तीज गीतमा थरी–थरी स्वाद पुरुष स्वर पनि उत्तिकै



 

रश्मी थापा

यती बेला तीज गीतले बजार तातेको छ। भदौको पहिलो हप्तामा तीज भए पनि तीजको गीत भने महिनौंअघिदेखि नै बजारमा आइरहेका छन्। केही समययता नारीले मात्र नभएर पुरुषले पनि गाउन थालेको तीजगीत गायनमा यसपटक पनि पुरुष कलाकारको सहभागिता उत्तिकै पाइएको छ।


अहिलको तीज गीत वास्तविक तीज गीत नभएको बताउँछन् गायक पशुपति शर्मा। ‘मैले यसपालि अरूका गीत त्यति सुन्न पाएको छैन। तर, मैले गाएको १४ तीज गीतमध्ये ७⁄८ वटा मात्र टिपिकल गाएँ। अरूको गीतहरुमा मैले कमेन्ट गरे भने म मात्र जान्ने जस्तो भइन्छ। तर, वास्तविक अर्थमा तीज गीत आएका छैनन् भन्ने अनुभव गरेको छु, पशुपति भन्छन्– ‘तीज गीत बजारमा महिनौं पहिले आउनुमा युट्युब कारण हो। आफूले नहाले पनि अन्य कलाकारले गीत निकालेर युट्युबमा हाल्छन्। आफूले नहाले किन गीत नगाको भन्छन्। तीजभन्दा अघि नै दर खाने कार्यक्रम राखिन्छ। मिडियामा पनि तीज गीतकै समचार र तीज गीत बजाइन्छ। त्यस कारण तीज गीत पहिले नै आउनुमा हामी कलाकार एक पक्षको मात्र दोष छैन सबैको हात छ। मुख्य कुरा सेन्सर बोर्ड नभएपछि त्यसलाई जति गरे पनि रोक्न सकिन्न। यसले विकृतिको रूप लिई नै रहन्छ।’ महिलाको तीजका गीत पुरुषले पनि गाइरहेका छन्, किन होला? पशुपति भन्छन्– ‘यो भन्नु तीजमा नारीले किन व्रत बसेको किन शिवजीको पूजा गरेको भनेजस्तै हो। शिवजीलाई पूजा गर्ने भनेपछि तीजमा त पुरुषकै अहम् भूमिका हुँदो रहेछ। तीजमा दर खाँदा पुरुष पनि सहभागी हुन्छन्। माइती बनेर चेली लिन जान्छन्। पुरुषले यो पर्वमा अन्य सबै काम गर्न हुन्छ भने गीत गाउन चाहिँ किन हुँदैन? त्यस कारण पनि पुरुषले गीत गाउन थालेका हुन्।’

यस पटक तीजलाई लक्षित गरी १३⁄१४ सय तीज गीत र ती सबैको भिडियो निर्माण भएको गायिका कोमल वली बताउँछिन्। ‘यस पटकका तीज गीतमा विविधता छ। कुनै मौलिक ठेट भाकाका छन् भने कुनैमा रमाइलो खालका रत्यौली भाकाहरु पनि समावेश गरीएका छन्। यस पटक तीज गीतमा हास्य व्यंग्य पनि प्रयोग गरी गीत बनाइएको छ। योचाहिँ नयाँ प्रयोग हो’, कोमल भन्छिन्– ‘आधुनिक रक तथा पप शैलीमा पनि तीज गीत बनेका छन्। अहिलेका गीतहरुमा सीमा नाघेर चाहिनेभन्दा बढी अश्लील तथा दोहोरो अर्थ लाग्ने गरी शब्द प्रयोग गरिएका पनि भेटिएका छन्।’

तीज गीतहरु तीजभन्दा धेरै समयअघि आउनु र पुरुषकले पनि तीज गीत गाउनुलाई सकरात्मकरूपमा लिनुपर्ने वली बताउँछिन्। ‘तीज गीतका लागि यसै पनि समय थोरै हुन्छ। तीजको भोलिपल्टबाट त तीज गीत बन्दै हुन्छ। तीज गीत हेर्ने समय पनि कम हुने भएकाले तीजभन्दा अघि नै गीतहरु आएका हुन्’, उनी थप्छिन्– ‘प्रायःजसो महिलाले गाउने तीज गीतका सर्जक, रचनाकार तथा निर्माणकर्ता पुरुष नै हुनुहुन्छ। त्यस कारण पनि गायनमा मात्र किन पछाडि पर्ने भनेर पनि पुरुषले गीत गाएका हुन्। अर्को कुरा समाज महिलाले मात्र चल्दैन।

महिला र पुरुषको समागमले चल्ने सममजमा तीजमा पनि पुरुष सहभागिता भएको कुरालाई नकरात्मकरूपमा लिनुहुँदैन। महिलाले गाउने तीज गीतमा संवाद प्रयोग भयो भने अझ रोचक हुन्छ। महिलाले मात्र तीज गीत गाउँदा उनीहरुको मात्र कुरा आउने र यसमा श्रीमान्–श्रीमती, ससुरा–बुहारी, दीदी–भाइ आदिको तर्क–वितर्क पनि प्रयोग भयो भने सुनमा सुगन्ध हुन्छ र दर्शकको आँखा कान र मनलाई आनन्द दिने भएकाले पनि पुरुषले तीज गीत गाएका हुन्।’

गायिका सुनीता गुरुङ आमा, हजुरआमाको पालाका गीतहरु अहिलेका पुस्ताले नसुन्ने र अहिलेका गीतहरु त्यस्तो पनि नबन्ने बताउँछिन्। ‘अहिलेका गीतहरु हाम्रा आमा, हजुरआमाको पालामा गाइनेभन्दा धेरै फरक छ। त्यस्तो गीत गाइयो भने अहिले सुनिँदैन पनि। शब्द हाउभाउ आदिमा परिवर्तन छ। पोहोरतिरको भन्दा अहिलेका तीज गीतहरुको शब्द चयन र भिडियोमा भने सुधार आएको छ।

पहिलेका भिडियोहरु परिवारसँग बसेर हेर्न असजिलो लाग्ने थिए। तर, यसपालिका भिडियो र गीतहरुमा भने निकै सुधार आएको छन्’, सुनीताले सुनाइन्– ‘धेरै गीतहरु तीजभन्दा २⁄३ महिनाअघि नै आएका छन्। तर, मैलेचाहिँ ल्याउन पाइनँ। मैले यसपालि हङकङको चुरा र नाच्छु उफ्री–उफ्री बोलका तीज गीतहरु तीजको एक महिना अघिमात्र ल्याएँ। तीजभन्दा अगाडि नै गीत ल्याउँदा गीतको पनि प्रचारप्रसार हुने, मिडियाहरुमा स्थान पाउने तथा कलाकराहरु पनि चिनिने भएकाले समयअगाडि नै आउने गरेको होलाजस्तो लाग्छ।’

सुनीतालाई लाग्छ– ‘अहिलेका तीज गीतहरु पुरुषले पनि गाउने हुनाले रत्यौली जस्तो पनि बनेको छ। पहिले–पहिले पुरुषले तीज गीत गाउने चलन थिएन। तर, अहिले आधुनिक समयमा भने स्टेज कार्यक्रमको क्रेज बढ्दै गएको र पुरुषको पनि प्रस्तुति हुने भयो भने अर्कै रमाइलो हुन्छ। त्यस कारण पनि स्टेज कार्यक्रमलाई लक्षित गरेर पछिल्लो समय पुरुषहरुले पनि तीज गीत गाउन थाल्नुभएको हो।’

तीज गीतमा विकृति बढ्यो भन्नुभन्दा पनि यसमा सर्जक तथा कलाकार आफैं संयम हुनुपर्ने गायिका मञ्जु पौडेल बताउँछिन्। ‘मैले ल्याएका तीज गीतहरु सधैं मौलिक हुन्छन्। तर, धेरै खालका तीज गीतहरु बजारमा आएका छन्। तीज गीतसँगै विकृति नआएका हैनन् यस्तो प्रवृत्ति रोक्न सर्जक तथा कलाकार आफैं संयम हुनुपर्छ। समग्रमाभन्दा तीज गीतहरु विकसित हुँदै गएका छन्’, मञ्जुको भनाइ छ– ‘तीज गीतहरु एक महिनाअघि नै आउनु स्वभाविकै हो। किनभने समय व्यस्तताका कारण त्यही बेला तयार गर्न सकिँदैन। एक महिनाअघि रिलिज गर्नका लागि २⁄३ महिनाअघिदेखि तयारी गर्नुपर्छ।’

तीज गीतमा पुरुष सहभागितालाई पनि स्वीकार गर्नुपर्ने उनी बताउँछिन्। ‘परापूर्व कालमा पनि तीजमा पुरुषको सहभागिता नभएको होइन। दाजुभाइबिना त झन् तीज खल्लो हुन्छ। हाल तीज गीतमा पुरुषको सहभागिता हुनु भनेको त सरहानीय कुरा हो। तर, तीज गीतका नाममा चेलीको मर्म नबुझ्ने र तीजको जस्तो नलाग्ने गीतहरु आएका छन् तर सबै गीत त्यस्ता पनि छैनन्। तर, पुरुषले तीज गीत गाउनु नराम्रो चाहिँ होइनु उनको भनाइ छ।
यस पटक मौलिकता बोकेका तीज गीतहरु कमै रहेको गायक मौसम गुरुङ बताउँछन्। ‘पोहोर परारभन्दा यसपालिको गीतहरु मौलिकता बोकेका कमै छन्। तीज गीत भनिए पनि तीजलाई लक्षित गरी गाइएको गीतहरु धेरै कम छ। यसको सट्टा यसपालिको गीतहरु रत्यौली र अलमोस्ट उच्शृंखल खालका छन्’, गुरुङ भन्छन्– ‘तीज गीत बजारमा समयभन्दा धेरै छिटो आउनुको प्रमुख कारण युट्युबको होडाबाजी र नियमको अभाव हो। युट्युब भ्युअर्स कस्को कति भन्ने होडाबाजीको कारणले गर्दा ३ महिनाअघिबाट नै तीज गीत बजारमा आएका हुन्। गीत छिटो निकाल्यो भने चर्चा कमाइन्छ भन्ने कलाकारमा एक प्रकारको भ्रम पनि रहेको छ। अर्को कुरा तीज गीतसम्बन्धी नियमको अभावले गर्दा पनि तीज गीतहरु चाँडै बजारमा आएको हो। यदि कुनै नियम कानुन हुन्थ्यो भने तोकेको समयमा मात्र गीत बजारमा आउँथ्यो।’ मौसम भन्छन्– ‘अरूको चाहिँ थाहा छैन। तर, मैले भने तीज महिलाको चाड भएकोले गर्दा उनीहरुलाई नै विषेश प्राथमिकतामा राख्नु पर्छ भनेर पनि यसपालिदेखि तीज गीत गाउनै छोडें।’

यसपालिका तीज गीतहरुमा समसामयिक विषयवस्तुलाई प्राथमिकता दिइएको ठान्छिन् गायिका सिर्जना खत्री। ‘हाल मोर्डन र टिपिकल शैलीका तीज गीतहरु आएका छन् भने समसामयिक विषयहरुलाई लिएर पनि धेरै तिज गीतहरु निर्माण गरीएका छन्। तीज गीतको मार्केट कम हुने भए पनि गायकगायिका भने तीज गीतकै कारण हिट हुने भएकाले तीजभन्दा धेरैअघिदेखि बजारमा आएको हो। अर्को कुरा युट्युब भ्युअर्सको कारण गीतको प्रचारप्रसार पनि हुने भएकाले कलाकारहरु तीजभन्दा अलिअघि नै गीत बजारमा ल्याउँछन्’, सिर्जनालाई लाग्छ– ‘तीजका गीतहरुको रचना तथा संगीत प्रायः पुरुषकै हुने भएकाले गाउनमा पनि पुरुष सहभागिता बढेको हो। पहिलेदेखि लोकदोहोरी गीतमा पनि महिला र पुरुष दुवैको सहभागिता हुने गथ्र्यो। यसले गर्दा एक–अर्कालाई सर्पोट हुन्थ्यो। अहिलेका अधिकांश तीज गीतहरुमा रचना तथा संगीत पुरुषहरुकै छन्। योसँगै गायनमा पनि पुरुषहरुको सहभागिता बढेको हो।’

यस पटक छनोटका तीज गीतहरुमा मात्र अभिनय गरेको दाबी गर्ने मोडल रश्मी तामाङ तीजका गीतहरुमा विकृति बढिरहेको देख्छिन्। ‘त्यसैले गर्दा पोहोर ३२⁄३३ वटा तीज गीतमा अभिनय गरेकोमा यसपालि छानेर जम्मा ८ वटा मात्र गीतमा अभिनय गरेको छु। मौलिक गीतहरु पनि आएका छन्। विकृति बढाउने पनि छन्। कतिपय गीतहरु महिनौंअघि बजारमा आएका छन्। तर, तीजकै बेला कलाकारले पनि तीज मनाउनुपर्ने र सबैको फुर्सद नहुने भएकाले पनि तीज गीत अगाडि नै ल्याइएका हुन्’, उनी भन्छिन्– ‘पछिल्लो समय पुरुष कलाकारले तीज गीत गाएका छन्। यो नराम्रो चाहिँ होइन। तीजमा यसै पनि दाजुभाइको सहभागिताले रमाइलो महसुस हुन्छ। नाचगानमा पनि सहभागी हँदा तीज अझै रमाइलो हुन्छ भनेर होला सायद।’

 

प्रतिक्रिया दिनुहोस्