मोडलिङमा मेहनत गरेपछि दाम आफैं पछि लाग्छः रश्मी तामाङ



 

नेपाली लोक दोहोरी क्षेत्रमा छोटो समयमै चर्चा कमाउन सफल मोडल हुन् नुवाकोटकी रश्मी तामाङ। उनले हालसम्म ७ सयभन्दा धेरै लोकदोहोरी, दोहोरी तथा लोकपप गीतहरुमा अभिनय तथा मोडलिङ गरिसकेकी छिन्। सोल्टीले आँखा मार्यो, आहा मेरो मायालाई, मलाई ह्यान्डसम केटा चाहिन्छ, कालेमा काले, आज गाउँमालगायतका गीतको म्युजिक भिडियो उनले अभिनय गरेका चर्चित भिडियो हुन्। कार्यक्रमका लागि हङकङ, जापान, कोरिया, स्विजरल्यान्ड, पेरिसलगायतका युरोप र खाडी मुलुकको भ्रमण गरिसकेकी उनले सुन्दरादेवी म्युजिक अवार्डको पहिलो दोस्रो दुवै संस्करणमा बेस्ट मोडलको अवार्ड चुमेकी छिन् भने केहीअघि मात्र सम्पन्न सुन्दरादेवी म्युजिक अवार्डमा नगद ३३ हजार ३ सय ३३ रुपियाँ नदगसहित सम्मानित भएकी छिन्। यसका साथै उनले उत्कृष्ट अभिनय गरेर चौंथो र पाँचौं राष्ट्रिय लोकदोहोरी अवार्ड, बिन्ध्यवासिनी म्युजिक अवार्ड २०७२, पाँचौं राष्ट्रिय राप्ती म्युजिक अवार्डलगायतका थुप्रै अवार्ड चुमेकी छिन्। उनै रश्मी तामाङसँग गरिएको ५ प्रश्न यहाँ प्रस्तुत छः

रश्मी थापा

मोडलिङमा त्यस्तो के देख्नुभयो, जसले तपाईंलाई यस क्षेत्रमा प्रवेश गरायो?
के देखेर भन्दा पनि मेरो ममीबुबाको इच्छाले गर्दा नै म मोडलिङ क्षेत्रमा प्रवेश गरेकी हुँ। उहाँहरुकै कारण म कक्षा ७ पढ्दादेखि कल्चरमा डान्स सिक्न जान्थें। मैले मोडल बन्छु भनेर सपना नै बोकेर हिँडेको त थिइनँ। तर, १० कक्षा पढ्ने बेलामा सिन्धु मल्लको चक्करै लाग्यो नि व्रत बसेर बोलको गीतको म्युजिक भिडियोमा कोरस डान्सरको रूपमा गएको थिएँ। तर, उक्त गीतमा राखिएको मोडलभन्दा मेरो हाउभाउ र नृत्य मन परेर सिन्धु दिदीले मलाई उक्त गीतको मोडलमा राख्नुभएको थियो। त्यो गीतपछि मैले लगातार अन्य गीतको म्युजिक भिडियोमा अफर पाउन थाले।

मोडलिङबाट कमाइ कत्तिको हुन्छ?

मेरो विचारमा नेपालमा मोडलिङबाहेक नाम र दाम कमाउने क्षेत्र अरू छैन जस्तो लाग्छ। तर, यसका लागि पहिले आफूले मेहनत गर्नुपर्छ र नाम कमाउनुपर्छ। त्यसपछि त दाम आफैं पछि लाग्छ। गीतमा मात्र नभएर मेला महोत्सव, आादिमा स्टेज कार्यक्रम तथा देशबाहिरको अन्य कार्यक्रमबाट पनि राम्रो कमाइ हुन्छ। त्यस कारण म आफ्नो क्षेत्र र कमाइबाट निकै सन्तुष्ट छु।

मोडलिङमा आफ्नो स्थान कहाँ पाउनुहुन्छ?

अरूको हेरी म छोटो समयमा नै सफलता हात पार्दै गएको जस्तो लाग्छ, धेरै जनाले पनि यस्तै भन्नुहुन्छ। मोडलिङमा लागेदेखि यसैमा म निरन्तर लागिपरेकी छु। योबाहेक अन्य कुनै पेसामा म छैन र कुनै पनि समय खाली बस्न परेको छैन। यस कारण मलाई आफ्नो स्थान राम्रो छ भन्ने लाग्छ।

मोडलिङमा चर्चित भइसक्नुभयो अब फिल्म खेल्ने इच्छा छैन?

मलाई धेरैपटक फिल्म खेल्नका लागि अफरहरु आए। तर, मैले शुरुदेखि नै फिल्म खेल्दिनँ भनेर निर्णय गरेको थिएँ। जब कुनै पनि मानिस एउटा क्षेत्रमा काम गर्छ, उसले त्यही क्षेत्रमा मात्र निरन्तररूपमा काम गरेमात्र ऊ सफल हुन सक्छ भन्ने मलाई लाग्छ। म शुरुमै लोकगीतबाट मोडलिङमा प्रवेश गरेको मान्छे भएकाले मैले लोकगीतहरुलाई मात्र प्राथमिकतामा राखेर काम गर्ने गरेको छु। आधुनिक तथा लोकपप गीतहरुमा पनि निकै अफर आउँछन्। तर, मैले यस्ता गीतहरु निकै कम गरेर विशेष गरी लोकगीतलाई नै समय दिइरहेको छु। पछि यदि पैसा कमाएर लगानी गर्न सक्ने भए भने फिल्म प्रोड्युसर बन्ने इच्छाचाहिँ छ, तर फिल्म म खेल्दिनँ।

अबको योजना के छ?

तत्कालै केही पनि योजना बनाएको छैन। म योजना बनाएर हिँड्ने मान्छे पनि हैन। जे हुन्छ त्यहीअनुसार चल्ने मान्छे हो। मोडलिङमै सक्रिय भएर लागिरहन्छु। अरू कुरा समयको हातमा छ।

प्रतिक्रिया दिनुहोस्