चिनियाँ राष्ट्रपतिलाई पुनः निम्तो



 

काठमाडौं, (नेस)
सरकारले चिनियाँ राष्ट्रपति सी जिन पीङलाई नेपाल भ्रमणको पुनः निम्तो दिएको छ। नेपाल भ्रमणमा रहनुभएका चिनियाँ उपप्रधानमन्त्री वाङ याङमार्फत प्रधानमन्त्री शेरबहादुर देउवाले सीलाई भ्रमणको निम्तो पठाउनुभएको हो।

उपप्रधानमन्त्री वाङसँगको शिष्टाचार भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले विगतमा सीलाई पटक–पटक नेपाल भ्रमणको निम्तो पठाइएको स्मरण गराउँदै नेपाल सीलाई स्वागत गर्न आतुर रहेको बताउनुभएको थियो।

जवाफमा उपप्रधानमन्त्री वाङले नेपालसँगको सम्बन्धलाई राष्ट्रपति सीले उच्च महत्त्वका साथ नियाल्नुभएको बताउँदै उपयुक्त समयमा सीले नेपाल भ्रमण गर्ने जानकारी गराउनुभएको थियो।

सो भेटवार्ताबारे जानकारी दिँदै प्रधानमन्त्री देउवाका विदेश मामिला सल्लाहकार डा. दिनेश भट्टराईले भन्नुभयो– ‘उच्चस्तरीय द्विपक्षीय भ्रमण आदान–प्रदानका बारेमा छलफल भएको छ, चिनियाँ राष्ट्रपतिले नेपालसँगको सम्बन्ध र भ्रमणको निम्तोलाई प्राथमिकतामा राख्नुभएको उहाँहरूले बताउनुभयो।’

भट्टराईका अनुसार चिनियाँ टोलीले पनि प्रधानमन्त्री देउवालाई चीन भ्रमणको निम्तो दिएको छ। चिनियाँ राजदूत यु होङसहितका उच्च अधिकारी सहभागी सो भेटवार्तामा मंगलबार दुवै पक्षबाट भएका सम्झौता⁄सहमतिलाई कार्यान्वयन चरणमा लाने बारेमा छलफल भएको बताइएको छ।

चीनले अघि बढाएको ‘रोड एन्ड बेल्ट ईनीसीएट्भ्सि’, कनेक्टिभिटि, व्यापार, पूर्वाधार विकास, पर्यटनजस्ता विषयलाई के–कसरी आपसी हितमा अघि बढाउन सकिन्छ भन्ने बारेमा चिनियाँ पक्षसँग छलफल भएको डा. भट्टराईले जानकारी दिनुभयो।

नेपाल–चीनबीचको सम्पर्क सहज गराउन अवरुद्ध अरनिको राजमार्गको स्तरउन्नत्ति गर्ने रसुवागढी नाकालाई व्यस्थित बनाउने चीनले सघाउने चिनियाँ पक्षले बताएको भट्टराईले जानकारी दिनुभयो।

सो क्रममा द्विपक्षीय सम्बन्ध र आपसी हितलाई अझ परिणाममुखी बनाउन अपरिहार्य रहेको औंल्याइएको थियो। छलफलमा चीनसँगको सम्बन्ध विशेष भएको बताउँदै प्रधानमन्त्री देउवाले नेपाल एक चीन नीतिमा प्रतिबद्ध रहेको चिनियाँ पक्षलाई बताउनुभएको थियो। चिनियाँ उपप्रधानमन्त्री वाङले नेपालको यस्तो प्रतिवद्धताप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री देउवाको नेतृत्वमा शान्ति, स्थायित्व र आर्थिक विकासले गति लिने विश्वास व्यक्त गर्नुभएको थियो।

यसैबीच चिनियाँ उपप्रधानमन्त्री वाङ नेतृत्वको टोलीले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेको छ। द्विपक्षीय हित र आपसी सम्बन्ध निकट बनाउन केन्द्रित रहेको सो भेटवार्तामा राष्ट्रपति भण्डारीले नेपाल र नेपालका सबै दलहरू एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताउनुभएको थियो।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले भन्नुभयो– ‘नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको कुरा राष्ट्रपतिले चिनियाँ पक्षलाई बताउनुभयो, त्यसमा चिनियाँ पक्षले आभार व्यक्त गरेको छ।’ उपप्रधानमन्त्री वाङ नेतृत्वको टोलीले बुधवार नेपालमा चिनियाँ लगानीको सम्भावना बारे नेपाली उद्योगी व्यवसायीसँग द्विपक्षीय छलफल गर्नुभएको छ।

त्यसअघि चिनियाँ टोलीले कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा आयोजना भएको कार्यक्रममा सहभागिता जनाएको थियो। आयुर्वेद औषधि उपचार र अध्ययन अनुसन्धानमा सघाउन आफ्नो मुलुक तयार रहेको उपप्रधानमन्त्री वाङले बताउनुभएको थियो।

स्वास्थ्य मन्त्री गिरिराजमणि पोख्रेलले संघीय संरचनाअनुसार आयुर्वेद अनुसन्धान केन्द्र स्थापना गर्ने तयारी भइरहेको जानकारी गराउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्