सीमा र संख्याबारे ओलीको आपत्ति



 

चिरिञ्जीवी मास्के, काठमाडौं
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुई नम्बर प्रदेशमा स्थानीय तहको निर्वाचनको मिति घोषणा भइसकेको र पार्टीहरूले उम्मेदवारसमेत चयन गरिसकेको अवस्थामा सरकारले सिमा हेरफेर र संख्या थप्ने कुरा गरेको भन्दै आपत्ति जनाउनुभएको छ।

शनिवार भएको प्रेस चौतारी नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्नुहँुदै अध्यक्ष ओलीले सरकारले आफू हार्ने ठाउँमा सिमा हेरफेर गर्ने र संख्या थप्ने तयारी गरेको उल्लेख गर्नुहुँदै त्यो एमालेलाई मान्य नहुने बताउनुभयो। ‘कानुनअनुसार वडा परिर्वतन गर्नसमेत चाँडो गर्दा ६ महिना लाग्छ’, अध्यक्ष ओलीले भन्नुभयो,‘अनि आजको भोलि आफ्नो स्वर्थमा सिमा हेरफेर र संख्या थप्न पाइन्छ?’

अध्यक्ष ओलीले आफ्नो पार्टीलाई मधेस विरोधी पार्टी भनेर प्रचार गरिएकोप्रति आक्रोश व्यक्त गर्नुभएको छ। अध्यक्ष ओलीले भन्नुभयो– ‘एमाले क्षेत्रीय पार्टी हैन, राष्ट्रिय पार्टी हो त्यसैले यो कुनै एउटा समुदायको मात्र नभइ मधेसी, दलित, जनजाति, अल्पसंख्यक सबैको पार्टी हो।’

नेकपा एमाले सबै जात जाति, भाषाभाषी र सम्पदायबीचको एकता चाहने पार्टी भएको उल्लेख गर्नुहँुदै अध्यक्ष ओलीले भन्नुभयो–‘तर केही तत्व नेपालीलाई जाति, भाषा र भूगोलको आधारमा एक भएको देख्न चाहदैनन्। अध्यक्ष ओलीले त्यहि तत्वले एमालेलाई मधेस विरोधी भएको निराधार आरोप लगाइरहेको गुनासोसमेत गर्नुभयो। उहाँले आफू प्रधानमन्त्री हुँदा मधेसको विकासका लागि सबैभन्दा धेरै काम गरेको दावीसमेत गर्नुभयो।

पत्रकार महासंघको २५औं महाधिवेशनमा उम्मेदवारको सन्र्दभमा अध्यक्ष ओलीले पत्रकारको अध्यक्षमा पार्टीको पोलिट्ब्युरो सदस्यलाई उम्मेदवार बनाउनु उपयुक्त हो कि हैन पत्रकारहरूले नै बिचार गर्नुपर्ने बताउनुभयो। उहाँले ब्यङ्ग गर्दै भन्नुभयो–‘एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराई पत्रकार महासंघको अध्यक्ष उम्मेदवार बन्नु ठीक हुन्थ्यो त?’

अध्यक्ष ओलीले व्यवसायिक पत्रकारिता कि राजनीतिक दल विशेष पत्रकारिता भन्ने कुरा पत्रकार महासंघको २५औं महाधिवेशनले रोज्नुपर्ने बताउनुभयो।

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश बस्नेतको सभापतित्वमा सम्पन्न भेलामा एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराई, एमाले केन्द्रीय सदस्य एवं प्रचार विभाग उपप्रमुख सूर्य थापा, पत्रकार महासंघको निर्वाचनमा अध्यक्षको उम्मेदवार तीर्थ कोईरालालगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्