महोत्तरीमा राहत र उद्धार कार्य जारी



 

नेपाल समाचारपत्र
महोत्तरी
महोत्तरीमा बाढीमा परेर जोखिममा परेकाहरूलाई सुरक्षाको टोलीले उद्धार कार्य जारी राखेको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले विभिन्न युनिट बनाई जिल्लाका बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य गरिरहेको दैवी प्रकोप उद्धार समितिले बतायो।

यता बाढीबाट प्रभावितहरूलाई विभिन्न संघसंस्थाहरूले राहतसमेत बाँडी उनीहरूलाई सहयोग गरिरहेका छन्। नेपाल रेडक्रस सोसाइटी, सेभ द चिल्डे«न, रतौली युवा क्लब, शान्ति तथा विकासका लागि युवा सञ्जाल, आयोन काठमाडौं, नेपाल ल क्याम्पसलगायतका संस्थाहरूले केही बाढीपीडितलाई राहतसमेत बाँडेका छन् भने थप राहत कार्य जारी छ।

नेपाल रेडक्रस सोसाइटीले जलेश्वर कारागार तथा विभिन्न सेल्टरमा बसेका बाढीपीडितलाई चिउरा, चिनी र दालमोठसमेत वितरण गरेको छ। आयोन काठमाडौं र वाईएनपीडीले संयुक्त रूपमा १५ जना स्वयम्सेवकको सहयोगमा पिपरा–३ वनटोलवामा १२ घरको सरसफाइ तथा मर्मत कार्य गरी उनीहरूलाई पुनर्वास गराएको छ। वनटोलवामा २२ घर पूर्ण क्षतिग्रस्त र ८ आंशिक क्षतिग्रस्त रहेका छन्। यस्तै वाईएनपीडी, आयोनको संयुक्त स्वयम्सेवक परिचालक र वाईईएस टुगेदर वी क्यानले बल्वा–१ डोल समुदायका २७ जना घरपरिवारलाई चामल, दाल, नुन, कपडा, चाउचाउ, बिस्कुट र १ टर्च वितरण गरेको छ।

यस्तै सेभ द चिल्ड्रेनको सहयोग र रतौली युवा क्लब तथा सीएफडब्ल्यूएको सहजीकरणमा घर सर्वेक्षण गरी जलेश्वर २, ३ र ४ का ७४ घरपरिवार बाढीपीडितलाई हाइजिन किट र त्रिपाल वितरण गरेको छ भने धबौली–६ का ४४ घरपरिवार र सुर्याहीका २४ घरपरिवारलाई समेत त्रिपाल र हाइजिन किट वितरण गरिएको छ। यस्तै नेपाल ल क्याम्पस काठमाडौंका विद्यार्थी र सफलताका प्रेरणा जापानमा अध्ययनरत विद्यार्थीहरूको सहयोगमा एकडारा गाउँपालिका ७ र ८ कोल्हुवाबगेयाका ५२ घरपरिवारलाई चामल, दाल, साबुन, लुगा र औषधि वितरण गरेको छ। त्यस्तै राहत वितरणमै निजी रूपले समेत विभिन्न व्यक्तिहरू अगाडि बढेका छन्।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले सबै सुरक्षित नभएसम्म ् उद्धार कार्य नरोकिने बताए। नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी बाढी आएको दिनदेखि नै अहोरात्र राहत वितरण र उद्धार कार्यमा खटिएका छन्।

प्रतिक्रिया दिनुहोस्