विप्लवसँग विद्रोह गरी फ्रिडम कम्युनिस्ट लिग केन्द्रीय समिति घोषणा, भूमिगत र मोर्चा दुवै शैलीमा काम गर्ने उद्घोष



 

नेपाल समाचारपत्र
लमजुङ
लमजुङमा फ्रिडम कम्युनिस्ट लिग केन्द्रीय समिति घोषणा गरिएको छ। जिल्ला सदरमुकाम बेंसीशहरमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त दलका महासचिव सहज र प्रचार विभागका संयोजक सुजन अधिकारीले दलको बुधबार घोषणा गर्नुभएको हो।

भदौ भित्र पोखरामा केन्द्रीय भेलाको आयोजना गर्ने जानकारी दिँदै फ्रिडम कम्युनिस्ट लिगका महासचिव सहजले १९ सदस्यीय कार्यसमिति रहेको तर उहाँहरूको नाम भन्न नमिल्ने बताउनुभयो।

विप्लव माओवादीमा विचलन आएबाट हिजोका दिनमा देखाइएका सपना पूरा हुन नसक्ने र त्यो पार्टी मुर्खहरूको झुन्डजस्तो देखिएको हुँदा त्यसमा आफूहरू बस्न सक्ने अवस्था नरहेको पत्रकारहरूमाझ सहजले बताउनुभयो। आज शासकहरू पत्रकार र जनतासँग डराउने अवस्था रहेन, त्यस्तो हुन भनेको जिम्मेवारी बोध र कर्तव्यनिस्ट नहुनु हो भन्दै महासचिव सहजले विप्लव पार्टी अब सच्चिन नसक्ने गरी भासमा डुबेको हुँदा आफूहरूले नयाँ दल खोल्नुपरेको दाबी गर्नुभयो। यो कार्य आफ्नो रहर वा कल्पना नभई बाध्यता भएको उहाँले बताउनुभयो।

उहाँहरूले पत्रकार सम्मेलनमा पार्टी घोषाणाको र विप्लव माओवादीसँग सम्बन्ध विच्छेद गर्न पर्नुका पाँच कारण उल्लेख गरिएको छुट्टाछुट्टै विज्ञप्ति वितरण गर्नुभएको थियो। जसमा विप्लव माओवादीमा वैचारिक विचलन आएको, सिद्धान्त र व्यवहारका बीचमा बेमेल हुने गतिविधि गरिरहेको, मजदुर र किसानको हितमा भन्दा मध्यम वर्गको हितका मुद्दा उठाउने गरेको भनिएको छ। यसै गरी, अन्य आरोपमा वैद्यभन्दा पनि झन् अकर्मण्यतामा फसेको र स्थानीय तहको चुनाव खारेजी अभियानका लागि मुलुकभर निर्देशन दिने तर रोल्पाको थवाङमा पार्टीकै डीसीएमलाई स्वतन्त्र उम्मेवार उठाएर ढाँटको राजनीति गरेको आदि उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्