अबमिया हिंसामा हजारौं पलायन



रियाद, (एजेन्सी)
सउदी अरेबियाको पूर्वीसहर अबमियामा भइरहेको हिंसात्मक घटनाका कारण हजारौं नागरिक पलायन हुन बाध्य भइरहेको जनाइएको छ।

त्यहाँ भइरहेको घटनाका लागि केही सञ्चार माध्यमले कतारमाथि आरोप लगाइरहेका छन्। केहीले यसका लागि कतारस्थित सञ्चार संस्था जिम्मेवार ठहर्याउँदै इरानको भूमिका रहेको तर्फ संकेत गरेका छन्।

अबमिया शिया बाहुल्य क्षेत्र भएकाले सउदी अरेबियाको दमनकारी नीति दोषी भएको पनि बताइएको छ। सउदी अरेबियाले सुरक्षा कारवाहीको नाममा अबभियामा दर्जनौं घर गिराएपछि सर्वसाधारण र सुरक्षा बलबीच हिंस्रक झडप भएको छ।

हिंसामा थुप्रैको ज्यान गएको छ भने करिब २० हजार नागरिक सुरक्षित स्थानमा शरण लिन पुगेका छन्।

सउदी अखबार अल–यौमले अबमियाको स्थितिका लागि कतार र सञ्चार माध्यम जिम्मेवार भएको बताएको छ। कतारका सञ्चारमाध्यमले अबमियाको स्थितिका बारेमा भ्रम फैलाइरहेको र त्यहाँ विद्रोहका लागि उक्साइरहेको उक्त अखबारले आरोप लगाएको छ।

सउदी अरेबियाको सरकारले उक्त इलाका तस्करीका हतियार तथा लागू पदार्थ र त्यसका तस्करहरूका लागि आस्रयस्थल बनिरहेको बताउँदै आइरहेको छ। उनीहरूको सफाइका लागि सरकारले सुरक्षा कारवाही चलाएको रियादले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्