“अल्प विकसित राष्ट्रको चासोलाई विशेष प्राथमिकता दिनुपर्ने”



नेपाल समाचारपत्र,काठमाडौं
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक)का सदस्य राष्ट्रहरूबीच स्वतन्त्र व्यापारको सम्झौता भए पनि व्यापार उदारीकरणमा मूर्तरुप लिन नसकेको बताउनुभएको छ।

बिमस्टेकको १५औं मन्त्रीस्तरीय बैठकको दोस्रो दिनको विशेष सत्रलाई सम्बोधन गर्दै शुक्रबार उहाँले सो कुरा बताउनुभएको हो। २००४ मा बिमस्टेक सदस्य राष्ट्रबीच स्वतन्त्र व्यापार सम्झौता भएको थियो।

सदस्य राष्ट्रबीच न्यून सम्पर्र्क, कर तथा गैरकर अवरोधहरू र व्यापार सहजीकरणका कमजोर मापनहरू नै यस क्षेत्रका मुख्य कमजोरीहरू रहेको पनि अध्यक्ष राणाले औंल्याउनुभयो।

अन्तरक्षेत्रीय व्यापारको करिब ७ प्रतिशत मात्र हिस्सा रहेको बिमस्टेकमा एक दुई राष्ट्रबीच मात्र क्षेत्रीय व्यापार सञ्जाल जोडिएको उल्लेख गर्दै उहाँले यसलाई विस्तार गर्नुपर्नेमा पनि जोड दिनुभयो। उहाँले भन्नुभयो– ‘स्वतन्त्र व्यापार सम्झौता मात्रले आर्थिक सहयोग र आर्थिक एकीकरणको प्रत्याभूति दिन सक्दैन। यस्ता मञ्चहरूलाई सफल पार्न नेपालजस्ता अल्प विकसित राष्ट्रहरूको चासोलाई विशेष प्राथमिकता दिनुपर्दछ।’

अध्यक्ष राणाले नेपालजस्ता अल्प विकसित राष्ट्रहरूको उत्पादन क्षमता विकास, लगानी प्रवद्र्धन तथा आर्थिक अवसरहरू सृजना गर्न विशेष सहयोगका लागि आग्रह गर्दैै भन्नुभयो– ‘त्यसका लागि अन्तर क्षेत्रीय लगानी तथा प्रविधि हस्तान्तरणसहितको क्षेत्रीय व्यापार अभिवृद्धिमा हाम्रो महत्वपूर्ण जोड छ।’

सदस्य राष्ट्रबीच सहयोग तथा लगानीका निकै धेरै सम्भावनाहरू रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘भुटान र नेपाल जल ऊर्जामा निकै धनी छन् भने म्यानमार र बंगलादेश प्राकृतिक ग्यासमा सम्पन्न छन्। यस क्षेत्रका निजी क्षेत्रबीचको संयुक्त लगानीमा यी सम्भावनाहरूलाई मूर्तरुप दिनुपर्दछ।’

क्षेत्रीय ऊर्जा प्रसारण लाइनको विकास एवम् प्राकृतिक ग्यास पाइप लाइन विस्तारमार्फत यस क्षेत्रको ऊर्जा क्षमता विकास तथा ऊर्जा सुरक्षा प्रत्याभूतिका लागि पनि अध्यक्ष राणाले आग्रह गर्नुभयो।

उहाँले पर्यटन विकासमा बौद्ध सर्किटको महत्वपूर्ण कडी हुन सक्ने बताउँदै त्यसलाई मूर्तरूप दिनुपर्ने पनि खाँचो औंल्याउनुभयो। अध्यक्ष राणाले यस क्षेत्रको आर्थिक विकासका लागि रेल, सडक, समुन्द्र, वायु र डिजिटलमार्फत आपसी सम्पर्क विस्तारमा विशेष जोड दिनसमेत आग्रह गर्नुभयो।

अध्यक्ष राणाले भन्नुभयो– ‘करिब २ दशमलव ५ ट्रिलियन अमेरिकी डलर कुल गार्हस्थ्य उत्पादन भएको बिमस्टेकमा १ दशमलव ५ बिलियन मानिसहरू बसोबास गर्दछन्। यस क्षेत्रमा रहेको प्रचुर आर्थिक विकासको सम्भावनालाई यथार्थतामा रूपान्तरण गरी क्षेत्रीय आर्थिक विकासलाई तीव्ररुपमा अगाडि लैजान सकिनेछ।’

प्रतिक्रिया दिनुहोस्