कपाल काट्ने घटनाले महोत्तरी पनि त्रसित



लक्ष्मी कुमार साह, महोत्तरी ।
महोत्तरीको सिरसियामा एक महिलाको टाउकोको बीचको कपाल काटिएको छ । मटिहानी नगरपालिका वडा नं. २ सिरसिया टोल निवासी ५२ वर्षीया सुनिता देवी रायको टाउकोको बीचको कपाल काटिएको हो ।

यस घटनालाई लिएर सिरसिया गाउँलगायत वरिपरिका गाउँहरुसमेत त्रसित भएका छन् । स्थानियवासीहरु डरले त्रसित भएपछि आफ्नो घरको गेटमा कागती लशुन, खुर्सानी, निमको पत्ता, सुई समेत बाँधेका छन् ।

पीडित रायले शुक्रबार रातको समयमा घरमै सुतिरहेको बेला टाउकोको बीचको कपाल काटिएको बताईन् ।

उनी थप्छिन्– आत्माको रुपमा, रुप परिवर्तन गरेर कपाल काट्ने दावी समेत गरिन् । सो घटनालाई लिएर अस्पतालमा चेकजाँच समेत गराएको र चिकित्सकले औषधि दिएको भनिन् । यति बेला भने पीडितको टाउको दुख्ने, रिंगाटा लाग्ने, डराउने, निन्द्रा नलाग्ने जस्ता आफूमाथि भईरहेको जानकारी गराईन् ।

यता उनका श्रीमान् भरत रायले घटनाका दिन आफू सुतेको बेलामा एक्कासी श्रीमतिको डराएको आवाज सुनि ब्यूझेपछि कपाल काटेको दृश्य हेर्दा चकित समेत परे । सो घटना पश्चात विगत तीन चार दिनदेखि आफूहरु डरले सुत्न समेत नसकेको बताए ।

यता जिल्ला प्रहरी कार्यालय महोत्तरीले भने कपाल काट्ने संलग्नहरुको कुनै प्रकारको जानकारी प्राप्त नभएका बताउँदै खोजी कार्य जारी रहेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्