९१ वर्षको उमेरमा स्नातक डिग्री



 

बैंकक, (एजेन्सी)
थाइल्यान्डकी किमलान जिनाकुले ९१ वर्षको उमेरमा स्नातक पढाइ पूरा गरी शिक्षा हासिल गर्न कुनै उमेरले व्यवधान पुर्याउन सक्दैन भन्ने प्रमाणित गरेकी छिन्।

९१ वर्षको पाकिसकेको उमेर। छोरी मरेको पीडा। जीवनभरिको पर्खाइ। तर उनी भन्छिन्– ‘मनैले हारे मात्र हार हो, मनले जिते जित।’ थाइल्यान्डकी किमलानले यस्तै केही गरेर देखाएकी छिन्।

उनको यो सफलताको पछाडि १० वर्ष लामो लगातार मेहनत र अटुट लक्ष्यलाई लिन सकिन्छ।

किमलान उनको प्रारम्भिक पढाइका दिनहरूमा एक प्रतिभाशाली छात्राका रूपमा चिनिएकी थिइन्। उनको पढाइ उत्तरी थाइल्यान्डको लेन्पेंग प्रान्तको सबैभन्दा राम्रो स्कुलमा भयो। तर उनी थप पढाइका लागि विश्वविद्यालय जान सकिनन्। त्यतिबेला यो सम्भव थिएन। परिवार बैंककमा बस्न आएपछि उनको विवाह भयो। त्यसपछि उनले आफ्नो पढाइको सपना त्याग्नुपर्यो।

किमलान बताउँछिन्– ‘म सधैं मेरा बच्चाहरू पढ्न सकून् भन्ने चाहन्थें। त्यसैले जब उनीहरू विश्वविद्यायल जान चाहन्थे, मैले उनीहरूलाई प्रोत्साहन गरेकी छु।’

किमलानका पाँचमध्य चार सन्तानले पोस्टग्य्राजुएटको डिग्री हासिल गरेका छन्। एकजनाले त अमेरिकामा गएर विद्यावारिधिसम्मको पढाइ पूरा गरेका छन्।

किमलानले आफ्ना बच्चाहरूको अनुभवबाट प्रेरित भएर युनिभर्सिटीमा भर्ना गरेकी थिइन्। उनले गत बुधबार आफ्नो डिग्री पनि हासिल गरिन्।

किमलानका एक छोरी अस्पतालमा काम गरिरहेकी थिइन्। उनकी ती छोरीले सुखोथोइ थाम्माथिराट ओपन युनिभर्सिटीमा एउटा कोर्समा भर्ना भएपछि किमलानले पनि भर्ना हुने निर्णय गरेकी थिइन्।

पहिलो पटक भर्ना हुँदा उनको उमेर ७२ वर्षको मात्र थियो। तर उनकी एक छोरीको मृत्युले उनलाई थुप्रै वर्षका लागि पढाइबाट टाढा पुर्याइदियो। त्यसपछि उनले ८५ वर्षको उमेरमा ह्युमन इकोलोजी विषयमा भर्ना लिइन्। उनले यो विषय उनलाई राम्रो र आनन्दको जीवन जिउने बारेमा बताउने भेनकी थिइन्। किमलानले भनिन्– ‘जबमा दुःखबाट बाहिर आएँ, मैले आफूलाई उक्त विषय पूरा गर्ने दबाब दिएँ। म आशा गर्छु मेरी छोरीको आत्मा यो देखेर खुसी हुनेछ।’

पढाइका क्रममा किमलान प्रत्येक दिन बिहान उठेर बौद्ध भिक्षुहरूलाई दान गर्थिन्। त्यसपछि मन्दिर जाने र फेरि पढ्न बस्थिन्।

किमलान भन्छिन्– ‘यसका लागि कहिलेपनि ढिलो हुँदैन, मेरो मस्तिष्क सिक्नका लागि सधैं जागृत र तीक्ष्ण छ। यो विश्व कहिले पनि रोक्दैन। यहाँ सधैं नयाँ समस्या हुन्छ र यदि नयाँ विज्ञान अगाडि नआएको भए यो विश्वले समृद्ध हुन छोडिसक्थो।’

आफूले पढाइका क्रममा हरेक च्याप्टरको मुख्य बुँदालाई हाइलाइट गरेको र त्यसले पढाइलाई दोहोर्याउँदा मद्दत पुर्याएको उनले बताइन्। उनले भनिन्– ‘जब म पास हुन्थें, म खुसी हुन्थें। जब फेल हुँन्थें, म नराम्रो महसुस गर्थें। त्यसैले जबसम्म पास भइनँ, तबसम्म परीक्षामा सहभागी भइरहें।’

किमलानले आफूले अब कामको खोजी गरें भने आफूलाई कसैले काम दिन्छ भन्ने नलागेको बताइन्। त्यसैले नातिनातिनाको रेखदेख गर्नमा बाँकी जीवन बिताउने उनले बताइन्।

प्रतिक्रिया दिनुहोस्