श्वेताको कान्छी मुस्ताङमा



 

नायक तथा निर्माता स्व. श्रीकृष्ण श्रेष्ठका निधन भएको लामो सयमपछि उनको नायिका पत्नी श्वेता खड्काले जन्माष्ठमीको दिन पारेर सोमबार फिल्म कान्छीको निर्माण घोषणा गरेकी छिन्। राजधानीको कमलादीस्थित गणेश मन्दिरमा शुभसाइत छोपेपछि दरबारमार्गमा एक कार्यक्रमको आयोजना गरी श्वेता फिल्म निर्माणको घोषणा गरेकी हुन्। नायक श्रेष्ठको निधनपछि पतिवियोगमा लामो समयसम्म अभिनय क्षेबाट टाढा रहेकी श्वेताको त्यसपश्चात्को यो पहिलो फिल्म हो। काया फिल्म्स् प्रालिको ब्यानरमा बन्न लागेको फिल्मलाई निर्देशक आकाश अधिकारीले निर्देशन गर्नेछन्। फिल्ममा श्वेता खड्का र दयाहाङ राईको प्रमुख भूमिका रहनेछ। फिल्मको कार्यकारी निर्माता रविन खड्का हुन्। साथै उनले श्वेताश्री फाउन्डेसनमार्फत् तराईका बाढीपीडित सहयोगार्थ १ लाख ४ हजार रुपियाँ प्रदान गर्ने घोषणा गरिन्।

कार्यक्रममा बोल्दै श्वेताले दर्शकको मायाका कारण आफूले श्रीमान्को कामलाई निरन्तरता दिएको बताइन्। ‘आज भगवान्को आर्शिवाद र दर्शकको मायाले गर्दा फेरि पनि फिल्म लिएर आउँदै छु। दर्शकको मायाको कारण म फिल्मदेखि टाढा हुन सकिनँ। उहाँको निधनपछि मलाई पुनर्जन्म दिनुहुने बाबा नीर शाह तथा वसन्त श्रेष्ठप्रति म निकै आभारी छु। मेरो परिवारले यहाँसम्म आउनका लागि निकै सपोर्ट गर्नुभएको छ। मलाई हिम्मत र साथ दिनुहुने सम्पुर्णका लागि फिल्म कान्छी कोसेली स्वरूप लिएर आउँदै छु, कार्यक्रममा बोल्दै श्वेताले भनिन्– ‘देश यति बेला दुःखमा छ। बाढीबाट धेरै जना प्रभावित हुनुहुन्छ। प्रभावित क्षेत्रमै गएर सहयोग गर्न मन थियो। तर, फिल्मको काम पनि गर्नुपर्ने भएकाले त्यसो गर्न सकिएन। श्वेताश्री फाउन्डेसनमार्फत् सहयोग पठाएकी छु।’

फिल्मका निर्देशक आकाश अधिकारीले पनि २५ हजार सहयोगको घोषणा गरेका छन्। निर्देशक आकाश अधिकारीले श्रीकृष्णसँग काम गर्दाको क्षण स्मरण गर्दै उनको अभावमा एकै परिवार भएर काम गर्ने बताए। नेपाल चलचित्र निर्मँता संघका अध्यक्षसमेत रहेका अधिकारीले भने– ‘देश अहिले प्राकृतिक प्रकोपमा छ, निर्माता संघले सहयोग संकलन अभियान शुरु गर्दै छ। साथै मेरो संस्था आशाको ज्योति नेपालका तर्फबाट पनि बाढी प्रभावितका लागि टेन्ट, कम्बल आदि वितरण गर्दै छौं।’ फिल्मका अभिनेता दयाहाङ राईले कान्छी आफ्नो लागि नयाँ अनुभव हुने बताए। अभिनेता नीर शाहले फिल्म कान्छी सबैका लागि आत्मीय परियोजना भएको बताए। फिल्मका अतिथि संगीतकार शम्भुजित बास्कोटाले श्वेताको अनुरोधमा फिल्म आफूले पनि संगीत भरेको बताए। ‘नेपाली समाजमा कान्छी प्यारो नाम हो। कान्छीमा निकै प्यारो भावना छ। फिल्ममा काम गर्दा श्रीकृष्णसँग जोडिएको अनुभव भएको छ’ –उनले भने। फिल्मका लेखक यम थापाले कोहिनुर आफ्नो लेखनको पहिलो फिल्म भएको र श्वेतासँंग आफ्नो लेखनको फिल्म कान्छीमा पनि काम गर्न पाएकोमा खुसी व्यक्त गरे। नृत्य निर्देशक वसन्त श्रेष्ठले फिल्म सफल हुने र सबै जनाले फिल्मलाई सर्पोट गर्ने विश्वास व्यक्त गरे।

आगामी भाद्र २ गतेदेखि मुस्ताङमा सुटिङ गरी माघ २६ गते रिलिजमा ल्याइने फिल्ममा अनु शाह, आशान्त शर्मा, कामेश्वर चौरासिया, जयनन्द लामा, भूमिका श्रेष्ठ पनि कालाकार रहेका छन्। फिल्ममा शम्भुजित बास्कोटाका साथमा अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत, पुरुषोतम प्रधानको छायांकन र हिमाल केसीको द्वन्द्व रहनेछ।

प्रतिक्रिया दिनुहोस्