टोटानह्यामविरुद्ध चेल्सीको जित



 

लन्डन, (एजेन्सी)
इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियन चेल्सी विजयी भएको छ।

पहिलो खेलमा बर्नलेसँग अप्रत्यासित हार व्यहोरेको चेल्सीले दोस्रो खेलमा टोटनह्याम हट्सपरलाई उसैको मैदानमा २–१ ले हराएको हो। ऐतिहासिक वेम्बले रंगशालामा भएको खेलमा चेल्सीलाई जित दिलाउन स्पेनिस डिफेन्डर मार्कस अलोन्सोले दुवै गोल गरेका थिए। चेल्सीले खेल सकिन २ मिनेट बाँकी छँदा टोटनह्यामविरुद्ध निर्णायक गोल गरेको थियो। ओलोन्सोले खेलको २४औं मिनेटमा फ्रिकिकमार्फत् गोल गर्दै चेल्सीलाई शुरूआती अग्रता दिलाएका थिए।

तर, खेलको ८२औं मिनेटमा चेल्सीकै मिचि बात्सुईले आत्मघाती गोल गरेपछि टोटनह्याम खेलमा फर्केको थियो। इरिक्सनको फ्रिकिकमा मिचि बाट्सुयीले हेडमार्फत् बललाई आफ्नै गोलपोस्टको दिशा दिएका थिए। तर, उक्त बराबरी धेरै समय भने टिकेन। खेलको ८८औं मिनेटमा चेल्सीका फुलब्याक अलोन्साले हुगो लोरिसलाई बिट गर्दै गरेको गोल खेलको निर्णायक सावित बन्यो। चेल्सीको यो दोस्रो खेलमा पहिलो जित हो भने टोटेनह्यामले पहिलो खेलमा जित हासिल गरेको थियो।

बार्सिलोना र रियलको सुखद शुरूआत
रियल बेटिसलाई हराउँदै बार्सिलोनाले जारी सिजनको ला लिगामा सुखद शुरूआत गरेको छ।

बार्सिलोनाको मैदान क्याम्प नोउमा भएको उक्त खेलमा घरेलु टोलीले रियल बेटिसलाई २–० गोल अन्तरले पराजित गरेको हो। बार्सिलोनाको जितमा खेलको ३६औं मिनेटमा रियल बेटिसका एलिन टोस्काले आत्मघाती गोलको उपहार दिएका थिए। त्यसको ३ मिनेटपछि नै बार्सिलोनाले अग्रता दोब्बर पार्यो। डेलोफ्यूले दिएको पास सदुपयोग गर्दै सर्जियो रोबर्टोले बार्सिलोनाको तर्फबाट दोस्रो गोल गरेका थिए।

उक्त खेलमा लियोनेल मेसीले भने तीन पटकसम्म गोल गर्ने मौकालाई चुकाएका थिए। उनले खेलको ३५औं, ६०औं र ८१औं मिनेटमा गरी तीन पटक गोलका लागि प्रहार गरेको बल गोलपोस्टको बारमा लागेर विफल बनेको थियो।

ला लिगाअन्तर्गत आइतबारै भएको अर्को खेलमा रियल मेड्रिडले पनि ला लिगा सिजनको पहिलो खेलमा डिपोर्टिभो ला कोरुनालाई ३–० ले पराजित गर्यो।

रियलको जितमा गेरेथ बेलले खेलको २०औं मिनेटमा गोलको खाता खोलेका थिए। त्यसको ७ मिनेट नबित्दै कासेमिरोले गोल गर्दै रियलको अग्रता दोब्बर पारे। यस्तै खेलको ६२औं मिनेटमा क्रुसले थप १ गोल गरेपछि रियलले ३–० को जित सुनिश्चित गरे। खेलको इन्जुरी समयमा भने सर्जियो रामोसले दोस्रो पहेंलो कार्ड देखेपछि रियल १० जनामा सीमित बनेको थियो। यसै गरी अर्को खेलमा एथ्लेटिको बिल्बाओ र गेटाफेले गोलरहित बराबरी खेल्दै अंक बाँडे।

पीएसजीको जितमा नेयमार नायक
फ्रेन्च लिग वानअन्तर्गत आइतबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो गोल अन्तरको जित निकाल्दा नेयमार नायक बने। बार्सिलोनाका पूर्वस्टार नेयमारले २ गोलको योगदान दिएसँगै पीएसजीले टोलुसेलाई ६–२ को गोलअन्तरले पराजित गरेको हो। तर, खेलमा शुरूआती अग्रता भने टोलुसेले लिएको थियो।

इंग्लिस क्लब बोर्नमाउथबाट लोनमा गएका म्याक्स ग्रेडालले खेलको १८औं मिनेटमा गोल गर्दै टोलुसेलाई अग्रता दिलाएका थिए। तर, नेयमारले ३१औं मिनेटमा गोल गरेपछि पीएसजी खेलमा फर्कियो। त्यसपछि एड्रियन यार्बियोटले ३५औं मिनेटमा गोल गर्दै पहिलो हाफसम्म घरेलु टोलीलाई २–१ ले अगाडि राखेका थिए।

दोस्रो हाफमा भने भेराटीले दोहोरो पहेंलो कार्ड देखेपछि पीएसजी १० खेलाडीमा सीमित बन्यो। १० जनामा खुम्चिए पनि पीएसजीको गोल गर्ने क्षमतामा भने केही असर परेन। खेलको ६९औं मिनेटमा एडिसन काभानीले पेनाल्टीमा गोल गरेपछि पीएसजीको गोल संख्या ३ पुग्यो। यता टोलुसेका लागि क्रिस्टोफर जुलियनले खेलको ७८औं मिनेटमा गोल गर्दै खेलमा फर्कने छाँटकाँट देखाएका थिए।

तर, जेभियर पास्टोरेले खेलको ८२औं र लेभिन कुर्जावाले ८४औं मिनेटमा गोल गर्दै घरेलु टोलीलाई ५–२ को बलियो स्थितिमा पुर्याए। यसै गरी खेलमा थपिएको इन्जुरी समयमा नेयमारले व्यक्तिगत दोस्रो गोल गरेपछि पीएसजीको आधा दर्जन गोल सम्भव भयो। जितसँगै नेयमारले २ खेलमा आफ्नो गोलसंख्या ३ पुर्याएका छन्। तीन खेलमा शतप्रतिशत नतिजासहित पीएसजी फ्रेन्च लिग वानको अंक तालिकाको शीर्षस्थानमा छ।

प्रतिक्रिया दिनुहोस्