बाढीपीडितलाई कलाकर्मीको साथ



 

मुलुकका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढी–पहिरोबाट पीडितलाई सघाउन कलकाकार अग्रसर हुने क्रम बढेको छ। यसै सिलसिलामा प्रलयकारी भूकम्पका कारण राज्य नै अलमल्ल परिरहेका बेला त्यसबाट पीडितका लागि तीन ठूला एकीकृत बस्ती बसाएका सीताराम कट्टेलले आइतबारबाटै बाढी–पहिरोपीडितका लागि राहत उपलब्ध गराएका छन्।


सीतारामले आफ्नो समूहका साथ बाढी–पहिरोले संकट निम्त्याएको स्थलमै गई राहत सामग्री उपलब्ध गराएका हुन्। सीताराम र उनको समूहले ‘विपद्को घडीमा सबै नेपाली जुटौं अनिवार्य, मानवता र सद्भावका लागि गरौं सहकार्य’ भन्ने आह्वान गर्दै आइतबार धनुषा जिल्लाका पीडितलाई राहत उपलब्ध गरायो। समूहले महोत्तरीको भंगामा ३७ परिवार डुबान पीडितका लागि राहत वितरण गरेको थियो भने सोमबार जनकपुरको धराजभन टोलमा जलाद नहरले डुबानमा पपरेका ८८ परिवारका लागि तत्काल खान मिल्ने खाद्यान्न, औषधि, पानीलगायतका राहत प्याकेज उपलब्ध गरायो। समूह सोमबार नै राहतका प्याकेजसहित राहत र उद्धारका लागि धनुषाको मिथिला नगरपालिकाबाट सिरहा, सप्तरी, सुनसरी, मोरङ हुँदै झापा पुगेको थियो।

बाढी–पहिरोपीडितलाई सघाउन हास्य अभिनेता जितु नेपालले ५१ हजार रुपियाँ उपलब्ध गराउने भएका छन्। ‘स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई पनि सहयोगका लागी अपिल गर्न चाहन्छु। उक्त रकम कुनै एक भरपर्दो संस्थाको खातामा जम्मा गरिदिनेछु। र, त्यसको जानकारी पनि यसै गरी दिनेछु, जितुले फेसबुकबाट आह्वान गरेका छन्– ‘एक नेपाली हुनुको नाताले मनले सकेको सहयोग गरौं। फेसबुकको कम्पिटिसनमा पहिलो हुनतिर नलागौं र अरूलाई गाली पनि न गरौं। मनैदेखि गरिएको समाजसेवालाई अरूको आँखाले न देखे पनि भगवान्का आँखाले अवश्य देख्नेछन्।’

त्यसै गरी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पंगेनीको अध्यक्षतामा बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले देशको तराई क्षेत्रमा आइपरेको विपत्तिमा आर्थिक भौतिक र नैतिक सहयोगमा जुट्नका लागि प्रतिष्ठान मातहतका प्रदेश अञ्चल समन्वय जिल्लालाई अनुरोध गर्दै सम्पूर्णमा हार्दिक अनुरोध गर्दै केन्द्रीय समितिको तर्फबाट व्यक्तिगतरूपमा सहयोग संकलन गरी तत्काल १ लाख तथा जिन्सी र खाद्य सामग्रीसहित प्रभावित क्षेत्रमा पुगेर वितरण गर्ने निर्णय गरेको छ।

त्यस्तै नवल खड्का अध्यक्ष रहेको चलिचत्र निर्माता संघ नेपालले बाढी–पहिरोमा परेर निधन भएकाप्रति गहिरो श्रद्धाञ्जली र पीडितप्रति सहानुभूति प्रकट गर्दै १ लाख १ हजार सहयोग गर्ने भएको छ। त्यसै गरी गायिका ओलीले पनि ‘देशभर, प्राकृतिक विपत्तिमा परेका मेरा सम्पूर्ण आफन्तजनका लागि भन्दै ५१ हजार रुपियाँ सहयोग गर्ने उल्लेख गरेकी छिन्। ‘बरु तत्काल राहत पुर्याउँ’ –ओलीले फेसबुक स्टइटसबाट आह्वान गरेकी छिन्।

हास्य अभिनेता निर्मल शर्माले बाढी–पहिरोपीडितका लागि खडा गरेको पिपुल टु पिपुलमार्फत् ६ लाख रुपियाँ संकलन भइसकेको छ भने गायक प्रमोद खरेलले १० हजार रुपियाँ र हेयर स्टाइलिस्ट नील डेभिड कटुवालले १५ हजार रुपियाँ हाली फेसबुकमार्फत् शुरु गरेको ‘विपत्तिमा फैलाउँ सहयोगी मनहरू’ अभियानबाट करिब साँढे २ लाख रुपियाँ संकलन भएको छ।

 

प्रतिक्रिया दिनुहोस्