फेला परेको छ भने २९ जना अझै बेपत्ता छन्।

ती ठाउँहरुमा आधारभूत प्रशिक्षण लिएकादेखि एड्भान्स किसिमको विपद् व्यवस्थापन तालिम प्राप्त दक्ष जनशक्तिलाई समेत परिचालन गरिएको सशस्त्र प्रहरी बलले प्रभावकारी उद्धार कार्यमा सम्पूर्ण ध्यान केन्द्रित गरेको दाबी गरेको छ। सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजु अर्यालले विपद् व्यवस्थापनमा एपीएफले गरेको कामका बारेमा स्वदेशमा मात्र होइन विदेशमा समेत यसले प्रशंसा पाएको बताउनुभयो।

यससँगै विस्थापितहरुको जिउधनको सुरक्षा र गाँसबासलाई पनि उत्तिकै महत्त्व दिँदै सम्बन्धित सवै पक्षहरुसँगको समन्वय र सहकार्यमा एपीएफ टोलीले उच्चस्तरबाट जिम्मेवारी निर्वाह गरिरहेको प्रवक्ता अर्याल बताउनुहुन्छ।
उद्धारसँगै उपचार उद्धार कार्यमा सबैभन्दा पहिलो सर्त विपद्मा परेकाहरुलाई सकुशल बचाउन सक्नु नै हो। तराईका विभिन्न जिल्लाका बाढी प्रभावित स्थानमा उद्धार कार्यका साथसाथै पीडितको उपचारमा समेत एपीएफका चिकित्सक खटिएका छन्। नेपाल एपीएफ अस्पताल बलम्बुबाट चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुले बाढी तथा डुबानले क्षति पुर्याएका ठाउँहरुमा पुगेर स्वास्थ्य सेवा प्रदान गरेको छ। सप्तरी, मोरङ, सुनसरी, महोत्तरी, बाँके, बर्दियालगायतका बाढी प्रभावित जिल्लाका विभिन्न स्थानहरुमा परिचालित एपीएफ अस्पतालका स्वास्थ्यकर्मीहरुले कयौंको स्वास्थ्य उपचार र निःशुल्क औषधि वितरण गरेका थिए।

विपद् व्यवस्थापन कार्यका लागि दक्ष जनशक्ति उत्पादन गर्ने सोचका साथ २०६६ सालमै विपद् उद्धारसम्बन्धी पहिलो तालिम सञ्चालन गरेर बलले दक्ष जनशक्ति उत्पादनको शुरुआत गरेको थियो। पछि २०६८ सालमा चितवनको कुरिनटारमा विपद् व्यवस्थापन तालिम केन्द्र नामाकरण गरेर सशस्त्र प्रहरी बल नेपालले सो तालिम केन्द्रबाट आफ्ना कर्मचारीलाई विपद् व्यवस्थापनसम्बन्धी उन्नत खालको प्रशिक्षण प्रदान गर्दै आएको छ। आधारभूत किसिमको प्रशिक्षण सबै सशस्त्र प्रहरी कर्मचारीका लागि अनिवार्य छ भने एड्भान्स खालको तालिम उच्च शारीरिक सहिष्णुता भएका अधिकृत जवानहरुलाई दिने गरिएको सो तालिम केन्द्रका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक हरिशंकर बुढाथोकी बताउनुहुन्छ।

त्यहाँबाट उत्पादित जनशक्ति अहिले बाढी प्रभावित स्थानहरुमा खटिएर सक्रियताका साथ उद्धार कार्यमा जुटिरहेको पनि उहाँले जानकारी दिनुभयो। सशस्त्र प्रहरी बलमा हालसम्म १ हजार १ सय २० जना विपद् व्यवस्थापन तालिमप्राप्त दक्ष जनशक्ति रहेका छन् भने फायर फाइटिङ ५७ जना, आकस्मिक सेवा ५७ जना र केमिकल न्युक्लियर बायोलोजिकल रेडियोलोजिकल तालिम गरेका ४२ जना जनशक्ति रहेका छन्। त्यस्तै बंगलादेशबाट एपीएफका २२ जना अधिकृत जवानले गोताखोर तालिम हासिल गरिसकेका छन्। यस्ता तालिमप्राप्त जनशक्ति उद्धार कार्यमा अब्बल सावित भएका छन्। चाहे त्यो भूकम्पको बेला होस् वा त्रिशूली नदीमा सडक दुर्घटनाका बेला होस् अथवा सेतीको खोंजमा उद्धार गर्न किन नहोस्, नारायणी, भेरी, राप्तीलगायतका ठूला नदीकिनारामा भएका सडक दुर्घटना, इनार, ताल आदिमा भएका दुर्घटनाको उद्धारका लागि तालिम केन्द्रबाट उत्पादित जनशक्ति परिचालित हुने गरेको एसएसपी बुढाथोकी बताउनुहुन्छ।

तराईको बाढी प्रभावित तथा डुबानमा परेका ठाउँहरुमा उद्धार कार्यका लागि १४ वटा र्याफ्टिङ बोट र ५ सय वटा लाइफ ज्याकेटलगायत अन्य उद्धार सामग्रीको प्रयोग गरिरहेको एपीएफले पीडितहरुको उद्धारमा सबै खालको सामथ्र्य खर्चिरहेको पनि उहाँले बताउनुभयो ।

काठमाडौं उपत्यकासहित देशका ७ स्थानमा बलले ५०–५० जनाको विपद् व्यवस्थापन तालिम प्राप्त एपीएफ टोली तैनाथ गरिएको छ। जिल्लास्तरमा समेत एपीएफको विपद् व्यवस्थापन जनशक्ति रहेको छ। आवश्यक उद्धार सामग्रीका साथ २४सै घण्टा तयारी अवस्थामा रहने विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी कर्मचारीहरु सूचना पाउने बित्तिकै कार्यक्षेत्रमा खटिने गरेको सशस्त्र प्रहरी प्रवक्ता एसएसपी अर्यालले बताउनुभयो ।

उद्धारमा सक्रियता मुलुकमा शान्ति सुरक्षा अमनचनयनका साथै विपद् व्यवस्थापनमा समेत सो संगठनले गरेको कामले भने राम्रै प्रशंसा पनि पाउने गरेको छ। हालैको भीषण वर्षापछि आएको बाढी र त्यसले उत्पन्न गरेको जल उत्पन्न प्रकोप तथा डुबानमा परी बिचल्लीमा परेका मानिसहरुको सकुशल उद्धार एवं राहत व्यवस्थापन, वितरण, एक ठाँउबाट अर्को स्थानमा राहत पुर्याउनेलगायतका कार्य गरिरहेको एपीएफ टोली दुई वर्षअघि गएको विनाशकारी भूकम्पका बेला भग्नावशेषमा पुरिएका, च्यापिएका, घाइते भएका गरी ३ सय ४५ जनाको साहसिक ढंगबाट जीवितै उद्धार गरेर राष्ट्रिय एवं अन्तर्राष्ट्रियरूपमै प्रशंसित भएको थियो।

चितवनको भरतपुरमा दुई जना व्यक्तिको इनारमा डुबेर मृत्यु भएपछि शव निकाल्न स्थानीयस्तरको लामो प्रयास सफल हुन नसकेपछि कुरिनटारको विपद् व्यवस्थापन तालिम प्राप्त एपीएफ टोलीलाई खबर गरियो। शव निकाल्ने काममा सो तालिम केन्द्रका जवान डिल्ली भट्टराईलगायतको एपीएफ टोलीको योगदान रहेको थियो। बंगलादेशबाट गोताखोर तालिम गरेका भट्टराई सशस्त्र प्रहरी बलको गोताखोरहरुमा उत्कृष्ट रहेका छन्। उनीसँग बंगलादेशमा पानीमुनि १ सय ८० फिट तलसम्म पुगेर उद्धार अभ्यास गरेको अनुभव छ।

भट्टराईसहितको सो टालीले खोजी तथा उद्धारसम्बन्धी विभिन्न मेथड अपनाएर इनारबाट दुवै शव निकालेपछि त्यहाँ भेलाजम्मा भएका सर्वसाधारणले सशस्त्र प्रहरीको तारिफ गरेका थिए। त्यस्तै सेती नदीको खोंचमा दुई प्रेम जोडीले हामफालेर आत्महत्या गरेपछि उनीहरुको शव निकाल्न त्यहाँ उपलब्ध सुरक्षाकर्मीले नसकेपछि एपीएफकै विपद् व्यवस्थापन तालिम गरेको टोलीले नै सफलता पाएको थियो।

यी दुवै प्रतिनिधि घटना यसै वर्ष घटेका हुन। सुनकोशी नदीमा गएको पहिरो, सेती नदीको प्रलय, जाजरकोट जिल्लास्थित भेरी नदीको बस दुर्घटना, फेवाताल र नारायणी नदी किनारमा प्याराग्लाइडिङ गर्ने क्रममा भएका दुर्घटना, त्रिशूली नदीकिनारलगायत विभिन्न सडक दुर्घटना आदिमा सशस्त्र प्रहरी बलका उद्धारकले निर्वाह गरेको भूमिका र यस्ता केही उदाहरण नै काफी छन् एपीएफको विपद् व्यवस्थापनको सक्रियताले देखाएको छ। यसै सन्र्दभमा सशस्त्र प्रहरी बलले कुरिनटारमा हालै उद्धार अभ्याससमेत आयोजना गरेको थियो।

प्रतिक्रिया दिनुहोस्