फेसबुकमा तस्वीर राख्दै विरोध जनाइँदै



 

नयँँदिल्ली, (एजेन्सी)
एकजना राजनीतिज्ञले महिलाहरू राति अबेर घरबाहिर बस्नुहुन्न भन्ने अभिव्यक्ति दिएपछि भारतीय महिलाहरूले सामाजिक सञ्जालमा धमाधम रात्रि जीवनको मज्जा लुट्दै गरेका तस्वीरहरू पोस्ट गर्न थालेका छन्।

एकजना महिलाले कारमा गइरहेका आफूलाई राति दुईजना पुरुषले लखेटेको गुनासो गरेपछि ती राजनीतिज्ञले उनलाई अबेरसम्म बाहिर नबस्न सुझाव दिएका थिए। भारतको उत्तरी शहर चण्डिगढमा डिजेको काम गर्ने वार्निका कुन्दुले गत शुक्रबार राति घर फर्किनेबेला आफूलाई दुईजना पुरुषले लखेटेको र त्यस कार्यमा संलग्नमध्ये एक भारतको सत्तारूढ भारतीय जनता पार्टी (भाजपा)का एक प्रमुख राजनीतिज्ञका पुत्र विकास बराला रहेको बताएकी थिइन्।

बुधबार बरालालाई प्रहरीले केटी जिस्काएको, पिएर कार हाँकेको र अपहरणको कोसिस गरेको अभियोगमा गिरफ्तार गरेको छ। कुन्दुले आफूलाई तिनीहरूले झन्डै जबरजस्ती अपरहरण गरेको तर समयमै घटनास्थलमा आइपुगेर प्रहरीले आफ्नो उद्धार गरेको सञ्चारमाध्यमलाई जानकारी दिएकी छिन्।

महिला हिंसा र बलात्कारविरुद्ध कडा कानुन बनाइए तापनि भारतमा बलात्कारका घटनामा कुनै कमी आएको छैन। हालै मात्र आफ्नै काकाको बलात्कारबाट गर्भवती बनेकी एघार वर्षीया बालिकाको गर्भपतनबारे ठूलो विवाद चर्केको थियो।

प्रतिक्रिया दिनुहोस्