पूर्वी तराईमा बाढीको बबण्डरः मोरङ, सुनसरी, सप्तरी, सर्लाही ,रौतहट लगाएतका जिल्लाहरु जलमग्न



नेपाल समाचारपत्र,काठमाडौ ।
शुक्रबार राति अविरल वर्षासँगै आएको बाढी र पहिरोले देशैभरि बबण्डर मच्चाएको छ । शनिबार विहानसम्म प्राप्त विवरण अनुसार विभिन्न जिल्लामा २३ जनाको मृत्यु भएको छ । दर्जनौं घर बगेका छन् भने सैयौं विघा जमिन र बालीनालीमा क्षति पुगेको छ ।

सिन्धुलीमा एकै परिवारका ४ जनाको मृत्यु

गत रातिदेखिको अभिरल वर्षापछि आएको पहिरोमा परेर सिन्धुलीको सिन्धुलीमाढी–२ नं बजारका उदयबहादुर खड्काको परिवारका चार सदस्यको ज्यान गएको हो । शनिबार बिहान करिब २ बजे घर माथिबाट आएको पहिराले पुरिएर खड्काकी ३७ वर्षीया श्रीमती दुर्गाकुमार, १५ वर्षीया छोरी शोभा तथा छोरा १० वर्षीय अनिष र ८ वर्षीय मनिषको ज्यान गएको हो ।

सिन्धुलीमाढीमा दैनिक ज्याला मजदुरी गर्ने खड्काको परिवार नेपाल पत्रकार महासंघ सिन्धुलीको जग्गामा घर बनाएर बसेको थियो । जिल्ला प्रहरी कार्यालयको आवासीय भवन नजिकैबाट झरेको पहिराले घर पुरिएको हो । राति २ बजेतिर पहिराले घर भत्काएपछि आफू भागेर बाँच्न सफल भएको तर राति हारगुहार गर्दा उद्धार गर्न ढिलो हुँदा परिवारका सबै सदस्यको मृत्यु भएको खड्काले बताए ।

बाँकेमा एकै परिवारका ३ बालिकासहित ४ जनाको मृत्यु

बाँकीको राप्तीसोनारी गाउँपालिका–४ लालपुर गाउँका कमीलाल थारुको घर भत्किँदा ३ जना बालिकाको मृत्यु भएको छ ।

गए रातिदेखि परेको अविरल वर्षाले घरभित्र पानी पसेर एक्कासि घर भत्किँदा तीन छोरी मृतावस्थामा भेटिएको र तिनकी आमा बेपत्ता भएको बाँकेका प्रहरीले बताए । मृतकको अझैसम्म नाम खुलेको छैन । उनका अनुसार सो गाउँपालिककाअन्तर्गत विभिन्न गाउँमा बाढी पसेकाले हालसम्मको विवरण आउन सकेको छैन ।

यस्तै बाँकेमा बाढीले बगाउँदा अन्य एक जना व्यक्तिको मृत्यु भएको जनाइएको छ ।

बाढीपीडितलाई सकुशल उद्धारका लागि हेलिकप्टरको प्रयोग गरिए पनि मौसम प्रतिकूलताका कारण ढिलाइ भएको प्रहरीले जनाएको छ ।

लगातारको वर्षाले जिल्लाका विभिन्न स्थान डुबानमा परेको छ । गए राति १ बजेदेखि परेको वर्षाले राप्तीसोनारी गाउँपालिकाका बैजापुर, बिनौना र फत्तेपुर गाउँ तथा डुडुवा गाउँपालिकाका होलिया, बेतहानी, वनकटी र कम्दी गाउँ डुबानमा परेका छन् ।

सुनसरीको इटहरीमा ८ जनाको मृत्यु

सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा बाढीले बगाउँदा ८ जनाको मृत्यु भएको छ । बाढीले बगाएर मृत्यु भएकामध्ये ६ जनाको शव भेटिएको प्रहरीले जनाएको छ । जसमध्ये २ बालबालिका र २ महिला पनि छन् ।

गत रातिदेखिको अभिरल वर्षाका कारण इटहरी बजार क्षेत्र डुवानमा परेको छ । बाढीका कारण धेरै ठाउँमा कच्ची घरहरु भत्किएको जनाइएको छ ।

मध्यरात देखि नै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्दार कार्य जारी राखेको जनाइएको छ । सार्वजनिक स्थल तथा विद्यालय क्षेत्र समेत डुवानमा परेपछि उद्दार गरिएकाहरुलाई कहाँ राख्ने भन्ने समस्या उत्पन्न भएको उद्दारकर्ताले जनाएका छन् ।

बारामा एक महिलाको मृत्यु

शुक्रबार बिहानैदेखिको अभिरल वर्षासँगै आएको बाढीले बगाउँदा बारामा एक महिलाको मृत्यु भएको छ । बाराको सिमरनगढ–१ मा बाढीले बगाउँदा महिलाको मृत्यु भएको हो । मृतकको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

मोरङमा १ जनाको मृत्यु

शुक्रबार बिहानैदेखिको अभिरल वर्षापछि आएको बाढीले बगाउँदा मोरङमा एकजनाको मृत्यु भएको छ । मोरङको केराबारी ९ कुसुमे गौडामा लोहोन्द्रा खोलाले बगाउँदा स्थानीय को मृत्यु भएको हो । मृतकको पहिचान खुल्न सकेको छैन ।

झापामा एक जनाको मृत्यु

बाढीले बगाउँदा झापामा एकजनाको मृत्यु भएको छ । झापामा बाढीले ठूलो मात्रामा जमिन र घरहरु डुबानमा परेका छन् ।

१५ जना बेपत्ता

मुख्य रुपमा पूर्वी तराईका झापा, मोरंग, सुनसरी, सप्तरी, बारा, रौतहट तथा पश्चिम तराईका नवलपरासी, कपिलवस्तु, दाङ, बांके, कञ्चनपुर लगायत जिल्लाहरुका विभिन्न स्थानहरु बाढी र डुवानबाट बढी प्रभावित भएका छन् ।

बाढीले बगाउँदा अहिलेसम्म १५ जना बेपत्ता भएका छन् । जसमध्ये सबैभन्दा बढी सुनसरीमा १० जना बेपत्ता भएका छन् । यस्तै झापामा २ जना, बाँकेमा १ जना, सप्तरीमा १ जना र दाङमा एक जना व्यक्ति बाढीले बगाउँदा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

पाँचथरमा चारजनाको मृत्यु

यस्तै शुक्रबार मात्रै पहिरोमा पुरिएर पाँचथरमा एकै परिवारका तीन सहित चारजनाको मृत्यु भएको थियो ।

पहिरोमा पुरिएर फालेलुङ–३ ताङ्लेपाका विष्णु भक्त राई, उनकी छोरी गंगामाया र नातिनी प्रिया राईको मृत्यु भएको थियो ।

यस्तै ताङ्लेपाकाकै ८३ वर्षका तिलोचन विकको पनि पहिरोमा परेर ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्