गुरुङ फिल्म एसोसियसनमा घले



 

लमजुङ, (नेस)। गुरुङ फिल्म एसोसियसनको जिल्ला अध्यक्षमा टीकाराम घले निर्विरोध चयन भएका छन्। जिफानका केन्द्रीय कार्यवाहक अध्यक्ष राजेश गुरुङको प्रमुख आतिथ्यता यहाँ सम्पन्न प्रथम अधिवेशनले घलेलाई अध्यक्षमा चयन गरेको हो।

अधिवेशनको शुभारम्भ गर्दै प्रमुख आतिथि गुरुङले पछिल्लो समय गुरुङ फिल्मको नाउँमा नेपाली भाषा प्रयोग गर्ने फिल्म निर्माण गरिएकोमा दुःख व्यक्त गरे। उनले गुरुङ फिल्म भनिसकेपछि त्यसमा कम्तीमा पनि ७० प्रतिशत गुरुङ भाषा हुनुपर्नेमा जोड दिए। यस कार्यको शुरुका दिनमा गुरुङ चलचित्र निर्माण गर्नु, संस्था स्थापना गर्नु निकै चुनौती रहेको स्मरण गर्दै विगतको त्यसको तुलनमा अहिले धेरै सहज भएको उनले बताए।

कार्यक्रममा जिफानका केन्द्रीय सल्लाहकार कृष्ण कुमार गुरुङ, केन्द्रीय कार्यवाहक महासचिव गमन घले, केन्द्र्रीय सदस्य डीबी गुरुङ, जक्सन डटकमका भूपाल गुरुङ, सल्लाहकार खेमज गुरुङलगायतले शुभकामना व्यक्त गरेका थिए। उनीहरुले गुरुङ फिल्म पनि अन्य फिल्मसँग प्रतिस्पर्धा गर्ने गरी निर्माण गर्न सुझाव दिए। सो अवसरमा गठित नयाँ कार्यसमितिको अध्यक्षमा टीकाराम घले, उपाध्यक्षमा नर्दिमा गुरुङ, सचिवमा खेमराज घले, सहसचिवमा विष्णु गुरुङ कोषाध्यक्षयमा खुसी गुरुङ, सहकोषाध्यक्षमा भारती घले चयन भएका छन्। त्यसै गरी, कार्यसममितिको सदस्यमा सोमकुमारी गुरुङ, तीर्थ गुरुङ, कमल गुरुङ, भीम गुरुङ, संगीता गुरुङ, देउता गुरुङ र पुनम गुरुङ चयन भएका छन्। जिफानका अध्यक्ष गजेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन खेमराज घलेले गरेका थिए।

प्रतिक्रिया दिनुहोस्