जुम्लाका अस्थायी रुट दुर्घटनाको उच्च जोखिममा



 

नन्दराम जैसी, जुम्ला
म्लाको उर्थुचौतारामा दैनिकजसो बिहानैदेखि सवारी यात्रुको घुइँचो लाग्ने गर्दछ। पातारासी गाउँपालिकाको साविकका छुमचौर, डिल्लीचौर र पट्माराबासी सवारी यात्राको पर्खाइमा बिहानैदेखि उर्थुचौतारामा पर्खिरहेका हुन्छन्। तर सहज यात्रा भने उनीहरूले कहिल्यै गर्न पाएका छैनन्। सडक सञ्जालले भरर्खरै छोएको पातारासी गाउँपालिकामा अहिले सामान ढुवानीका लागि ट्याक्टरहरू सञ्चालन हँुदै आएका छन्। जसमध्ये जुम्ला सदरमुकामदेखि उर्थुचौतारा सडक खण्डलाई अहिले अस्थायी रुट कायम गरिएको छ। करिब १० किलोमिटर अस्थायी रुट कायम गरिएको उक्त सडक खण्डमा केही महिना यता २⁄३ वटा जिपहरू सञ्चालन हुँदै आएका छन्।

पातारासी गाउँपालिकाको विभिन्न गाउँहरूबाट सदरमुकाम झर्ने यात्रुहरू सोही सडक खण्डमा यात्राका लागि दैनिक उर्थुचौतारामा पर्खिरहेका हुन्छन्। तर उनीहरूलाई भने सवारी यात्रा गर्न त्यति सहज छैन। कच्ची, हिलाम्य सडकमा दिनदिनै यात्रु डरैडरले यात्रा गर्न बाध्य छन्। भने अर्कोतिर सदरमुकामदेखि उर्थुचौतारा सडक खण्डमा सञ्चालन भएका सवारीहरू पनि जोखिम अवस्थामा छन्। थोरै जिप सञ्चालन भएकाले सदरमुकामबाट उर्थुमा बल्लबल्ल पुग्ने जिपहरू क्षमताभन्दा अत्यधिक बढी यात्रुहरू बोकेर फर्किन्छन्। त्यहाँ जिपहरू पुगेपछि झट्ट हेर्दा यात्रुको घुइँचोले जिपले यात्रुलाई बोक्दै छ कि यात्रुले जिप बोक्दै छन् भन्ने छुट्याउन सकिँदैन। त्यसरी सञ्चालित सवारी र यात्रुहरू दुवै दुर्घटनाको उच्च जोखिममा देखिन्छन्।

यात्रु टासी लामाले भन्नुभयो– ‘पहिले छुमचौरबाट बजार जाँदा हिँडेरै ३ घण्टाले पुगिन्थ्यो।’ अहिले सवारीको पर्खाइमा बस्दा झन् ४⁄५ घण्टा समय लाग्छ। यसले गर्दा यकातिर समयको बर्बाद भएको छ भने अर्कोतिर दुर्घटनाको जोखिम मोलेका छौं। ‘त्यस सडक खण्डमा राज्यले सवारी सञ्चालन अनुमति नदिनु पथ्र्यो, होइन भने सडक र सवारी व्यवस्थित हुनुपर्छ’ –उहाँले भन्नुभयो। जिप सेवा सञ्चालन भएपछि हिँड्ने बानी हराउँदै गएको भन्दै अल्छीपन सिर्जना भएको डिल्लीचौरबासी सपना बोहोराको भनाइ छ। उहाँले भन्नुभयो– ‘अहिलेको जसरी जिप सेवा सञ्चालन भएमा एक दिन अवश्य ठूलो दुर्घटना भोग्नुपर्छ तर त्यसभन्दा पहिले राज्यले निगरानी राख्नुपर्छ। जिप मालिकले सेवाभन्दा फाइदाको दृष्टिले हेरिरहेका छन्। हामी यात्रा गर्न बाध्य छौं। जिप चढ्नकै लागि मनपरी भाडा तिर्न तिर्नुपर्दछ।’ त्यो पनि जिप नपाएपछि पावर लगाउने चलन छ। ‘नागरिकको ज्यानसँग ख्यालबाड गरी यसरी जिप सञ्चालन हुन दिनु राज्यको चरम लापरबाही हो’ –उहाँले भन्नुभयो।

यता कर्णाली अञ्चल यातायात व्यवस्था कार्यालयले हाल जिप सञ्चालन भइरहेको सडकखण्डलाई अस्थायी रुट कायम गरे पनि के कति सवारी कसरी सञ्चालन भइरहेका छन् भन्ने विषयमा कुनै जानकारी नभएको जनाएको छ। यस विषयमा जिल्ला प्रशासन कार्यालय र जिल्ला ट्राफिक कार्यालय भने बेखबर रहेका छन्।

प्रतिक्रिया दिनुहोस्