‘धुर्मुस’ सम्मानित



 

विराटनगर, २ भदौ । समाजसेवी एवम् हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ आज ‘दिव्यराज दाहाल स्मृति सामाजिक पुरस्कार’बाट सम्मानित हुनुभएको छ ।

विराटनगरबाट प्रकाशन हुने ‘उद्घोष’ दैनिक पत्रिकाको १३ औँ वार्षिकोत्सवको उपलक्ष्यमा उहाँलाई रु एक लाख एक हजार ११ सहित सम्मानपत्र दिइएको छ । सो अवसरमा विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले धुर्मुसलाई सम्मानित गर्दै उहाँले समाजसेवामा गर्नुभएको भूमिका सराहनीय रहेको बताउनुभयो । उहाँले धुर्मुस–सुन्तली फाउन्डेशनलाई आफ्नातर्फबाट रु एक लाख प्रदान गर्ने घोषणा गर्नुभयो । सोही अवसरमा उद्योगपति नवीन रिजालले पनि रु एक लाख सो संस्थामा प्रदान गर्ने घोषणा गर्नुभयो ।

सो अवसरमा कलाकार धुर्मुसले धर्तीमा जन्मिएपछि केही राम्रो काम गर्ने भावनाका साथ समाजसेवामा लागेको बताउनुभयो । सोही कार्यक्रममा रु २५ हजार राशिको ‘राजेश्वर रेग्मी गजल पुरस्कार’ इलामका साहित्यकार विवश बलिभद्र कोइराला तथा समाजसेवामा सक्रिय युथ फर ब्लडलाई रु १० हजारसहित र उद्घोष दैनिकका पत्रकार हरि अधिकारीलाई रु पाँच हजारको पुरस्कार र प्रशंसापत्र दिइयो ।

धुर्मुसद्वारा राहत 

कलाकार धुर्मुसले बाढीले बगाएर मृत्यु भएका विराटनगर–११ का अरलिया ऋषिदेव र बूढीगंगा–१ का उमेश नेपालको परिवारलाई रु २५÷२५ हजार राहतस्वरुप प्रदान गर्नुभयो । सो रकम धुर्मुस–सुन्तली फाउन्डेशनबाट प्रदान गरिएको हो । रासस

प्रतिक्रिया दिनुहोस्