दक्षिण कोरियालीमाथि मानव ओसारपसारको अभियोग



बैंकक, (एजेन्सी)
थाई सुरक्षा अधिकारीहरूले थाई महिलाहरूलाई दक्षिण कोरियाको देहव्यापारका लागि ओसार्ने गरेको अभियोगमा एकजना दक्षिण कोरियाली पुरुषलाई गिरफ्तार गरेको सञ्चारमाध्यमलाई शुक्रबार जानकारी गराएका छन्।

थाइल्यान्डको विशेष अनुसन्धान विभाग (डीएसआई)ले किमह्योङ जुन नामक ती व्यक्तिलाई बिहीबार बैंकको एउटा अपार्टमेन्ट बिल्डिङमा पक्राउ गरेको थियो। गत फेब्रुअरीमा दक्षिण कोरियाली सरकार स्वयंले मानव ओसारपसार धन्धामा लागेको अभियोगमा आफ्ना आठ जना नागरिकलाई गिरफ्तार गरेको थियो।

सोही गिरफ्तारीसँगै बढाइएको अनुसन्धानको सिलसिलामा किम र एकजना थाईलाई पनि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ। किममाथि दक्षिण कोरियाली प्रहरीले पनि विभिन्न अभियोगको आधारमा यसअघि नै पक्राउ पुर्जी जारी गरेको बताइएको छ।

अमेरिकाको संघीय जाँचबुझ ब्युरो (एफबीआई)को ढाँचामा तयार पारिएको डीएसआईले गैरसरकारी संघसंस्थाले पनि आफूलाई थाई महिलाहरूलाई दक्षिण कोरियामा परम्परागत मसाज गर्ने रोजगार दिलाइदिने लोभ देखाउँदै यौन धन्धामा लगाइने गरेको जानकारी दिएको जनाएको छ।

यसरी अवैध ढंगले दक्षिण कोरिया पुर्याइनासाथ थाई महिलाहरूको पासपोर्ट लुटेर तिनीहरूलाई जबर्जस्ती वेश्यावृत्तिमा लगाइने गरिएको बताइएको छ। दक्षिणपूर्वी एसियाका गैरसरकारी संघसंस्थाले मानव ओसारपसार रोक्नका लागि प्रहरीसँग सहकार्य गर्ने गरेका छन्।

सन् २०१४ मा संयुक्त राज्य अमेरिकाले थाइल्यान्डलाई वर्तमान आधुनिक युगमा पनि मानव ओसारपसार रोक्न असफल मुलुकको संज्ञा दिएको थियो। त्यसैबेलादेखि थाई सरकार यस विषयमा थप प्रभावकारी ढंगले अघि बढेको हो। गत फेब्रुअरीमा थाइल्यान्डको विदेश मन्त्रालयले सन् २०१६ मा २ सय ६८ जना व्यक्तिमाथि यस अपराधको अभियोग लगाइएको जानकारी दिएको थियो।

प्रतिक्रिया दिनुहोस्