जोन्सन बेबी पाउडरबाट क्यान्सर ! नेपालमा पनि प्रयोगकर्ता आत्तिए



 

काठमाडौं, (एजेन्सी)
अमेरिकी बहुराष्ट्रिय कम्पनी जोन्सन एन्ड जोन्सनद्वारा उत्पादित बेबी पाउडरको प्रयोगबाट क्यान्सर भएको कुरा पुष्टि भएपछि विश्वभरि नै त्यसले सनसनी मच्चाएको छ। सो पाउडर नेपालमा पनि बालबालिकाहरूका लागि प्रयोग गर्ने गरिन्छ।

अमेरिकामा लगातार प्रयोगबाट एक महिलाको डिम्बाशय क्यान्सर भएको पुष्टि भएपछि पाउडर प्रयोगकर्तामा त्रास फैलिएको हो। मंगलबार र बुधबार अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रकाशन र प्रसारण गरेको यो घटना अमेरिकाको क्यालिफोर्निया राज्यको हो। क्यालिफोर्नियाकी ६३ वर्षीया इभा इचेभर्रियाले ११ वर्षको उमेरदेखि उक्त कम्पनीको बेबी पाउडर प्रयोग गर्दै आइरहेकी थिइन्।

सोही पाउडरको प्रयोगबाट उनलाई डिम्बाशयको क्यान्सर भएको भन्दै गत सोमबार लसएन्जेलसको एक अदालतले जोन्सन एन्ड जोन्सन कम्पनीलाई ४१ करोड ७ लाख अमेरिकी डलर क्षतिपूर्ति पीडित महिलालाई तिर्न आदेश दिएको थियो। अहिलेसम्मकै सबैभन्दा ठूलो क्षतिपूर्ति भनि दाबी गरिएको यो रकम ४२ अर्ब ७५ करोड ९६ लाख ४७ हजार नेपाली रुपियाँ बराबर हुन्छ।

काछ वरपर सुख्खा र स्वच्छ बनाइराख्नका लागि इचेभर्रियाले नियमितरूपमा कम्पनीको बेबी पाउडर प्रयोग गर्दै आएकी थिइन्। सन् १९५० को दशकदेखि २०१६ सम्म लगातार उक्त पाउडर प्रयोग गरेकी इभामा सन् २००७ मा डिम्बाशयको क्यान्सर भएको पुष्टि भएको थियो। नेपालमा पनि सो पाउडरको अत्यधिक प्रयोग हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्