क्यान्सर पीडितको सहयोगको याचना



ज्ञानमणि नेपाल, मकवानपुर ।
मकवानपुरको थाहा नगरपालिका १० चित्लाङका सरोजकृष्ण गमालले आफ्नो ज्यान बचाई दिन याचना गरेका छन् । २८ बर्षिय गमालको विगत दुई बर्षदेखि ललितपुरको जावलाखेल स्थित नेशनल क्यान्सर हस्पिटलमा उपचार हुँदै आएको छ ।
गमालको छातीमा क्यान्सर भएको हो । यसले गर्दा उनको फोक्सो र ढाडमा समेत समस्या आउने गरेको छ । सुरुमा ढाड दुखेको भनेर उपचार गर्दै आएका उनले क्यान्सर भएको थाहा पाउन पनि निकै समय लागेको बताए ।

“विभिन्न अस्पतालहरु चहार्दा पनि समयमा रोग पत्ता नलाग्दा खर्च पनि बढी भयो, रोग पनि फैलियो ।” उनले भने । गमालले आफ्नो कमाई र ऋणले दुई बर्ष सम्म उपचार गर्दै आए पनि अब असम्भव भएकाले दयालु दाताहरुलाई सहयोगको अपिल गरेका छन् । “म जस्ता पीडित कयांै होलान् त्यसैले मैले आफूले सके सम्म उपचार गर्दै आए तर अब म सँग उपचार गर्न सक्ने क्षमता सकि सक्यो त्यसैले दयालु हातहरुको खोजीमा छु ।” गमालले भने ।

 

ललितपुरको इमाडोलमा सानो मिठाई पसल चलाएर परिवार पाल्दै आएका गमाल थलिएपछि परिवारले समेत निकै दुःख पाएका छन् । अस्पताल बस्नु परेकाले साउन महिनामा एक हप्ता पनि पसल खोल्न पाएनन् ।

आम्दानीको एउटै स्रोत पसल बन्द भएपछि केही महिनादेखि कोठा भाडा तिर्न नसकेकोे गमाल दम्पत्ती बताउँछन् । “सटर र कोठाको भाडा तिर्न सकेको छैन, पसलका लागि ल्याईएको सामानको पैसा पनि तिर्न पाएको छैन ।” बिरामी गमालले पीडा पोखे ।

 

“यता आफ्नो परिवार हेरांै कि, उता गाउँमा आमा बुवाको विचल्ली । आफ्नै उपचार कसरी गरौं निकै समस्यामा छु ।” स्ल्याइन जोडिएको हातले टाउकाको पसिना पुछ्दै पीडित गमालले दुखेसो पोखे । आफ्नो भन्दा पनि भर्खर चुलबुल गर्न थालेकी छोरीको भविष्य देखेर चन्तित देखिन्थे गमाल ।

 

बुबालाई सधंै अस्पताल लानुपर्ने भएपछि उनीहरुका एक मात्र छोरी पनि स्कुल जान पाएकी छैनन् । ४ बर्षिय छोरीको पनि अस्पतालमै बास भएको छ । अस्पतालमा ती कलिला नानी बिरामी बाबुसँगै बेडमा सुत्न बिवस छन् । “स्कुलबाट बिल पठाएको पठाई छ, मैले भर्ना समेत गरि दिन सकेको छैन ।” बिरामी बुबा सुतेको बेडमा खेलिरहेकी छोरीको मुख नियाल्दै अम्बिकाले पीडा पोखिन् ।

गमाललाई अलि गाह्रो हुने बित्तिकै अस्पताल जानुपर्छ । मासिक हजारौं रुपैंयाँको औषधि किन्नुपर्छ । तीन हप्ताको एक पटक किमो चलाउनु पर्छ । एउटा किमोको १२ देखि १५ हजार रुपैंया सम्म पर्छ । औषधि र आउ जाउ भाडा तिर्न पनि मुस्किल छ उनलाई । गमालले आफ्नो बाँकी जीवन यस्तै पीडितहरुको सेवामा समर्पित गर्ने चाहना राखेका छन्

“सबैले सक्दो सहयोग गरि दिए म अझ बाँच्छु नत्र…” गमालले मनको पोको खोल्न खोज्दा खोज्दै पनि खोल्न सकेनन् । गमाल परिवारको पीडामा मल्हम लगाउन चाहनु हुन्छ भने प्रभु बैंकमा अम्बिका गमालको नाममा रहेको खाता नम्वर ००४०१०००९२४७३४०००००१ मा रकम जम्मा गर्न सक्नु हुनेछ । साथैे ९८१४२०६९०४ र ९८४९९३६९६७ नम्वरमा सम्पर्क गर्न सक्नु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्