मधेसमा हिमानीको जयजयकार



 

कृष्णउदास खनाल
वीरगन्ज
पूर्वयुवराज्ञी बाढीपीडितको चहर्याएको घाउमा मल्हम लगाउनका लागि मध्यतराईमा झर्नुभएको छ। उहाँले बुधबार बारा र पर्साका बाढीपीडितलाई राहत वितरण गर्नुभएको छ। हिमानी ट्रस्टमार्फत उहाँले राहत वितरण गर्नुभएको हो। बारा र पर्साका बाढीपिडितलाई राहत वितरण गर्न पूर्वयुवराज्ञी हिमानी शाह सिमरा हुँदै वीरगन्जको ग्रामीण भेगमा पुगी पीडितलाई राहत वितरण गर्नुभएको छ।

हिमानीले पर्साको पोखरिया नगरपालिकासहितका विभिन्न स्थानका पीडितहरूलाई राहत वितरण गर्नुभएको थियो। उहाँले २ सय ५० घरधुरीलाई त्रिपाल, चामल, दाल, तेललगायतका खाद्यान्न वितरण गर्नुभएको उहाँकी स्वकीय सचिव स्मिता सिंहले जानकारी दिनुभयो। पर्साको २ सय ५० घरधुरीलाई राहत वितरण गरेर उहाँ बुधबार नै बाराको विभिन्न स्थानमा राहत वितरणमा पुग्नुभएको सिंहले जानकारी दिनुभयो।

उहाँले बाराको भलुही चोकमा २ सय ५० घरधुरीलाई राहत वितरण गर्नुभएको छ। पूर्वराजपरिवारका सदस्य दुःख परेको बेलामा घर आंगनमा नै आएर राहत वितरण गरेको भन्दै स्थानीयहरूले हिमानीसहित राजसंस्थाको पनि जयजयकार गरेका थिए।

उनीहरूले नेताहरूले भन्दा आफूहरूलाई राजाको सदस्यबाट नै सहयोग भएको भन्दै हिमानीको प्रशंसासमेत गरेका थिए। विशेष गरी साउनको अन्तिम हप्ता परेको अविरल वर्षाका कारण बारा र पर्साका नागरिकहरू बाढीबाट प्रत्यक्ष पीडित बनेका हुन्।

प्रतिक्रिया दिनुहोस्