प्रथम महिला ग्रेसको विवाद कायमै



 

जोहान्नेसवर्ग, (एजेन्सी)
दक्षिण अफ्रिकाको प्रहरीले बुधबार यातना दिएको अभियोग लगाइएकी जिम्बावेकी प्रथम महिला ग्रेस मुगावे कहाँ छिन् भन्ने आफूलाई थाहा भएको बताएको छ। तर तिनीहरूले उनी देश छाडेर भागिसकेकी भन्नेबारे केही पनि बताउन अस्वीकार गरेका छन्।

राष्ट्रपति रोवर्ट मुगावेकी पत्नी ५२ वर्षीया ग्रेसमाथि आइतबार जोहान्नेसवर्ग होटेलमा २० वर्षीया मोडल गाब्रिएल्ला एन्गेल्सलाई कुटपिट गरेको आरोप लगाइएको थियो। सोही होटेलमा ग्रेसका दुईजना छोरा पनि बस्दै आएका थिए। सोमबार प्रहरीमा उजुरी दर्ता गराउने क्रममा एन्गेल्सले आफ्नो निधार र टाउको पछाडि गहिरो चोट लागेको र उनले शरीरमा गम्भीर चोट पुर्याउने उद्देश्यले नै आक्रमण गरेको बताएकी थिइन्।

दक्षिण अफ्रिकाका प्रहरी प्रवक्ता विस्नु नाइडुले भनेका छन्– ‘हामीलाई उनी कहाँछिन् भन्ने थाहा छ। हामी अहिले पनि उक्त घटनाबारे छानबिन गरिरहेका छौं। अझैसम्म पक्राउपुर्जी जारी गरिएको छैन।’ केही सूत्रले ग्रेस मंगलबार राति हतारहतारमा हरारे फर्केको जनाएको थियो।

यस आक्रमणको कारण अहिलेसम्म सुदृढ राजनीतिक र आर्थिक सम्बन्ध रहेका यी दुई छिमेकी मुलुकबीचको कूटनीतिक सम्बन्ध प्रभावित हुने अनुमान गरिएको छ। आफ्ना अंग रक्षकहरूसँग क्यापिटल २० वेस्ट होटेल पुगेकी ग्रेसले करिब २० वर्ष उमेर हाराहारीका जोहान्नेसवर्ग बस्ने आफ्ना छोरा रोवर्ट र चातुंगासँग पार्टी मनाउने गरेको आरोप लगाउँदै एन्गेल्समाथि अचानक हात हालेकी थिइन्। सो आक्रमणपछि टाउकोबाट रगत बग्दै गरेको एन्गेल्सको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको थियो। आफ्ना ९३ वर्षीय पतिभन्दा ४१ वर्षले कम उमेरकी ग्रेसका दुई छोरा र एक छोरी छन्।

प्रतिक्रिया दिनुहोस्