कहाँ गए होलान् २ हजार बालबालिका ?



 

सुरेश तामाङ, काठमाडौं
पछिल्लो १ वर्षमा नेपालभर गरी २ हजार बालबालिका बेपत्ता भएको पाइएको छ। सरकारी निकाय बालबालिका खोजतलास समन्वय केन्द्रले तयार पारेको आर्थिक वर्ष २०७३ साउनदेखि २०७४ साउनसम्मको तथ्यांकमा सो कुरा उल्लेख छ।

केन्द्रको तथ्यांकमा बेपत्ता हुनेहरूमध्ये १३ देखि १८ वर्षमुनिका बालिकाहरू धेरै छन्। तिनीहरू कहाँ र कस्तो अवस्थामा छन् भन्ने अझै पनि खुल्न नसकेको केन्द्रका अधिकृत सन्तोषचन्द्र अधिकारीले बताउनुभयो।

‘बेपत्ता बालबालिकाहरू कहाँ कस्तो अवस्थामा छन् भन्ने यकिन नभए पनि हामीले खोज्ने कामलाई रोकेका छैनौं’, उहाँले भन्नुभयो– ‘भेटिने क्रम पनि छ तर बालिका भने भेटिनै मुस्किल छ।’

तथ्यांकमा २ हजार ७ सय ७२ जना बालबालिका नेपालभरबाट हराएका छन्। जसमा १ हजार ४७ जना बालक र १ हजार ७ सय २५ जना बालिका छन्।

हराएकामध्ये थोरै मात्र फेला पर्ने तथ्यांकले देखाउँछ। २ हजार ७ सय ७२ बालबालिका हराएकामध्ये ७ सय २० जना मात्रै फेला पर्नुले पनि बालबालिका बेपत्ताको दर उच्च रहेको सजिलै अनुमान गर्न सकिन्छ।

दैनिकजसो ६ जनाको हाराहारीमा नेपालभर हराइरहने खबर प्रहरीसमक्ष आउने गरेको छ। केन्द्रको तथ्यांकमा २ हजार जना बालबालिका अझै बेपत्ता छन्।

६ सय ९४ जना बालक र १ हजार ३ सय ५८ जना बालिका बेपत्ता रहेको तथ्यांकमा उल्लेख छ। तथ्यांकमा बेपत्ता हुनेमध्येमा बालिकाको संख्या धेरै रहेको पाइयो।

त्यस्तै, हराउने बालबालिकाको संख्यालाई केलाउँदा उपत्यकास्थित केन्द्रमा निवेदन परेको विवरणमा बालिकाको तुलनामा बालकको संख्या बढी देखिन्छ भने बाहिरी क्षेत्रगत विवरणमा बेपत्ता हुने बालिकाको संख्या अत्यधिक देखिन्छ।

अघिल्लो वर्ष ९ सय ४३ जना बालबालिका बेपत्ता भएका थिए भने बालबालिकाहरू बेपत्ता हुनेको संख्या वर्षेनीजसो वृद्धि हुँदै गएको तथ्यांकबाट देखिन्छ।

बेपत्ता बालबालिका कहाँ कस्तो अवस्थामा छन् भन्ने प्रश्नको जवाफ बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायले पनि अहिलेसम्म दिन सकेका छैनन्।

ती हराएका बालबालिका धेरैजसो काठमाडौंलगायत देशभर घरेलु श्रमिकका रूपमा तथा बार, रेस्टुरेन्ट र मसाजमा यौनजन्य क्रियाकलापमा संलग्न हुन सक्ने अनुमान केन्द्रले गरेको छ।

समाजमा यस्ता कलिला बालबालिका हराउनुले धेरै ठूलो प्रभाव पार्दछ। पारिवारिक कलह, आर्थिक अवस्था, बालबालिकाप्रति गैरजिम्मेवार अभिभावक, अभिभावकविहीन बालबालिकाहरू प्रलोभनमा परेर बढी हराउने र बेपत्ता हुने गरेको समाजशास्त्री विपीन आचार्यले बताउनुभयो।

उहाँले बालबालिका हराउने र बेपत्ताका कारण समाजलाई समेत प्रतिकूल असर पुर्याउने भन्दै यससँग जोडिएका सबै निकाय जिम्मेवार हुनुपर्ने बताउनुभयो। अभिभावकमा चेतनाका साथै जीविकोपार्जनबाट आर्थिक वृद्धितिर उन्मुख गराउन सके यस्तो समस्या कम हुने उहाँको सुझाव छ।

नेपालमा बालबालिका संरक्षणसँग सम्बन्धित धेरै गैरसरकारी संस्था पनि छन् तर बालबालिका हराउने र बेपत्ता हुनेको घटना भने कम भएको छैन। विशेष गरी परिवारको तर्फबाट नै बालबालिकाको संरक्षणको कुरा नआएसम्म बालबालिका हराउने र बेपत्ता हुने घटना कम नहुने केन्द्रीय बाल कल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले बताउनुभयो।

हरेक बालबालिकालाई शिक्षाको पहुँच पुर्याउने, सीमामा कडाइ गर्ने, अभिभावक सचेत र सतर्क रहने हो भने पनि यस्तो घटना कम हुने उहाँले बताउनुभयो। स्थानीय तहमा सरकारको व्यवस्था भएपछि बालबालिका संरक्षण गर्न बालकेन्द्रित कार्यक्रमहरू ल्याउन जरुरी रहेको समितिका कार्यकारी निर्देशक धितालले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्