रामप्रसाद दाहाल
म्युनिख जर्मनीको बर्लिन र हेम्बर्गपछिको तेस्रो शहर हो। जर्मनीको ववारिया क्षेत्रको केन्द्रीय शहर हो। म्युनिखमा कलाकौशल, आकर्षक भवन, व्यापारव्यवसाय भए तापनि सबैभन्दा महत्त्वपूर्ण लाखौंको सङ्ख्यामा हिटलरजस्ता क्रूर शासकले निर्दोष जनता र उनका नजरमा द्रोही देख्नेहरूलाई सखाप पारेको थलोको रूपमा विश्वले चिन्दै आएको छ।

म्युनिखको डचाउ ग्यास च्याम्बरले प्रसिद्धि पाएको छ। हिटलरजस्ता तानाशाहले २० मिनेटमा १५० मानिस एकै चिहान पार्ने, त्यो पनि विषादियुक्त ग्यासको मुस्लोले निस्सासिएर मर्नुपर्ने बाध्यता सृजना गरिएको यो कारुणिक कथा जोडिएको छ म्युनिखमा। त्यो स्थल हेर्दा अहिले पनि निराशा छाइरहन्छ। हुन त मृत्यु निश्चित छ। जन्मेपछि मर्नै पर्छ तर यस्तो क्रुर सर्वसत्तावादी तानाशाहले आफूले जे गरे पनि हुन्छ भन्ने मनोबलको आधारमा गरिएका जतिसुकै अमानवीयता शब्द प्रयोग गरे पनि कमै हुने ग्यास च्याम्बरको मृत्युलाई सुन्दा मात्र पनि आङ सिरिङ्ग हुन्छ भने भोग्नुपर्नेको पीडा कति करुण र हृदयविदारक थियो होला, शब्दले वर्णन गर्न कसरी सकिएला र ?

हिटलरले आफू अनुकूल सत्ता र शक्तिलाई हत्याउन गरिएको सङ्घर्षका कहानीमध्येको कठोर कहानी हो– ग्यास च्याम्बरको मृत्यु। के बालक, के युवक, के वृद्ध, कसैलाई नछोडी लाखौँको सङ्ख्यामा मृत्युवरण गराउने एडल्फ हिटलर त्रूmर तानाशाह हो। जसमा माया, प्रेम, करुणा र विवेक भन्ने कुनै वस्तु देखिँदैन। उसको जनतालाई उत्तेजित गर्नु र आफ्नो कार्य सिद्धि गर्नु मुख्य ध्येय थियो।

ऊ भन्थ्यो रे– सङ्घर्ष नै जीवन हो, राष्ट्रप्रेम हाम्रो पहिचान हो। जसको जीवनमा सङ्घर्ष छैन, त्यसको कुनै मूल्य र अर्थ छैन ? केही मानिसहरू सङ्घर्षदेखि डराएर प्राण नै गुमाइदिन्छन्, विष पिउँछन्, पानीमा डुब्छन्, झुन्डिएर मर्छन्, आगोमा जल्छन्, त्यसले के अर्थ राख्छ र ⁄ मर्छौ भने मेरो निर्देशनमा मर, राष्ट्रका नाममा मर भन्दै आफ्नो स्वार्थका नाममा मार्न उत्तेजित गर्ने हिटलरको कहानीभित्रको कहानी हो ग्यास च्याम्बरको मृत्यु।

आजको म्युनिख ग्यास च्याम्बर घुमाएर पैसा कमाइरहेछ तर जिउँदै अर्काको इच्छामा आफूलाई मृत्युवरण गर्नुपर्ने त्यो पनि यस्तो कठोरतापूर्ण पक्षभित्र जिउँदै जलाइएको छ, कैयौं मानिसहरूलाई शवदाह गृहभित्र। अनि निस्सासिएर मारिएको छ ग्यास च्याम्बरभित्र। ती आँसुका भेलहरू शायद त्यसको पीडा भोग्ने वंशज र उनका सन्ततीका लागि त्यो दर्दनाक र करुण कथा अरू के हुन सक्छ र ? त्यसैले हिटलर, मुसोलिन, स्टालिनका मृत्युहरू इतिहासमा मेटिने छैनन्। यो त्रूmरता सधैँ–सधैँका सभ्य मानव समाजमा कालो टीका भएर रहिरहेको छ, रहिरहनेछ।

हाम्रो यात्रा रेलमा चलिरहेको थियो। एकजना टुरिष्ट हामीसँगै थिए। उनीसँग भलाकुसारी परिचय भयो। उनी न्युजिल्यान्डका रहेछन्। किन तपाईं धेरै देश हेरेर, धेरै शहर घुमेर पनि म्युनिख हेर्न आउनुभयो ? मैले सोधें। मेरो जिज्ञासामा उनले भने– म्युनिखको ग्यास च्याम्बरमा मर्नेहरूको मृतात्माका सम्झनामा एकक्षण भए पनि सम्झन चाहन्छु, त्यो दुर्दिनको कथाव्यथालाई हेर्न चाहन्छु। त्यसैले आएँ ?

अनि मैले सम्झेँ– म्युनिखमा अन्य धेरै कुरा छन्। म्युनिख सुन्दर छ। जर्मनीहरूको एक आकर्षक स्थल पनि हो। त्यहाँका राजा–महाराजाले बिताएका शासकीय दरबार भवनहरू उच्चकोटिका छन्। बजार व्यवस्थित छ। न्यू फेम दरबार, हप गार्डेन, संसदीय भवन, रोयल एभिन्यू, हाइलाइट टावर्स एन्ड वाथग्रान्ड, भेरियन प्लाजा, न्यू टाउन हलहरूलाई जति हेरे पनि रमाइलो लाग्ने ठाउँहरू छन्।

तर किन यी सबै पक्ष ओझेलमा परेका छन् ? मृत्युको अगाडि लम्पसार परेका छन्। मान्छे जब ओर्लन्छ म्युनिखमा तब ऊ सोझै तानिन्छ ग्यास च्याम्बरतिर। एकमात्र कारण मलाई लाग्यो– निर्दोष मानिसको कठोर सामूहिक कारुणिक मृत्यु, त्रूmर शासकहरूको अमानवीयताको चरम आनन्दको त्यो स्थल। ग्यास च्याम्बर घुम्नको लागि नेपाली रुपियाँ ५,२७०।– लाग्दो रहेछ। हेर्नको लागि पनि महँगो छ, अन्य वस्तुहरू हेर्नुभन्दा। मलाई लाग्यो, म्युनिख चिहानको अवलोकन गराएर ‘युरो’ कमाइ रहेछ, धन्य छ हिटलर अनि ती शासकवर्ग र शोषित पक्षलाई।

रोमन क्याथोलिकको धेरैजसो बसोबास रहेको म्युनिख शहरमा १५ लाखको जनसङ्ख्या बसोबास गर्दो रहेछ। उनीहरूले आजभोलि उद्योग, कृषि, व्यापार, कलकारखाना, श्रम, आदि कामधन्दा गरेर जीवन चलाइरहेका छन्। यो आप्mनै परिस्कार र तालमेलमा अगाडि बढिरहेछ। यसको आफ्नै कहानी छ तर पनि म्युनिख र मृत्यु सधैँ सँगै हिँडेजस्तो लाग्छ।

मैले ग्यास च्याम्बरको मृत्युपछि हिटलरको उदयको कारण खोजी गरें। जर्मनवासीहरूमा सैनिक मनोबल बढ्नु, आर्थिक सङ्कट उत्पन्न हुनु, भसाइल्स सन्धिको नकारात्मक असर पर्नु, साम्यवादीहरूको डर हुनु, संसदीय परम्पराको अभाव हुनु, जर्मन जातीय परम्परा, यहुदी विरोधी नीति, पापेन षड्यन्त्र, हिटलरको व्यक्तित्व पनि हिटलरको उदयका कारणहरू बने। त्यस्तै गणतन्त्रको असफलताले हिटलरको व्यक्तित्वलाई अझ मलजल पुर्यायो। कारण प्रथम विश्वयुद्धपछिको जर्मनीमा जर्मन जनताको इच्छाअनुरूप बूढा राष्ट्रपति हिडेनवर्गले गणतन्त्रलाई हाँक्न सकेनन्। उनको शासनकालमा चान्सलर फेर्दाफेर्दै षड्यन्त्र हुन थाल्यो।

अब एक व्यक्तिको कठोर शासनबाट भए पनि गुमेको इज्जत र प्रतिष्ठा कायम गर्न चाहन्थे जर्मनी जनताहरू। हिटलरमा चातुर्यता, भाषणको कला थियो र जादुगरीपनको अभिनेता थिए उनी। उनको भाषण गर्ने कलाले दुनियाँलाई एकत्रित गर्दै लग्यो। जर्मनीहरू भाषण सुन्न ओइरिन थाले। जहाँ हिटलर त्यहाँ जर्मन भन्नेजस्ता कुरा जनताले बुझ्न थाले। स्वयं हिटलरले लेखेको आफ्नो आत्मकथा ‘मेन क्याम्फ’ पनि पढेलेखेका जर्मनीलाई प्रभाव पार्दै गयो। नयाँ चेतना क्रान्तिकारी हिसाबले अभिवृद्धि गर्दै गएको थियो। यी नै हिटलरको उदय र सफलताका कारण थिए।

हिटलरको अन्त्य कसरी भयो ? म्युनिखमा टेक्दा सोच्न मन लाग्छ नै। उदयपछिको अन्त्य पनि रोचक नै हुँदो रहेछ। उनमा अधिनायकवाद थियो। आफूबाहेक अरू कसैको विश्वास गर्दैनथे। उनको कठोर अनुशासनले धेरै विरोधी जन्मायो। उनको कदमलाई सधैँ सक्रियरुपमा साथ दिने अर्नष्ट रोहम र स्लेसरलाई मृत्युदण्ड दिनु अर्को भूल थियो। यहुदी र साम्यवादीहरूलाई मृत्युदण्ड दिनु कि देश निकाला गर्नु, आफू र आफ्नो पक्षमा लाग्नेलाई आफ्नो आर्य जाति र अन्यलाई अनार्य भनेर वर्षौंवर्ष जर्मनमा बसेका बासिन्दालाई सुविधा कटौती गरी रुष्ट बनाए, जातीय भेदभाव गरे।

सबैतिर असन्तुष्ट इसाई धर्मावलम्बीप्रति विरोध, अन्य देशसँग असफल आक्रमण पनि हिटलरका पतनका कारण थिए। अमेरिकालगायत धेरै देशमा सैनिक गठबन्धन बम वर्षाका अगाडि हिटलर टिक्न सक्ने अवस्था रहेन। उनीमा हार स्वीकार गर्ने, अरूसँग आत्मसमर्पण गर्ने स्वभाव थिएन। तर आत्मसमर्पणको बाध्यता थियो।

हो, त्यसभित्रै आफ्ना अधिनायकवादी मित्र मुसोलिनले संसार छोडेको दिनको भोलिपल्ट हिटलर निराश हुँदै आफूले बाँचेर पनि केही गर्न नसकिने देखी आफ्ना समर्थकसँग बिदा भएर एउटा कोठामा ढोका लगाएर बसे। कोठामा बसेकी आफ्नी प्रियसी इमा ब्राउनका साथ रहेका हिटलरले सन् १९४५ अप्रिल ३० का दिन दिउँसो ३ः२५ बजे आफ्नो कञ्चटमा आफैंले पेस्तोलको गोली प्रहार गरी आत्महत्या गरेका थिए।

इतिहासको संस्मरण मैले गरी नै रहेँ। म्युनिख र मृत्युलाई सम्झँदा शान्ति शर्माको पङ्ति पस्कन मन लाग्यो–
दिनभन्दा किन प्यारो रात लागेको
टहटह जुनेलीको मात लागेको
जरुवाको मूलजस्तै आँखाभरि आँसु
सम्झेँ रुने यादहरूको रगत लागेको।

LEAVE A REPLY