पूर्वी पहाडको नदि किनारको बास, बर्खा भरी त्रास



रविन भट्टराई,ताप्लेजुङ

ठाडा र खहरे खोला धेरै रहेका पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर, तेह्रथुम लगायतका जिल्लाका नदी आसपासका अधिकाँस बस्ती बाढिको जोखिममा पर्ने गरेको पाइएको छ ।

दोबाटोमा बटुवालाई खाजा खुवाउने उद्देश्य देखि मेला बजार र हाट लाग्न थालेपछि बसेका बस्ती आसपासमा रहेको खोलाहरुले बस्ती रहेको भाग कटान गर्न थाले पछि यी क्षेत्र जोखिममा परेका हुन् ।

तमोर नदी किनारमा मात्रै ताप्लेजुङ, पाँचथर, तेह्रथुम, धनकुटामा दर्जन भन्दा बढी बस्ती रहेका छन् । काबेली, हेवा, मेवा, मैवा जस्ता नदी किनारमा बनाईएका बस्ति समेत बाढिको जोखिमा रहेको जिल्ला भु–संरक्षण कार्यालय ताप्लेजुङले जनाएको छ । पछिल्लो समय अत्याधिक वर्षा र पहिरोका कारण नदिमा निरन्तर वाढि आउँदा नदि किनारका बस्ती जोखिममा रहेका हुन् ।

ताप्लेजुङको दुईवटा ठुला बजार दोभान र सिवा नदि किनारमानै रहेको छ भने केहि गाउँपालिकाको केन्द्र समेत नदि किनारमा रहेकाले बाढि आए जोखिम बढि हुने विज्ञहरुको भनाई छ । अघिल्लो वर्ष तमोर नदिमा आएको बाढिले सदरमुकाम फुङ्लिङ जोड्ने मोटरेबल पुल बगाएपछि र मेवाको बाढीले बजारको तल्लोपट्टिको भाग कटान गरेपछि ठुलो पानी पर्नसाथ दोभान बजारका स्थानिय बाढि आउने डरले जागराम बने गरेको स्थानिय व्यापारी टंक खतिवडाले बताए ।

हिउँदको समयमा नदि किनारको बस्तिमा बस्न रमाईलो भए पनि वर्षातको समयमा अधिकाँस रात जागराम बस्नुपर्ने बाध्यता रहेको खतिवडाले बताए । ताप्लेजुङका नदि किनारमा २०२० को बाढीले बगर बनाएको क्षेत्रलाई बिराएर बढि बस्तिहरु निर्माण भएको जानकारहरु बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्