पाथिभरा गोल्डकप चर्च व्वाइज काठमाडौंलाई



 

रविन भट्टराई, ताप्लेजुङ
ताप्लेजुङमा सोमबार सम्पन्न पाथिभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चर्च व्वाइज क्लब काठमाडौंले जितेको छ।

सदरमुकामस्थित भानुजन माविको खेल मैदानमा भएको फाइनल खेलमा सगरमाथा युवा क्लब विराटचौक मोरङलाई ३–० गोल अन्तरले पराजित गर्दै उपाधिमाथि कब्जा जमाएको हो। टोलीलाई जित दिलाउन जाङ्बु शेर्पा, राज पौडेल र राजकुमार कन्दङ्वाले एक⁄एक गोल गरेका थिए। खेलको पहिलो हाफमा जाङ्बु शेर्पाको गोलले अग्रता लिएको काठमाडौंले खेलको पूर्ण समय मोरङलाई दबाबमा राखेको थियो।

खेलमा गोल गर्नेे धेरै मौका पाए पनि मोरङका खेलाडीले अवसर गुमाएका थिए। दोस्रो हाफमा चर्च व्वाइजका राज पौडेल र राजकुमार कन्दङ्वाले लगातार २ गोल गरेपछि मोरङ उपविजेतामा चित्त बुझाउन बाध्य भएको छ।

खेलको म्यान अफ दि म्याच भने सगरमाथा युवा क्लब विराटचौक मोरङका मनोज राई भएका छन्। विजेता चर्च व्वाइज क्लब काठमाडौंले २ लाख ११ हजार १ सय ११ र उपविजेता मोरङले १ लाख ११ हजार १११ रुपियाँ प्राप्त गरेको छ।
विजेता खेलाडिलाई सोमबार नै एक विशेष कार्यक्तमका बीच नगद पुरस्कार वितरण गरीएको छ। गत साउन २२ गतेवाट शुरु भएको प्रतियोगितामा ताप्लेजुङका दुईसहित विभिन्न जिल्लाका १० टिमको सहभागिता रहेको थियो। यो प्रतियोगिता ताप्लेजुङमा विगत २०२९ सालबाट वर्षेनि आयोजना गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्