रोशन र मनीता उत्कृष्ट



 

नेपाल समाचारपत्र
काठमाडौं
बन्दी सहायता नियोग (पाम) का रोशनबहादुर दोङ र त्रिभुवन आर्मी क्लबकी मनीता श्रेष्ठ प्रधान ८औं अम्बिकाबहादुर क्षत्री स्मृति खुला जुडो प्रतियोगितामा आइतबार उत्कृष्ट खेलाडी चुनिएका छन्। दुवै आ–आफ्नो तौलसमूहका विजेता हुन्। पहिलो दिन शनिबार रोशनले पुरुष ५५ केजीमुनि तथा मनीताले महिला ५७ केजीमुनि स्वर्ण जितेका थिए। मनीताले उत्कृष्ट इप्पोनको उपाधि पनि हात पारिन्। पुरुषमा उत्कृष्ट इप्पोनको उपाधि नेपाल प्रहरी क्लबका श्रीराम मकाजुले हात पारे।

स्व. अम्बिकाबहादुरका परिवारका प्रायोजनमा नेपाल जुडो संघद्वारा आयोजित प्रतियोगिताको दोस्रो तथा अन्तिम दिन पुरुष–महिलामा समान ४–४ स्पर्धामा प्रतिस्पर्धा भएको थियो। सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको लुम्बिनी हलमा भएको पुरुष ६० केजीमा प्रहरीका उमेश मगरले स्वर्ण जिते। उनले फाइनलमा केन्द्रीय जुडो डोजोका किरण गडेललाई पराजित गरे। ७३ केजीमुनि प्रहरीका सन्जित डंगोल पहिलो भए। उनले आर्मीका जंगबहादुर सारूलाई फाइनलमा हराए। ९० केजीमुनि इप्पोनमा उत्कृष्ट ठहरिएका श्रीरामले फाइनलमा आर्मीका दिलबहादुर मगरलाई पाखा लगाउँदै पहिलो भए। सय केजीमाथि कुनै पनि प्रतिद्वन्द्वी नपाएका प्रहरीका राजन जोशी स्वतः विजेता बने।

महिलाको ४४ केजीमुनि बाँकेकी सोनिया भट्ट च्याम्पियन बनिन्। सोनियाले होप्याडकी पुष्पा भण्डारीमाथि फाइनलमा जित निकालिन्। ५२ केजीमुनि प्रहरीकी दिलकुमारी छन्त्याल र ६३ केजीमुनि आर्मीकी फुपूल्हामु खत्री पहिलो भए। उपाधि भिडन्तमा दिलकुमारीले केन्द्रीय जुडोकी रोजिना थापा मगर तथा फुपूले प्रहरीकी पूर्णा राईलाई निराश बनाए। ७८ केजीमुनि आर्मीकी पुनम श्रेष्ठ पहिलो भइन्। पुनमको स्पर्धामा पनि कसैले नाम दर्ता गराएन्।

राष्ट्रिय टिम छनोटको आधार मानिएको यस प्रतियोगितामा पुरुष⁄महिलामा समान ८–८ गरी १६ स्पर्धामा प्रतिस्पर्धा भएको थियो। पुरुषको ५५ केजीमुनि र महिलाको ४४ केजीमुनिबाहेक सबै स्पर्धामा पहिलो र दोस्रो हुने खेलाडी राष्ट्रिय टिममा छनोट भएका छन्। पुरुषको ५५ केजीमुनि र महिलाको ४४ केजीमुनि स्पर्धा राष्ट्रिय टिम तयारीमा राखिएको छैन। दुईदिने प्रतियोगितामा २३ टिमका १ सय ४० खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

प्रतियोगितामा आर्मीले सर्वाधिक ६ स्वर्ण, ४ रजत र ६ कांस्य जित्यो। दोस्रो स्थानमा रहेको प्रहरीले ६ स्वर्ण, २ रजत र ४ कांस्य हात पार्यो। २ स्वर्ण र २ कांस्यसाथ पाम तेस्रो स्थानमा रह्यो। केन्द्रीय जुडो डोजो र बाँकेले पनि १–१ स्वर्ण जिते। बाँकी टिम स्वर्णविहीन रहे।

 

पदक विजेता सम्मानित
गत जुलाईमा भएको दुई फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्न सफल दुई खेलाडी र उत्तिनै प्रशिक्षकलाई जुडो संघले नगदसहित सम्मान गरेको छ।
किर्गिस्तानको बिस्केकमा भएको १८औं जुनियर एसियाली जुडोकी कांस्य विजेता मनीता श्रेष्ठ प्रधानलाई १० हजार नगद पुरस्कार प्रदान गरियो। सो प्रतियोगिताका टिम प्रशिक्षक वीरेन्द्र रन्जित ६ हजार नगदबाट पुरस्कृत भए। त्यस्तै थाइल्यान्डको बैंककमा भएको नर्थ बैंकक अन्तर्राष्ट्रिय युनिभर्सिटी जुडोका कांस्य विजेता उमेश मगर ५ हजार नगदबाट सम्मानित भए। प्रशिक्षक सूर्यनारायण श्रेष्ठले ३ हजार नगद पुरस्कार पाए।

सम्मानित खेलाडी र पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष लामा टेन्डी शेर्पालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

श्रीराम छनोट
जुडो संघले पूर्वघोषणा गरेबमोजिम श्रीराम मकाजु पाँचौं अन्तर्राष्ट्रिय जुडो प्रतियोगिताका लागि छनोट भएका छन्। पुरुष ९० केजीमुनि तौलसमूहमा पहिलो खेलाडीलाई उक्त प्रतियोगितामा सहभागिताको अवसर दिने जुडो संघले घोषणा गरेको थियो। उक्त प्रतियोगिता अक्टोबर ५ तारिखमा ताजकिस्तानको दुसानबेमा हुँदै छ।

प्रतिक्रिया दिनुहोस्